अतिरिक्त कक्षामा सहभागी विद्यार्थीलाई विद्यालयमै खाना



दोलखा ।

विद्यार्थीको शैक्षिक गुणस्तरमा सुधार गर्दै उत्कृष्ट नतिजा ल्याउने लक्ष्यसहित दोलखाको शैलुङ गाउँपालिका–१ ताम्चेत दूधपोखरीमा रहेको कल्लाबारी माध्यामिक विद्यालयले अतिरिक्त कक्षा शुरु गरेको छ ।

कोभिडका कारण विद्यार्थीको पढाइ प्रभावित भएपछि एसईई परीक्षाको तयारीका लागि कक्षा ९ र १० का विद्यार्थीका लागि विद्यालयले अतिरिक्त कक्षाको व्यवस्था गरेको विद्यालयका प्रधानाध्यापक चन्द्रलाल घिसिङले बताउनुभयो । अतिरिक्त कक्षामा सहभागी हुन कतिपय विद्यार्थी टाढाबाट आउने भएकाले विद्यालयमै बिहानको खाना व्यवस्था गरिएको प्रधानाध्यापक घिसिङले बताउनुभयो ।

विद्यालयले सञ्चालन गरेको अतिरिक्त कक्षामा ७० भन्दा बढी विद्यार्थी सहभागी हुने गरेका छन् । त्यसमा १५ जना विद्यार्थी रामेछाप दोरम्वाका विद्यार्थीसमेत रहेको उहाँले बताउनुभयो । अतिरिक्त कक्षामा सहभागी कक्षा १० का विद्यार्थी अस्मिता तमाङ विद्यालय रहेकै वडामा घर भए पनि आफू दुर्गमको भएकाले अतिरिक्त कक्षामा सहभागी हुँदा विद्यालयमै खाना खाने गरेको बताउनुहुन्छ । विद्यालयको यो व्यवस्थाले हामीजस्ता टाढाको विद्यार्थीलाई निक्कै सहज भएको छ’, उहाँ भन्नुहुन्छ– ‘विद्यालयलाई खानाको व्यवस्था नगरेको भए हामीले अतिरिक्त कक्षा लिने अवस्था हुँदैन थियो ।’ अतिरिक्त कक्षा सञ्चालन गर्दा विद्यालयलाई भार नपरोस् भनेर तरकारी विद्यार्थीले नै ल्याउने गरेको अस्मिताको भनाइ छ ।

रामेछापको दोरम्बाबाट अतिरिक्त कक्षामा सहभागी युवराज तमाङ पनि विद्यालयको यो व्यवस्थाले आफूहरुलाई अध्यनमा सहज भएको बताउनुहुन्छ । अतिरिक्त कक्षाले कोरोनाका कारण आफूहरुको पढाइमा पुगेको असरलाई कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको तमाङ बताउनुहुन्छ । विद्यालयले अतिरिक्त कक्षामा सहभागी विद्यार्थीलाई तात्तातो खाना खुवाएर बिहान ९ बजेबाट कक्षामा सहभागी गराउने गरेको छ ।

अतिरिक्त कक्षामा अंग्रेजी, गणित र विज्ञानको पढाइ हुने गरेको । ‘विद्यालयले अतिरिक्त कक्षामा सहभागी विद्यार्थीलाई दाल, भात र तरकारीको व्यवस्था गरेको छ’, प्रधानाध्यापक घिसिङले बताउनुभयो–‘यसका लागि विद्यालयले प्रतिविद्यार्थी ४० रुपियाँसम्म खर्च गरेको छ भने कतिपय विद्यार्थीले तरकारी आफैं ल्याउने गरेका छन् ।’

प्रतिक्रिया दिनुहोस्