गुल्मीमा विद्युतीय राहदानी सेवा शुरू



गुल्मी ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा दिन शुरू गरेको छ । सरकारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लाई विस्थापित गरेपछि केही दिन सेवा बन्द भएको थियो । प्रशासन कार्यालयले अहिले सीमित संख्यामा मात्रै राहदानी दिन थालेको हो । प्रशासन कार्यालयमा तीनवटा डेक्स राखेर सेवा दिन थालिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो । विद्युतीय राहदानीसेवा दिन थाले पनि शुरुआती चरणमा परीक्षणमै रहेको उहाँले उल्लेख गर्नुभयो ।

विद्युतीय राहदानी लिन सेवागा्रही आउने गरेकाले प्रशासनका कर्मचारीको तर्फबाट सेवा नरोकिए पनि प्रविधिका कारणले कहेलेकाहीं समस्या आउने सक्ने प्रमुख जिल्ला अधिकारी पौडेल बताउनुहुन्छ । नयाँ प्रविधिमा काम भएकाले कहिलेकाहीं शतप्रतिशत नहुन पनि सक्ने उहाँको भनाइ छ । वद्युतीय राहदानी लिन शुरुमा आफैंले वा साइबरबाट फर्म भरेर तोकेको दिन फर्म लिएर प्रशासन कार्यालयमा जान सकिन्छ । प्रशासन कार्यालयको राहदानी फाँटमा गइसकेपछि तीन चरणमा काम पूरा गरेपछि मात्रै विद्युतीय राहदानी तयार हुन्छ ।

जसका लागि प्रशासनमा शुरुमा फारम भेरिफाई गरेपछि राजस्व बुझाउनुपर्ने हुन्छ । त्यसपछि सोही शाखामा रहेको दोस्रो स्टेसनमा फोटो खिचाएर थप भेरिफाई भएपछि अर्को स्टेसनमा जाने जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले बताउनुभयो । अन्तिम चरणमा रहेको स्टेसनबाट प्रमाणित गरेपछि विद्युतीय राहदानी प्रिन्टका लागि राहदानी विभागमा जाने उहाँको कथन छ ।

विद्युतीय राहदानीसेवा लिन सक्कल नागरिता, शैक्षिक प्रमाणपत्र, बसाइँसराइको हकमा प्रमाणपत्र, बिह गरेको खण्डमा विवाह दर्ताको प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको अधिकृत पन्थी बताउनुहुन्छ । नेपालमा हस्तलिखित पासपोर्ट हटाएर सन् २०१० बाट मेसिन रिडेबल पासपोर्ट (एमआरपी) दिन थालिएको थियो । विकसित मुलुकहरुले विद्युतीय राहदानी प्रयोग गर्न थालेपछि नेपाले पनि नयाँ पासपोर्ट दिन शुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्