रानी महल अब २४सै घण्टा खुला !



पाल्पा ।

अमर प्रेमको निसानी पाल्पाको रानी महलको भौतिक संरचना बदलिएपछि यसको आर्कषण झनै बढ्न थालेको छ । करिब १ सय २५ वर्ष पहिले अर्थात् १९५० सालमा निर्माण थालनी भई १९५४ सालमा यो महल बनेको थियो ।

यसअघि दिउँसोको समयमा मात्र हेर्न र घुम्न सकिने यो महलमा पूर्वाधारको विकास गरी रानी महल दरबार अब रातिको समयमा पनि हेर्न मिल्ने भएको छ । पछिल्लो समयमा रानीमहलमा २४सै घण्टा पर्यटकीय गतिविधि बढाउन रातिमा हेर्ने मिल्ने गरी विशेष लाइट तथा अन्य पूर्वाधारको व्यवस्था गरिएको तानसेन नगरपालिकाका नगर प्रमुख अशोककुमार शाहीले बताउनुभयो ।

पूर्ण सरसफाइ गरी दरबारभित्र र बाहिर बगैंचा, परिसर दरबार वरिपरि विशेष किसिमका लाइटहरु जडान गरिएको छ । दरबारभित्रका सबै कोठा बाहिर टाढा–टाढाबाट समेत हेर्न मिल्ने व्यवस्था गरिएको छ । दरबार अगाडि फरक–फरक रङका बत्ती जडान गरी पानीको फोहोरासहितका पोखरीहरु सञ्चालन गरिएको छ । अद्भूत कलाको अनुपम नमुनाका रूपमा लिइने कालीगण्डकी तटमा अवस्थित यो अद्भूत महलको निर्माण काठमाडौंबाट पाल्पा निर्वासित प्रधानमन्त्रीको रोलक्रममा परेका तर हुन नपाएका श्री ३ खड्ग शमशेरले गरेका हुन् । आफ्नी रानी तेजकुमारीको सम्झनामा निर्माण गरेको हुनाले यसलाई रानी महल भनिएको हो ।

तानसेन नगरपालिका अनुसार पछिल्लो समयमा रानीमहलमा पुग्ने पाहुनालाई तानसेन नगरपालिकाले युरोगार्डको स्वच्छ पिउने पानी, महिला–पुरुषको फरक–फरक शौचालय, निःशुल्क वाईफाईको व्यवस्था गरेको तानसेन नगरपालिका सरसफाइ शाखाका प्रमुख शंकर भण्डारीले बताउनुभयो । ‘दरबारको सबै स्थानमा पूर्ण रूपमा सरसफाइ गरी चिटिक्क पारिएको छ । अहिले रानीमहलमा दैनिक रूपमा सरसफाइ तथा फूल बगैंचा व्यवस्थापनका लागि मालीहरु खटाइएका छन् ।’ –उहाँले भन्नुभयो ।

नेपालकै प्रमुख पर्यटकीय गन्तव्य रानीमहल दरबारलाई सुन्दर आकर्षक र पर्यटनमैत्री बनाउन तानसेन नगरपालिका आवश्यक पर्यटक पूर्वाधारको निर्माण गरी पर्यटकीय गतिविधि बढाउन नगरपालिकाले ३ महिने विशेष अभियान सञ्चालन गरेको थियो । रात–दिन काममा खटिएर स्वरूप नै महललाई दिव्य बनाइएको नगर प्रमुख शाहीले जानकारी दिनुभयो । ‘यो महलको मर्मत सम्भार र रेखदेखको जिम्मा १० वर्षका लागि तानसेन नगरपालिकाले पाएको छ’, उहाँले भन्नुभयो– ‘जसअनुसार पर्यटकको आकर्षणलाई अझ वृद्धि गर्नका लागि नगरपालिका लागिपरेको छ ।’

यसका अतिरिक्त रानीमहल पुग्ने पर्यटकले दरबारभित्र राणा खड्ग शमशेर र रानी तेजकुमारी बस्ने कोठा, भारद्वाजसहित बैठक बस्ने कोठा, दरबारभित्र प्रयोग भएका एक सय वर्ष पुराना पुरातात्विक महत्वका सरसमानसमेत हेर्न पाउने गरी व्यवस्था गरिएको छ । २४ रोपनी क्षेत्रफेलमा फैलिएको रानीमहल दरबार परिसरभित्रै राजदरबारमा हुनै सबै किसिमिका संरचना निर्माण गरिएका छन् । तानसेनबाट रानीमहलसम्म पुग्ने १३ किलोमिटर सडक लुम्बिनी प्रदेश सरकारले स्तरोन्नति गरी पिचको काम गर्दै आएको छ । अहिले तानसेनबाट सवारीसाधनमा आधा घण्टामा रानीमहल दरबार पुग्न सकिन्छ । यसअघि दरबारमा पहिले लगाइएको नीलो रंग परिवर्तन गरी पुरानै स्वरूपमा सेतो रंग लगाइएको थियो । पछिल्लो समयमा रानीमहल हेर्न दैनिक ५ सय देखि १५ सय सम्म पर्यटक पुग्ने गरेका छन् ।

महलको विशेषता
प्रसिद्ध नदी कालीगण्डकीको तीरमा बनेको यो रानी महल हेर्नमा जति आर्कषक छ, यसको पुरातात्विक महत्व पनि त्यत्तिकै छ । यो महल बेजोड काष्ठकलाको नमुना हो । पाल्पातिरबाट बग्दै आएको बराङ्दी नदी र कालीगण्डकीको संगमस्थलमा चट्टानको ठीकमाथि तहतह पारेर महल निर्माण भएको छ । जहाँ दुईतले भवनमा सानाठूला गरी २५ वटा कोठा छन् । कालीगण्डकी नदीको तीरमा रहेको भवनको जग नदीको धारमाथि छ ।

१ सय १२ फुट भू–भाग ओगटेको भवनको निर्माण पक्ष हेर्दा निकै आश्चर्य लाग्छ । किनकि महल परिसरमा पानीपोखरी, मनमोहक बगैंचा, आधुनिक छन्द्यको पार्क, शिवालय, फलामका खम्बाहरु, झुलेका फलफूलका बगैंचा आदिले जो–कसैको मन पनि पुलकित बनाउँछ ।

प्रतिक्रिया दिनुहोस्