गाई संरक्षणका लागि गौशाला



पर्वत ।

पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा स्थानीय जातका गाई संरक्षण गर्न गौशाला स्थापना गरिएको छ । लोप हुँदै गएका गाई संरक्षणका लागि गौशाला स्थापना गरिएको हो । गौशालामा हाल ३२ वटा गाई छन् । गण्डकी गोपाल गौशालाले दुई वर्षअघि नेपालमै पहिलोपटक गौ महोत्सव आयोजना गरेको थियो । महोत्सवमा करिब ३ करोड संकलन गरिएको थियो । सोही रकमबाट गौशालालाई धार्मिक एवं पर्यटकीयस्थलका रूपमा विकास गर्ने गरी पूर्वाधार निर्माण गर्ने योजना रहेको अध्यक्ष राजु आचार्यले बताउनुभयो । गौशाला अवलोकन र गाईको सेवाका लागि धाइरिङमा धार्मिक पर्यटक पुग्न थालेका छन् । दैनिक १ सयभन्दा बढी धार्मिक पर्यटक पुगेर सामूहिकरूपमा गौ पूजा र गाईको आहाराका लागि पराल संकलन गर्न थालिएको छ ।

अध्यक्ष आचार्यका गौशालामार्फत धाइरिङलाई धार्मिक पर्यटकको केन्द्र बनाउन लागिएको छ । गाईमा सबै देवता निवास गर्छन् भन्ने मान्यता छ । भविष्य पुराणका अनुसार गाईको पीठमा भगवान् ब्रह्मा, गलामा विष्णु र मुखमा शिव रहनुहुन्छ भने मध्यभागमा सबै देवीदेवताको बास हुन्छ । गाईको रौं–रांैमा महर्षिहरुको निवास हुन्छ भने पुच्छरमा अनन्त नाग, खुरमा सबै पर्वत, गोमुत्रमा गंगालगायत पवित्र नदी रहने वर्णन गरिएको पाइन्छ । गाईको आँखामा सूर्य र चन्द्रको बास हुन्छ । यसैले गाईलाई पृथ्वी, ब्राह्मण तथा देवताको प्रतिकका रूपमा लिइन्छ । प्राचीन समयदेखि गोदानलाई सबैभन्दा ठूलो दान मानिएको छ भने गाईको हत्यालाई सबैभन्दा ठूलो महापाप । त्यसै कारण वैदिक कालदेखि नै हिन्दू धर्म मान्नेले गाईको पूजा गर्दै आइरहेका छन् ।

गाईलाई केवल धार्मिक दृष्टिकोणले मात्र नभएर आर्थिक महत्वले पनि निकै उपयोगी जनावर मानिन्छ । प्राचीन कालमा गाईको संख्याबाटै व्यक्तिको सम्पन्नता आँकलन गरिन्थ्यो । जोसँग जति धेरै गाईको संख्या छ ऊ त्यति नै धनी मानिथ्यो । प्रायः सबै धार्मिक क्रियाकलापमा गाई दानको महत्व अहिले पनि छ । पण्डित नीलकण्ठ आचार्यका अनुसार प्राचीन समयमा परिवारको भरणपोषण गाईमै निर्भर थियो । खेत जोत्नका लागि बहर गाईबाट प्राप्त हुन्छ । दूध, दही, घ्यू, गहुँत वा गोबर सबै उपयोगी मानिन्छ । पछिल्लो समय गाईपालनमा निकै कमी आएको छ ।

यसै गरी, गाईको महत्व धार्मिक तथा आर्थिक दृष्टिले मात्र छैन, केही वैज्ञानिक तथ्यले पनि यसको महत्व दर्शाउँछ । दूध, दही, घ्यू त गाईलेभन्दा भैंसीले धेरै दिन्छ तर गुणका हिसाबमा गाईभन्दा राम्रो छैन । गाईको दूध धेरै शक्तिबर्धक हुने भएकाले दूध र त्यसबाट बनेका पदार्थको तुलना अरूसँग हुनै नसक्ने विभिन्न अनुसन्धानले देखाएको छ । गाईको गहुँतमा हृदयरोगका लागि लाभकारी तत्व पनि पाइनाका साथै पोटेसियम, सोडियम, नाइट्रोजन, फस्फोरस, युरिया, युरिक एसिडका साथै तथा दूध दिने समयमा छाडने गउँंतमा लेक्टोजको मात्रा धेरै हुने भएकाले चिकित्सा विज्ञानमा यसलाई अझ महत्व दिइने आयुर्वेदिक चिकित्सकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्