रोग र मृत्युदर घटाउन खोप उपयुक्त



सिड्नी, (एजेन्सी) ।

बालबालिकामा कोभिडविरुद्ध लगाइने खोपले बच्चाको रोग र मृत्युदर घटाउनुको साथै वयश्कलाई पनि फाइदा गर्ने अस्ट्रेलिया र क्यानडाको एउटा अध्ययनले जनाएको छ । सरकारले पाँच वर्षदेखि ११ वर्षका बालबालिकालाई खोप दिने तयारी गरिरहेका बेला ग्रिफिफ्थ युनिभर्सिटीले अध्ययन गरेको थियो । बालबालिकामा खोपको असर, उनीहरुको अस्पताल भर्ना, मृत्यु, जटिलतालगायतका विषयहरुमा गरिएको सो अध्ययनमा अनुसन्धानकर्ताहरुले बालबालिका र वयश्कमा महामारी विज्ञानसम्बन्धी मोडल प्रयोग गरेका थिए । अध्ययनअनुसार पाँचदेखि ११ वर्षका बालबालिकामा खोपसँग सम्बन्धित मायोकार्डाइटिस र एनाफाइल्याक्सिसको समस्या निकै दुर्लभ देखिएको छ ।

‘खोप लगाएका बालबालिकामा भविष्यमा अन्यको तुलनामा रोगको जोखिम कम देखिएको छ ।’ –ग्रिफिफ्थ युनिभर्सिटीका प्राध्यापक मिसेल गुडले भने । अस्ट्रेलियामा यस वर्ष विद्यालय शुरु हुनुअघि खोप लगाउन योग्य २३ लाख बालबालिकाहरुलाई कोभिड खोप दिने तयारी भइरहेको छ । खोप लगाएका बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने अध्ययनमा उल्लेख छ । पछिल्लो समय अस्ट्रेलियामा औसतमा दैनिक १ लाख जनामा कोभिड संक्रमण देखिएको छ ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ । संक्रमण बढे पनि सरकारले तत्काल लकडाउन नगर्ने संकेत गरेको छ । यद्यपि, केही प्रतिबन्ध भने लागू गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्