बालविवाह रोक्न सचेतनामूलक अभियान



म्याग्दी ।

बालविवाह रोक्नका लागि म्याग्दीको ग्रामीण भेगमा सचेतनामूलक अभियान सञ्चालन भएको छ । विद्यालय उमेर समूहबाटै हुने बालविवाह रोक्नका लागि बालबालिकाहरुलाई लक्षित गरेर समुदायस्तरमा सचेतनामूलक अभियान सञ्चालन गरिएको हो ।

पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिकाको समन्वय, गल्र्स फस्ट फन्डको आर्थिक सहयोग र संगम म्याग्दीको आयोजनामा बालविवाह रोक्न सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । अशिक्षा, गरिबी र चेतनाको अभावमा हुने बालविवाहलाई रोक्न खास गरी दुर्गम तथा विकट क्षेत्रमा अभियान सञ्चालन गरिएको हो । धवलागिरि गाउँपालिकाको विभिन्न वडामा पुगेर समुदास्तरमा अभिभावक र तिनका बालबालिकालाई लक्षित गरी विद्यालय उमेर समूहमा नै हुने बालविवाह रोक्न कार्यक्रम सञ्चालन गरिएको संगम म्याग्दीका अध्यक्ष दीपक पौडेलले बताउनुभयो । समुदायस्तरमा हुने बालविवाहको न्युनीकरण गर्न तथा त्यसको विरुद्धमा सचेतना फैलाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
सन् २०१९ देखि धवलागिरिको २, ३, ४ र ७ नम्बर वडामा गल्र्स फस्ट फन्डको सहयोगमा संगम म्याग्दीमार्फत समुदायमा बालविवाह न्युनीकरणसम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको छ ।

कार्यक्रम लागू हुनुभन्दा १० वर्षअघिको समयमा बालविवाह गरेका किशोरीलाई समावेश गरी आयआर्जनमा समेत सघाइएको छ । धवलागिरिको ४ वटा वडामा १४ वटा आयआर्जन समूह, ८ वटा बालविवाह प्रतिकार समूह र ११ वटा विद्यालयमा किशोरी समूह गठन गरी समुदायस्तरमा बालविवाहविरुद्धको सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै आयआर्जनसम्बन्धी विभिन्न सीपमूलक कार्यक्रम पनि सञ्चालन गरिएको पौडेलले बताउनुभयो ।

सानैमा विवाह गरेका किशोरीहरुलाई समेटेर उद्यमी समूह गठन गरिएको छ भने समूहमार्फत सामूहिक जमानीमा घुम्ती कोष परिचालन गरिएको छ । उनीहरुलाई बीउ पुँजीस्वरूप कार्यक्रमको सहयोगमा प्रतिसमूह ४८ देखि ५० हजार रुपियाँसम्म अनुदान रकम उपलब्ध गराइएको संगम म्याग्दीका अध्यक्ष पौडेलले बताउनुभयो । उद्यमी समूहले प्राप्त अनुदान रकमलाई सामूहिक जमानीको आधारमा घुम्ती कोषमार्फत परिचालन गरी व्यावसायिकमूलक कुखुरापालन, सिलाइकटाई तथा बाख्रापालन व्यवसाय तथा सीपमूलक क्षेत्रमा लगानी गरेका छन् ।

सानै उमेरमा विवाह गर्दा पढाइबाट वञ्चित हुनुपरेको, श्रीमान् र श्रीमतीले एक–अर्कालाई बुझ्न नसक्दा पारिवारिक समस्या हुने गरेको भए पनि अहिले समूहमार्फत आयआर्जनका क्षेत्रमा आबद्ध भई बालविवाहका विरुद्ध समुदायमा सचेतना फैलाउने अभियानमा आफूहरु लागेको मुनाकी पूर्णकला पुनले अनुभव सुनाउनुभयो ।

समुदायस्तरमा हुने बालविवाह न्यूनीकरण गर्न तथा अभिभावक र बालबालिकालाई सचेत बनाउनका लागि पालिकामार्फत ‘उपाध्यक्षसँग उमेर सान्दर्भिक विवाह’ कार्यक्रम सञ्चालन गरिएको धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो । कार्यक्रम लागू भएका वडाहरुमा १० वर्षको अवधिमा उमेर नपुगी विवाह गर्ने किशोरीहरुको सङ्ख्या ४ सय ६३ जना रहेको तथ्यांक संकलन गरिएको संगम म्याग्दीका कार्यक्रम संयोजक खिमा पुर्जाले जानकारी दिनुभयो ।

बालविवाह न्यूनीकरण गर्नका लागि समुदायस्तरमा पुगेर सडक नाटकसमेत प्रदर्शन गरिएको छ । धवलागिरि गाउँपालिको लुलाङ, मुना, मुदी, ताकम र बेनी नगरपालिकाको बेनी सामुदायिक माध्यमिक विद्यालयमा बालविवाह न्यूनीकरण कार्यक्रमअन्तर्गत ‘काइँली आमा’ नामक नाटक देखाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्