लकडाउनको विकल्प खोज्नुपर्छ



केही समययता फेरि लकडाउनको चर्चा हुन थालेको छ । लकडाउन नगर्दा एकातिर रोग फैलने डर छ भने अर्कातर्फ अर्थतन्त्र निकै कमजोर हुने डर । यस्तै तनावका बीचमा पनि लकडाउनबारे आवाज सुनिन थालेको छ । यदि फेरि लकडाउन भयो भने मानिसहरु रोगले भन्दा भोकले ज्यादा मर्ने अवस्था आउनेछ । अन्य रोगको राम्रोसँग उपचार नपाएर पनि कतिपयले ज्यान गुमाइसके । विश्व स्वास्थ्य संगठनका अनुसार यो महामारी आउँदा अलिक वर्षसम्म रहिरहने सम्भावना छ ।

त्यस बेलासम्म लकडाउन गर्दा एकातिर राष्ट्रले आर्थिक भार खेप्न सक्दैन भने अर्कातर्फ कोरोनाले भन्दा बढी भोकमारी र गरिबीका कारण मर्नेको संख्या अधिक हुन्छ । अतः कोरोनासँगसँगै जुधेर अगाडि बढ्नुको कुनै विकल्प छैन । सामाजिक दूरी कायम गरी हरेक क्रियाकलापमा संलग्न हुनुको विकल्प छैन । अतः लकडाउनको विकल्प सोच्नु अति आवश्यक देखिन्छ । पहिले त सार्वजनिक यातायात भीडभाड नहुने गरी सञ्चालन गर्न नियम तय गर्नुपर्दछ । खेलकुद, रंगशाला, सिनेमा हल आदि भीडभाड हुने कार्यस्थल पनि सुरक्षित नियमका साथ सञ्चालनमा ल्याउन सकिन्छ । आफ्नो सुरक्षा आफैं गरौँ नाराका साथ जनचेतना जगाउनुपर्छ ।

त्यसै गरी पसल, मार्केट तथा भीडभाड हुने स्थानलाई नियममा बाँधेर सञ्चालनमा ल्याउन सकिन्छ । सेवाप्रदायक संघसस्थाहरु नियमित खोल्न सकिन्छ तर टोकन सिस्टमबाट, जुन टोकन अनलाइनमार्फत वितरण गरिनुपर्दछ । प्रत्येक टोकनका लागि छुट्टाछुट्टै समय हुनु जरुरी छ, ताकि सामाजिक दूरी कायम गर्न सकियोस् । यसलाई बैंक, वित्तीय संस्था, मालपोत कार्यालय, कर तथा यातायात कार्यालयलगायतका सरकारी तथा गैरसरकारी संस्थाले प्रचलनमा ल्याउन सक्छन् ।

नगद कारोबारको सट्टा विद्युतीय तथा मोबाइल कारोबारहरुलाई बढावा दिनु जरुरी छ । विद्यालयलाई पनि कम भीडभाड बनाउन नियममा बाँधेर विभिन्न सिफ्टमा विभाजन गरी सुरक्षित तवरले सञ्चालनमा ल्याउन सकिन्छ भने अनलाइन प्रभावकारी हुने स्थानमा अनलाइनमार्फत अध्ययन अध्यापन गराउन सकिन्छ ।

कोरोनाका लक्षण भएका तथा शंकास्पद व्यक्तिलाई होम क्वारेन्टाइनमा बस्न र उचित उपचारको व्यवस्था गरिनुपर्दछ । यस्ता व्यक्तिलाई सार्वजनिक स्थलमा हिँडडुल गर्न बन्देज गरिनुपर्दछ । कोरोनाको उपचार तथा परीक्षणका लागि प्राइभेट हस्पिटल तथा स्वास्थ्य संस्थाहरुलाई सञ्चालनमा ल्याउनु जरुरी छ । अहिलेको समयमा कोरोनाको लडाइँ सरकारी स्वास्थ्य संस्थाले मात्र लडेको जस्तो देखिन्छ । यसको लडाइँमा नेपालभरिका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था एकजुट हुनु जरुरी छ ।

कोरोनाजस्तो महामारी रोगको समयमा प्रभावकारी सेवा दिन सकेको खण्डमा सबै स्वास्थ्य संस्थाले जनविश्वास बटुल्न सक्छन् । यसो गर्न सकेको खण्डमा उपचार तथा नियन्त्रण कार्य सोचेभन्दा बढी सहज हुन जान्छ । गरिबका लागि सरकारका तर्फबाट र क्षमतावान् व्यक्तिलाई इच्छाअनुसार अन्य निजी हस्पिटलमा कोरोनाको उपचारको व्यवस्था गरिनुपर्दछ । कोरोना बिमाका साथ अगाडि बढ्न सकेको खण्डमा उपचारको आर्थिक भार कम गर्न सकिन्छ ।

सार्वजनिक स्थलमा हिँडडुल गर्नका लागि नियम बनाइनुपर्दछ । भोजभतेर तथा भीडभाड, जन्य सभा–समारोह, सांस्कृतिक तथा धार्मिक कार्यक्रमहरुलाई पनि नियममा बाँधेर नै सञ्चालन गर्न सकिन्छ वा बन्देज गर्न सकिन्छ । विवाह तथा पूजापाठका कार्यक्रम भीडभाडरहित हुने सर्तमा अथवा परिवारमा मात्र सीमित गरी सञ्चालन गर्न सकिन्छ । चर्चित धार्मिक स्थलहरुलाई यस अवस्थामा खोल्नु उचित देखिँदैन । कोरोना परीक्षणको प्रमाणपत्रका आधारमा अनलाइनमार्फत नै अनुमति दिई पर्यटक तथा व्यवसायीलाई नेपालमा प्रवेश गराउन सकिन्छ । आयात र निर्यातकार्यलाई पनि सुरक्षित र नियमअनुसार सञ्चालन गर्नु जरुरी छ ।
संगीता खड्का, कलंकी, काठमाडौं

प्रतिक्रिया दिनुहोस्