सिटिजन लाइफ इन्स्योरेन्स र ओम हस्पिटलबीच सम्झौता



काठमाडौं (नेस) ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र ओम हस्पिटलबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको छ । कम्पनीसँग सम्बद्ध ग्राहक, अभिकर्ता र कर्मचारीका लागि आजको आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो सेवालाई समयानुकूल परिष्कृत गर्दै सहज गराउन स्वास्थ्यसम्बन्धी आवश्यक सहयोग पुर्याउने उद्देश्यले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन केयर सुविधाअन्तर्गत ओम हस्पिटलसँग सम्झौता गरेको छ ।

उक्त सम्झौताअनुसार सिटिजन लाइफ इन्स्योरेन्समा आवद्ध सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी तथा निजका परिवारका सदस्यहरूले ओम हस्पिटलबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवा शुल्क र औषधि खरिदमा विशेष छुट प्राप्त गर्नेछन् ।

सम्झौतापत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र ओम हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरेका थिए भने उक्त कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, अस्पतालका व्यवसाय विकास व्यवस्थापक विनोद अधिकारी र कम्पनीका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्