जाजरकोटमा मह उत्पादन घट्यो



जाजरकोट ।

जाजरकोटमा मह उत्पादन ९० प्रतिशतले घट्दा किसान मारमा परेका छन् । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा धेरै नै कमी कमी आएको हो । गत वर्ष करिब १० हजार किलो मह उत्पादन भएकोमा यस वर्ष ९० प्रतिशत घटेर १ हजार किलो मात्र उत्पादन भएको कृषि विकास कार्यालय जाजरकोटका सूचना अधिकारी टोपेन्द्र नेपालीले बताउनुभयो । नलगाड नगरपालिका–१ पाली, कल्पतका मौरीपालक किसान पनि गत वर्षभन्दा मह उत्पादनमा निकै कमी आएको बताउँछन् ।

मौरीपालन पकेट क्षेत्रको सम्भाव्यता अध्ययन गरेर कल्पतलाई मह उत्पादनको पकेट क्षेत्र घोषणा गरिएको थियो । कल्पत गाउँमा १ वर्षमा एक घर किसानले करिब ८ सय किलो उत्पादन गर्ने गर्दथे । तर, यस वर्ष एक किलो मह पनि उत्पादन नहुँदा मौरी पालन किसान चिन्तित बनेका छन् । मौरी पालन व्यवसायबाट आत्मनिर्भर हुँदै गएका किसान मह उत्पादन नहुँदा निरास भएका हुन् ।

नलगाड नगरपालिका–१ का हरिबहादुर बुढाले गत वर्ष ८ सय ६५ किलोग्राम मह बिक्री गरी ५ लाखभन्दा बढी आम्दानी गर्नुभएको थियो । यस वर्ष उहाँले १ किलो पनि मह बिक्री गर्न पाउनुभएन । उत्पादन नभएपछि उहाँ निरास हुनुहुन्छ । मह उत्पादन घटेपछि सहायक पेसा नहुँदा घर व्यवहार कसरी चलाउने भन्ने चिन्ता बढेको उहाँले बताउनुभयो । वसायिकरूपमा मौरीपालन गर्दै आएका सोही ठाउँका अर्का किसान हरिबहादुर पुनको ६० घार मौरी छ । ‘गत वर्ष ३ सय किलोभन्दा बढी मह बिक्री गरेको थिएँ’, उहाँ भन्नुहुन्छ– ‘यस वर्ष ६० घारको मौरीले २० किलो मह पनि लगाएन ।’

बुढा र पुन प्रतिनिधि पात्र मात्र हुन् । जिल्लाका मौरी पालन गरेका करिब १ हजार ५ सय बढी किसानको समस्या उस्तै छ । गत असोज कात्तिकमा अविरल वर्षले चिउरीलगायत अन्य फूलको रस बगाउँदा मौरीलाई चरन क्षेत्रको अभाव भएको, वन–विनाश अतिक्रमण बढ्नु, जलवायु परिवर्तनलगायतका कारणले मह उत्पादन घट्दै गएको सूचना अधिकारी नेपालीले बताउनुभयो । बेमौसमी वर्षात चिउरी, सिजन अनुसारका फूलमा पानी जम्मा भएर रस बगाउनु, रोगले मौरी मर्नु, किसानमा प्राविधिक ज्ञानको कमी हुनु, आहार नपाएर मौरीले घार छोड्नु, मौरी पालन क्षेत्रमा विषादी प्रयोग बढ्दै जानु, अरिङ्गाल लगायत शिकारी जीवबाट मौरीमाथि आक्रमण हुनु, जलवायु परिवर्तनका कारण समयमा फूल नफुल्नाले मह उत्पादन घटेको उहाँको भनाइ छ ।

मह उत्पादन घटेपछि गत वर्ष ६ सय मूल्यमा पाइने मह यस वर्ष १ हजार रुपियाँमा पनि नपाइने अवस्था छ । जाजारकोटको मह नेपाललगायत विदेशसम्म जाने गर्दथ्यो । किसानलाई आत्मनिर्भर गरी व्यावसायिक कृषक बनाउने उद्देश्यले प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले मौरी जोनमार्फत अनुदान तथा प्राविधिक सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्