न्यु डायमन्डविरुद्ध एपीएफको संघर्षपूर्ण जित



न्युज अफ नेपाल काठमाडौं ।

पोखरामा जारी टाइगर कपमा बुधबार महिलातर्फ विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लबले जित निकालेका छन् ।दिनको सुरुआती खेलमा पुलिसले आयोजक टाइगर ग्रुप अफ पोखरालाई सोझो सेटमा पराजित गर्‍यो । उषा भण्डारी, मनिषा चौधरी, कामना विष्टलगायत खेलाडीको उत्कृष्ट प्रदर्शनसँगै पुलिसले खेल २५-२०, २५-१७, २५-२२ जित्यो । प्रतियोगितामा पुलिसको पहिलो जित हो ।

पहिलो खेलमा पुलिस सशस्त्र प्रहरी बलको एपीएफसँग ३-१ को सेटमा पराजित भएको थियो । बुधबार नै भएको दोस्रो खेलमा एपीएफले न्यु डाइमन्डविरुद्ध ३-२ सेटको संघर्षपूर्ण जित निकाल्यो । राष्ट्रिय तथा युवा खेलाडीले भरिएका दुवै टोलीको खेल रोमाञ्चक अवस्थामा पुगेको थियो ।

पहिलो सेट न्यु डायमन्डले २५-२१ ले जित्यो । दोस्रो सेट एपीएफले २५-२१ ले जित्दा खेल १-१ को बराबरीमा अगाडि बढ्यो । तेस्रो सेट पुनः न्यु डायमन्डले २५-१० ले आफ्नो पक्षमा पार्‍यो । २-१ सेटले पछि परेको एपीएफले आक्रामक खेल प्रदर्शन गर्दै चौथो र निर्णायक सेट क्रमशः २५-१२ र १५-८ ले जित्यो ।

जितसँगै एपीएफले दुई अंक पायो भने न्यु डायमन्डले एक अंक प्राप्त गरेको छ । प्रतियोगितामा न्यु डायमन्डको पहिलो हार हो ।जितसँगै न्यु डायमन्ड तीन खेलबाट सात अंक जोडेर शीर्षस्थानमा छ । तीन खेलबाट एपीएफ पाँच अंकसहित दोस्रो स्थानमा छ । आर्मी र पुलिसँग समान तीन अंक रहेको छ । लगातार दुई हारपछि आयोजक अंकविहीन रहेको छ ।

आजै भएको पुरुषतर्फको पहिलो खेलमा हेल्प नेपालले विभागीय आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो । तीन भारतीय खेलाडी कोर्टमा उतारेको हेल्प नेपालले राष्ट्रिय टोलीका अधिकांश खेलाडी रहेको आर्मीविरुद्ध सहज जित पायो । अहिले अन्तिम खेलमा विभागीय प्रतिद्वन्द्वी एपीएफ र नेपाल पुलिस प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्