कोरोनाबारे गम्भीर बनौँ



नेपालको हालको विषम परिस्थितिमा हामी सबै सजग, सचेत रहनुपर्ने हो तर पनि जात्रा, भीडभाड, सभा, सम्मेलन, पार्टी आयोजना गरी जताततै कुदिरहेका छौं । बस, माइक्रो, ट्याम्पु आदिमा हेर्ने हो भने मान्छेहरू खचाखच भरिएका छन् । हामीमा बोध नै रहेको कुरा हो, कोभिडबाट हालको अवस्थासम्ममा लाखौं मानिसको ज्यान गइसकेको छ भने अझै पनि विभिन्न ठाउँमा दिनानुदिन संक्रमण बढ्दो रहेको छ ।

हाल नेपालको अवस्था आँकलन गर्ने हो भने, कुनै पनि क्षेत्रमा कोभिडबाट जोगिनको लागि कुनै सतर्कता अपनाएको पाइँदैन । हालको अवस्थामा नेपालमा हवाई मार्ग सञ्चालनमा नै छ । विभिन्न देशबाट मानिसहरू आउने, जाने क्रम जारी रहिरहेको छ । न त त्यहाँ कुनै कुराको सावधानी नै अपनाइएको छ, न त्यहाँको भीडभाडबाट कोही सजग र सचेत नै भएका छन् । उता सीमा नाकाको हालत उस्तै नाजुक रहेको छ । विभिन्न कार्यालयहरूको अवस्था पनि उस्तै रहेको छ । हाल छिमेकी मुलुकमा कोभिडको संक्रमण दिनानुदिन लाखौंको संख्यामा बढिरहेको छ । हाल कोभिडको ओमिक्रोन भेरिएन्ट देखिन थालिएको बताइएको छ । हाल १८ वर्षमुनिका बालबालिकामा दिनानुदिन कोभिडको संक्रमण बढिरहेको छ । उनीहरुलाई छिटो खोप लगाउनुपर्ने देखिन्छ ।

हालका दिनहरूमा सीसीएमसीको एकतर्फी कुरा, नेपाल सरकारको अर्को कुरा, स्वास्थ्य मन्त्रालयको अर्को कुरा, स्थानीय तहहरूको आफ्नै कुराले गर्दा लगभग एक वर्षदेखि बिग्रिएको पठनपाठन अहिले फेरि लथालिंग अवस्थामा आएको छ ।

हाल जतासुकै हेर्ने हो भने होटल, रेस्टुरेन्ट, सरकारी तथा प्राइभेट अस्पताल, कार्यालय, कर बुझाउने ठाउँ, बैंक, कार्यालयहरू मठ–मन्दिर, हरेक ठाउँमा भएका भीडभाड तथा जात्रा, मेलापर्वहरू नियाल्दा अवस्था निकै गम्भीर रहेको छ । तर, मानिसहरू भने गम्भीर भएको पाइँदैन । हालको अवस्थामा सबैभन्दा धेरै जोखिममा बालबालिकाहरू रहेका छन् । अब जोखिम न्यूनीकरणका लागि सबैभन्दा पहिला सबै बालबालिकालाई खोप दिनै पर्ने आवश्यक रहेको छ ।

नेपाल सरकारले २५ जनाभन्दा बढी भेला नगर्नु भने तापनि मन्त्री, सांसदहरू देश दौडाहामा रहेका छन् । सयौं मानिस भेला गराएका छन् । यदि भोलिका दिनमा त्यहाँका मानिसहरूमा कोभिड संक्रमण भेटिएमा उपचारका लागि अस्पताल आफैं पक्कै पनि खडा हुँदैन । नेताहरू आफैं खोप सिल बोकेर त्यहाँ पक्कै पनि धाउँदैनन् । यो यथार्थ कुरा हो । त्यसैले जनता हामी आफैं सजग र सचेत हुनु हालको लागि महत्वपूर्ण आवश्यकता पनि हो । आफ्नो ज्यानको सुरक्षा आफैंले गर्नु आवश्यकता हो ।
हाल अभिभावकहरू छोराछोरीलाई विद्यालय पठाउने मनस्थितिमा रहेका छैनन् । ओमिक्रोन भाइरस पहिलाको भन्दा कम खतरा रहेको भनिन्छ तापनि बालबालिकाहरू झनै सजग र सचेत रहन आवश्यक छ । तर सरकारको मौन रहेको छ ।

नियमित बैठकहरू भइरेका छन् तर कोभिडबाट जोगिनको लागि कुनै प्रभावकारी भूमिका सरकारले खेलेको पाइँदैन । सरकार मौन हुनु, जनता मारमा हुनु, अभिभावक अन्योलमा हुनु, विद्यार्थी भविष्यको चिन्तामा हुनु, जताततैबाट चिन्ताले ग्रसित हामीहरूमाथि पछिल्लो समय थपिएको हावाहुरी तथा पानीले थपिदिएको अवस्थाले हालको अवस्थामा हामी आफैं सजग र सचेत रहन जरुरी छ । हाल कोरोना नियन्त्रणमा सरकारको प्रभावकारिता फितलो रहेको छ ।
सुनिता वैद्य, काठमाडौं

प्रतिक्रिया दिनुहोस्