स्थानीय तहमा भ्रष्टाचार बढी



पर्वत ।

अख्तियारमा मुद्दा पर्नेमा स्थानीय तह बढी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्वतका सात स्थानीय तह र प्रदेश तथा संघीय सरकारी कार्यालयका गरी ६९ वटा मुद्दा दर्ता भएको छ । पर्वतको कुस्मामा भएको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी जिल्लास्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रममा उक्त तथ्यांङ्क सार्वजानिक भएको हो ।

शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका मुद्दा बढिरहेको पाइएको छ । विशेष गरी आर्थिक अनियमितता भएका, उपभोक्ता समितिबाट गरिएका कामहरुमा अपारदर्शिता भएका, सेवा प्रवाहमा विभेद गरिएकालगायतका मुद्दा बढी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले जनाएको छ । सोही कार्यक्रममा बोल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवालले गल्ती गर्नेलाई अख्तियारले कुनै हालतमा नछाड्ने बताउनुभएको छ । आयुक्त सिलवालले भ्रष्टाचारमा संलग्न जो–कोही भए पनि कारबाहीको दायरमा आउने बताउनुभयो । राज्यका जिम्मेवार व्यक्ति र निकायमै भ्रष्टाचार मौलाउँदै गएको बताउँदै कानुन सबैका लागि बराबर लागू हुन्छ भन्ने विषयमा हेक्का राख्न समेत आग्रह गर्नुभयो ।

‘विगतका दिनमा गल्ती नै नगर्ने व्यक्ति पनि अख्तियारमा परेको र दुःख भोग्नुपरेको गुनासा छन्’, सिलवालले भन्नुहुन्छ– ‘तर, अब जसले गल्ती गर्छ उसलाई मात्र हामीले कारबाहीको भागीदार बनाउँछौं । मातहत कर्मचारीले कुनै प्राविधिक विषयमा निणयार्थ छ भनेर हस्ताक्षर गरेपछि कार्यालय प्रमुखले गलत मनशाय नराखी प्रामाणीकरण गरेको पुष्टि हुन्छ भने प्रमुखलाई अख्तियारले नसमात्ने उहाँले बताउनुभयो ।

साथै, उहाँले सम्पत्ति शुद्धीकरणको मुद्दालाई पहिलो प्राथमिकतामा राखेर छानबिन गरिरहेको बताउनुभयो । सामान्य जागिर भएकाले पनि छोटो समयमै अकूत धन आर्जन गरेका उजुरी पर्न थालेको बताउँदै अख्तियारले सम्पत्ति शुद्धीकरण अभियानमा समेत तदारुकता देखाउने बताउनुभयो । सो अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराका प्रमुख कोषहरि निरौलाले पर्वतमा चालू आर्थिक वर्षमा भएका भ्रष्टाचारका मुद्दाको तथ्यांक प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा पर्वतका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जिल्लाको विकास निर्माण र सरकारी कार्यालयहरुको कामकाज र पारदर्शिताका लागि गरिएका प्रयासका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्