बुबाको नाममा पूर्वमन्त्रीले शुरू गरे दाना उद्योग



बाँके (नेस) ।

मो. इस्तियाक राई नेपालगञ्जका चर्चित राजनीतिज्ञ हुन् । २०७४ सालको निर्वाचनमा राईले नेपालगञ्ज क्षेत्र समेटिएको क्षेत्र नं. २ बाट चुनाव जिते । राई दुईपटक मन्त्री भए । उनका दाजुभाइ पनि राजनीतिमा होमिएका छन् । जसपाका नेता राइको परिचय अब राजनीतिज्ञका रूपमा मात्रै होइन, उद्योगीको रूपमा पनि अघि बढेको छ । राई परिवारले बाँकेको बिर्तामा एक अर्ब ३० करोडको लगानीमा तीन वटा व्यवसाय (उद्योग) शुरू गरेका छन् ।

४० कठ्ठामा दाना मिल, ९० कठ्ठामा कुखुरा र ह्याचरी फार्म सञ्चालन अघि बढाइएको छ । राईका बुवाको खास नाम मो. इस्माइल राई थियो । ठूलो किसान भएकाले उनलाई स्थानीयले किसान भन्थे । बर्दियाको बढैयाताल गाउँपालिकामा इस्माइलले कुनै बेला ७० विगाहमा आलु खेती गरेका थिए ।

गाउँलेले बुबालाई किसान भन्ने गरेको स्मरण गर्दै पूर्वमन्त्री राईले बिर्तामा किसान फिड मिल प्रालि सञ्चालनमा ल्याएका छन् । ६५ करोडमा सञ्चालन थालिएको किसान फिड मिल प्रालिको सोमबार उद्घाटन गरिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्रराय यादवले दुई जना ग्राहकलाई दाना बेचेर उद्योगको उद्घाटन गर्नुभयो । मन्त्री यादवले मो. इस्तियाक राई राजनीतिमा जसरी उद्योगीमा पनि सफल हुने शुभकामना दिनुभयो ।

उहाँले मासु, कुखुरा र अन्डामा नेपाल आत्मनिर्भर रहेको बताउँदै कृषिलाई आधुनिकीकरण गर्न आवश्यक रहेको बताउनुभयो । नेपालमा कृषिमा २.७ प्रतिशत बजेट छुट्याउने गरिएको छ ।
किसान फिड मिलमा प्रतिघण्टा दश मेट्रिक टन दाना उत्पादन हुन्छ । नौ हजार मेट्रिक टन क्षमताको गोदानम बनाइएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई नै लक्षित गरेर पूर्वमन्त्री राइनले दाना उद्योग, कुखुरा फर्म सञ्चालनमा ल्याएका छन् ।

ह्याचरी सञ्चालनको तयारीमा रहेको छ । किसान फिडमा ब्रोइलरको लागि पेलेट दाना, लेयर्सका लागि मेस दाना, पशु आहार केटल दाना र माछाको लागि दाना उत्पादन हुने राइनले जानकारी दिनुभयो । बाँके सीमावर्ती जिल्ला हो । यहाँ चोरी नाकाबाट कुखुरा, माछा र मासु आउने गर्दछ । पूर्वमन्त्री राईले आफूहरूले अरबको लगानीमा दाना, चल्ला र कुखुरा फर्म सञ्चालनमा ल्याएकाले चोरी निकासी रोकिदिन आग्रह गर्नुभयो । ‘हामीले अरब बढी लगाएर चल्ला, कुखुरा र दाना उद्योग सञ्चालनमा ल्याएका छौं । हाम्रो तार्गेट लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश रहेको छ, राइनले भन्नुभयो, नाकाबाट भित्रिने अवैध दाना, चल्ला र कुखुरा नियन्त्रण गरिदिनु पर्यो ।’

राई परिवारको उद्योग र फर्ममा दुई हजार मानिस जोडिएका छन् । किसान फिड मिल उद्घाटनमा जसपाका नेता रमेशकुमार यादव, प्रदेश सांसद कृष्णा केसी, नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, संविधान सभा सदस्य सन्ध्या देव, नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइराला, प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, एसपीत्रय श्यामकृष्ण अधिकारी, अशोक बम र नरेन्द्र गिरीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्