एक घुट्को पानीले जहाज छुट्दा



  • भगवती तिमल्सिना

डिसेम्बर ४, २०२१ बिहान १० बजेको समयमा नर्थ क्यारोलिनाको सरलोटबाट क्यालिफोर्नियाका लागि अमेरिकन एयरलाइन्सको उडानका लागि सरस्वती कुक, राजेन्द्रप्रसाद उपाध्याय तिमल्सिना र म (भगवती तिमल्सिना) एयरपोर्टको चेकमा पुग्यौँ । सरस्वती दिदी दाइ र मभन्दा अघि लाग्नुभयो । चेक सकियो । हामी तीनै जनाको जहाजको बोर्डिङको समय अन्तिम चरणमा पुगिसकेको थियो । हतारमै प्रवेश द्वारको खोजी गर्नुपर्ने अवस्था थियो । एकाएक दिदीलाई सुरक्षाकर्मीले ब्याग बोकाएर बाहिर लग्यो । दाइ र मलाई उहाँले ६ नं. गेटमा भित्र जाँदै गर म पानी पोखेर आउँछु भन्नुभयो । हामी अलमलियौँ भने जहाज छुट्ने निश्चित थियो । त्यसैले हामी जहाजको द्वार पहिचान गरी हतार–हतार लाइन भ्याउन पुग्यौँ । हामी पुग्दा हाम्रो पालो सकिएर अर्को नम्बरको पालो आइसकेको थियो तर पनि लाइनमा केही मान्छे बाँकी भएकाले हामीले बोर्डिङ पास चेक गराएर जहाजभित्र प्रवेश पायौँ । त्यतिन्जेल दिदी आइपुग्न सक्नुभएन । उहाँको उक्त उडान छुट्यो र ६ घण्टा एयरपोर्टमा एक्लै बस्न बाध्य हुनुभयो ।

सुरक्षा गेटभन्दा बाहिरै पानी पिउँदापिउँदै बोतलमा एक घुट्को पानी बाँकी रहेछ । बोतल मात्र होला भनी एयरपोर्ट सुरक्षाको एक्सरेमा पुग्दा बोतलमा देखिएको एक घुट्को पानी सुरक्षाको नजरमा शंकास्पद बन्न पुग्यो । न त त्यो पानी पिउन नै मिल्यो, न त्यहाँ फाल्न नै । अन्ततः जहाज छुट्दा पनि सुरक्षा नीतिले छोडेन । सुरक्षाका दृष्टिले यात्रुले समयमै एयरपोर्ट पुग्नुपर्ने अनि तोकिएका नीति नियमको पालना गर्नुपर्ने विषयमा निकै महत्वपूर्ण पाठ सिकाएको क्षण हो यो ।

नीति नियमका कुरा पालना गर्नुपर्ने विषयलाई अमेरिकाको सुरक्षाले अपनाएको कडाइ जीवनभरि यात्रामा कहिल्यै बिर्सन नसकिने भएको छ । यो अनुभवले हामी पनि थप सचेत हुँदै अमेरिकाको सुरक्षा नीतिप्रति आभार प्रकट गर्दछौँ । ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई स्यालुट गर्नै पर्छ । उनले एकजना यात्रीले जानी–नजानी गरेको सानो गल्तीलाई सभ्य र भद्र शैलीमा महत्वपूर्ण पाठ सिकाए । उनले यात्रुलाई आफ्नै साथमा बाहिरसम्म लगेर पानी पोख्ने ठाउँ देखाए । पुनः सुरक्षा जाँच गरेर प्रवेश गर्नुस्, धन्यवाद भन्दै उनी आफ्नो ड्युटीमा खटिए । उनको त्यो व्यवहारले जहाज नै छुट्दा पनि यात्रुले कुनै गुनासो गरेनन् र एयरलाइन्सले पनि पहिलो जहाज छुटाएपछि दोस्रोमा जानका लागि पुनः टिकट किन्नुपर्छ, थप पैसा तिर्नुपर्छ भनेन । यति मात्र हैन, अघिको जहाजमा किन नगएको भनी एक शब्द पनि सोधेनन् र दोस्रो जहाजमा अघिकै बोर्डिङ पासको आधारमा नयाँ बोर्डिङ पास र सिट दिए ।

व्यावहारिक शिक्षा, व्यावहारिकता, नीतिगत शिक्षालगायतका कार्यमा अमेरिकाबाट धेरै पाठ सिक्ने मौका मिल्यो । यो यात्राले हरेक मान्छेले आ–आफ्नो ठाउँबाट कतिसम्म जिम्मेवारी निर्वाह गर्नुपर्छ र यसो गरे मात्र नीति नियमको सही रुपमा पालना हुन्छ भन्ने कुराको महत्वपूर्ण पाठ सिकायो । सुन्दा–देख्दा यति सानो कुरा तर यो अत्यन्तै महत्वपूर्ण र गम्भीर थियो । यदि त्यो पानीको बोतलमा पानीको सट्टा अरु चीज थियो र साधारण नागरिकको ठाउँमा बदमासी गर्ने उद्देश्यले हिँडेको व्यक्ति थियो भने के हुन्थ्यो ? त्यसैले सुरक्षाकर्मीले हरेक व्यक्तिलाई सभ्य व्यक्ति बन्न र नीति नियमको पालना गर्न सिकाउनुपर्छ ।

अमेरिकी सुरक्षाकर्मीले एक यात्रुलाई सम्मानजनक व्यवहार गरी मानव अधिकारको रक्षा गर्दै आफू ड्युटी गरिरहेको एक तलामाथिबाट तलसम्म साथमै गएर, पानी पोख्ने ठाउँ देखाएर, पुनः चेक गराउनुपर्ने नियमका बारेमा बुझाएर फर्किए । यो नै महान् कार्य हो ।

यदि ड्युटीमा खटिएका सुरक्षाकर्मीले एकपटकलाई गल्ती भएछ भनेर बोतलमा रहेको पानी पिउन दिएको भए या त्यहीँ फाल्न दिएको भए यात्रुले सुरक्षाकर्मीलाई धन्यवाद भन्थे र यात्रुको उडान छुट्ने थिएन । तर यसो गर्दा भोलिका दिनमा ठूलो दुर्घटना हुन सक्ने सम्भावना रहन्थ्यो । त्यसैले हवाई उडानमा यात्रा गर्ने जो–कोहीले सुरक्षाका दृष्टिकोणले तय गरिएका नीति नियमको पालना गरी सभ्य नागरिकको पहिचान दिनु महत्वपूर्ण दायित्व हो । यहाँ को ठूलो र को सानो भन्ने हुन्न । नीति नियम सबैका लागि समान रुपमा लागू हुन्छ ।

यसरी नै सन् २०१५ मा नेपालबाट एयर इन्डियाको उडानमार्फत दिल्ली जाँदै गर्दा सरस्वती कुकलगायत अन्य १२ जना यात्रुलाई एयरलाइन्स अफिसबाटै उडानको समय २ घण्टा ढिलो भएको छ भन्ने इमेल पठायो । उक्त टिकट अन्य यात्रुलाई बेचेर एयरलाइन्सले दिएकै समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश गरिसकेका यात्रुलाई बोर्डिङ पास बन्द भैसक्यो भन्दै एयर इन्डियाले एयरपोर्टमा दुःख मात्र दिएन अर्को दिनको लागि अर्को टिकट किन्न बाध्य बनायो । ती सबै यात्रीको कनेक्टिङ टिकट सारी पुनः थप शुल्क तिर्न बाध्य बनाइएको घटना पुनः स्मरण भयो । यदि त्यस्तो घटना अमेरिकामा भएको थियो भने उक्त एयरलाइन्सले सम्पूर्ण टिकटको पेनाल्टी मात्र नभई यात्रुलाई मानसिक रुपमा दिएको यातनाको क्षतिपूर्तिसहित क्षमा याचना गर्नुपरे पनि ससम्मान गर्ने थियो । त्यसैले जहाजमा यात्रुलाई कसरी सम्मान गर्ने र सधैँ सोही जहाजको छनोट गर्ने बनाउने भन्ने नीति एयरलाइन्सहरुले लिनुपर्छ । यस्तो नीतिले एयरलाइन्स, यात्रु र देशको सभ्यतालाई स्पष्ट पार्न ठूलो मद्दत गर्छ । यो दिनको घटनाले ती ठगिएका १२ जना यात्रु र उनीहरुको परिवारले जीवनमा एयर इन्डियाजस्ता ठगी गर्ने एयरलाइन्सलाई कहिल्यै नछानून् ।

नेपालको एउटै मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलाको दाँजोमा धेरै व्यवस्था भैसकेको छ । अझै पनि यति नै स्रोत–साधन र जनशक्तिबाट गर्न सकिने धेरै कुरामा सुधार गर्नु जरुरी छ ।

यो नेपाल चिनाउने एउटा महत्वपूर्ण स्थल हो । यहाँ कार्यरत हरेक कर्मचारी, सुरक्षाकर्मीलगायत यात्रुहरुले एयरपोर्टको सुरक्षा नीतिको पालना गर्ने/गराउने कार्य गर्नुपर्छ । तर नीति नियमको पालना गर्ने/गराउने नाउँमा कुनै पनि नागरिकको आँचमा ठेस लाग्ने काम गर्नुहुँदैन । हरेक नागरिकको मानव अधिकारको रक्षाका लागि सम्मान गर्न, सभ्य तरिकाले बोल्न र फटाफट काम गर्न सिक्नुपर्छ । एयरपोर्टलाई एयरपोर्टजस्तो चुस्त र दुरुस्त बनाउनका लागि त्यहाँ खटिने कर्मचारीले आफ्नो ड्युटीका बेला कहाँबाट के लिने र कसरी अर्काको गल्ती देखाएर अपमान गर्ने भन्ने मानसिकता बदल्नु जरुरी छ ।

नेपालको एयरपोर्टमा ३ घण्टाअघि प्रवेश गर्नुपर्ने नियम छ । यो किन र केका लागि भन्ने स्पष्ट छैन । अमेरिकाको एयरपोर्टमा जहाज उड्नुभन्दा ४० मिनेटअघि बल्ल बोर्डिङ शुरु गर्छन् र जतिसुकै यात्रु भए पनि फटाफट काम गरेर तोकिएकै समयमा गेट खुल्ला गर्छन् । नेपालमा पहिला बोर्डिङ पास लिएर मात्र सुरक्षा चेक गराइन्छ । यसो गर्दा यात्रुले पाइला–पाइलामा फरक–फरक नियमको पालना गर्नुपर्ने बाध्यता छ । यसलाई सहज बनाई विनाझन्झट यात्रा गर्न सहजीकरण गरेको खण्डमा नेपाल र नेपालीको इज्जत बढ्नुका साथै पर्यटकको आगमनमा वृद्धि हुन्छ, साथै अर्थतन्त्रसमेत मजबुत बनाउन सघाउ पुग्छ ।

एकपटक नेपाल टेकेको पर्यटकलाई राम्रो व्यवहार र सहजीकरण गर्ने हो भने ऊ आफैँ पटक–पटक नेपाल भ्रमण गर्छ र उसको परिवार, साथीसंगीलाई पनि नेपाल ल्याउन सक्छ । नेपालको एयरपोर्टमा आउने यात्रुलाई कुन नेपाली कुन विदेशी भन्नुभन्दा पनि एयरपोर्टमै भिसा लिएर प्रवेश गर्नुपर्ने यात्रुका लागि अनलाई बारकोड सुविधासहितको प्रवेशको व्यवस्था गर्ने हो भने एयरपोर्टमा आएर घण्टौँसम्म लाइन बस्नुपर्ने झमेला हुने थिएन ।

एयरपोर्टमा खटिने कर्मचारीले यो मेरो काम हैन, मेरो कुर्सी हैन भनेर सोधेको प्रश्नको उत्तर दिन पनि पैसा पर्लाझै गर्नु अर्को ठूलो समस्याको विषय हो ।

अनलाइनमा राखिएको भिसा शुल्क एउटा हुन्छ, एयरपोर्टमा पुग्दा कर्मचारीहरुले त्यो भन्दा बढी असुल्छन् र किन बढी लिएको भन्दा पर्यटन वर्ष, कोभिडजस्ता विभिन्न बहाना गर्नु देशको इज्जत र विश्वसनीयतामाथि नै प्रश्नचिन्ह उठ्नु हो । यात्रुलाई परेका समस्याको समाधानका लागि सहजीकरण गर्ने, छिटो–छिटो काम गर्ने र हँसिलो अनुहारले व्यवहार गर्ने हो भने नेपालको सुन्दरता एयरपोर्टका कर्मचारीको अनुहार र व्यवहारबाट नै झल्किने थियो ।

अर्को कुरा नेपालको एयरपोर्टमा झरेका यात्रुलाई जुत्ता–घडी फुकाल्न लगाउने, के ल्याएको छ भन्नेलगायतका झन्झट दिनु अर्को अपमानित कार्य हो । एउटा एयरपोर्टको सुरक्षा चेक गराएर आएको यात्रुलाई अर्को एयरपोर्टमा झर्दा किन यस्तो झन्झट दिइन्छ । नेपालको चेक र अन्य मुलुकको चेक फरक हो र ? हरेक नागरिकको स्वतन्त्रतालाई पनि ध्यान दिनु जरुरी छ । यस्तै एउटा नेपालीले आफ्नो परिवारका लागि ल्याएको उपहारमा पनि कर तिराउनु कहाँसम्मको नैतिकता हो ? राज्यले त सकेसम्म आफ्ना नागरिकलाई सेवा–सुविधा दिएर सम्पन्न बनाउनेतर्फ लाग्ने हो भने उसको जीवनस्तर माथि उठ्छ र राज्यको आयस्रोतमा पनि वृद्धि हुन्छ । नेपाली नागरिक सम्पन्न बन्नु भनेको देशको इज्जत बढ्नु हाुे । शिक्षित नागरिकको व्यवहार र स्रोत–साधनको प्रयोगले देश विकासका लागि ठूलो मद्दत पुग्छ ।

अमेरिकाले हरेक वस्तुको उत्पादन र बिक्री वितरण सबै मुलुकका नागरिकको पहुँचमा रहने गरी गर्छ । खरिद–बिक्रीमा पनि राज्यको दायित्व बहन गर्न नीतिगत रुपमा सिकाउँछ । तर नेपालमा हरेक वस्तुको पहुँच सम्पन्न र घरानियाको मात्र हुनुपर्छ भन्ने मानसिकता देखिन्छ । यसले गर्दा वैदेशिक रोजगारीमा होमिएका युवाशक्तिले रगत–पसिना बगाएर कमाएको पैसाले घर फर्कंदा परिवारका लागि ल्याएको उपहारमा समेत कर लगाउनेदेखि एयरपोर्टमै चोरी हुनेसम्मका हर्कत हुने गरेका छन् । यो अत्यन्तै दुःखद विषय हो । यसको सुधारका लागि नागरिकलाई स–सम्मान व्यवहार गर्ने नीति नियम बनोस् । त्यसको पालना गर्नुपर्ने सबै निकाय, तह, तप्काले नीति नियमको सम्मान गरुन् । मेहनत गर्नेको सम्मान र इज्जतका लागि राज्यको प्रमुख निकायको ध्यान पुग्नु जरुरी छ । पाइलैपिच्छे दुःख दिएर हैन, पाइलैपिच्छ हरेक व्यक्तिलाई सहज वातावरण बनाए देशको विकास र नागरिकको सम्पन्नता सम्भव छ । कर्मचारीको लागि आवश्यक तलब भत्ता दिने दायित्व सरकारको हो । गुनासो गर्ने र गुनासो सुन्ने व्यवहारमा सुधार ल्याउने दायित्व पनि सरकारले बहन गरोस् । यात्रुहरुसँग कर्मचारीले गुनासो गर्ने र काममा ढिलासुस्ती गर्ने वा गलत मनसाय राख्ने वातावरणको अन्त्य गरियोस् अनि देशको इज्जत उच्च राखियोस् ।

हरेक व्यक्तिको समान अधिकारको रक्षा गर्ने दायित्व राज्यको हुन्छ । राज्य सञ्चालनको जिम्मेवारी बोकेका निकायमा खटिने हरेक व्यक्ति इमानदार र मेहनती हुनुका साथै लोभलालचरहित हुनु जरुरी छ । श्रम गर्नेले श्रमको मूल्य सम्बन्धित निकायबाट अपेक्षा गर्नु स्वाभाविक हो तर लोभलालच गरेर अनावश्यक दुःख दिई धन आर्जन गर्नुले सुख–शान्ति हैन, मानसिक रुपमा अस्वस्थ बनाउँछ । मानसिक र शारीरिक रुपमा तन्दुरुस्त बनौँ, देशको विकासका लागि जिम्मेवार र उत्तरदायी नागरिक बनौं । अमेरिकाको एयरपोर्टमा खटिएका कर्मचारीबाट नेपाल एयरपोर्टमा खटिने कर्मचारीले सिकून् ।
(लेखक तिमल्सिना हाल अमेरिकामा हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्