देश परायाको खेलमैदान भएको छ : पूर्वराजा ज्ञानेन्द्र



न्युज अफ नेपाल, काठमाडौं ।

पुर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रियताका आधारहरू माथि प्रहार भई देशको अस्तित्व समेत सङ्कटमा परेको बताउनुभएको छ । ‘देश परायाहरूको खेल मैदान बनिसकेको खतराको अनुभूति हरेक नेपालीले गरिराखेका छन्–राष्ट्रिय एकता दिवस एवं बडामहाराजाधिराज पृथ्वीनारायण शाहको ३ सयौँ जन्म जयन्तीको अवसरमा सोमबार जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले सो विषय उठान गर्नुभएको हो ।

अहिलेको स्थितिमा एकताको महत्त्व र बडामहाराजाधिराजका योगदान एवं दिव्य उपदेशको सान्दर्भिकता थप बढेको महसुस गरेको उल्लेख गर्नुभएको छ । ‘राष्ट्रनिर्माताबाट परराष्ट्र मामिलाका नीति र व्यवहारको सम्वेदनशिलतालाई सदैव आत्मसाथ गरिरहनु पर्ने सन्देश तथा दिव्य उपदेशका उपेक्षाका कारण यति बेला हामी असन्तुलनको परिणाम व्यहोर्दै छौं । राष्ट्रको कीर्ति र जनताको सुखी बाहेक, प्रजातन्त्रको अर्को कुनै लक्ष्य हुन सक्दैन । जन इच्छा र प्रगतिसँग सरोकार नराख्ने प्रणालीका नाम जनतन्त्र, जनवाद, लोकतन्त्र, गणतन्त्र, जनगणतन्त्र, जेसुकै चयन गरियून, यसले राष्ट्र हित र जनसेवाको चरित्र धारण गरेको छैन भने त्यो निरर्थक साबित हुनेछ’–ज्ञानेन्द्रद्धारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

उहाँले देश र जनताप्रतिको भावना समेट्दै शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ छ–प्रणाली केवल साधन हुन् । साधन परिवर्तनलाई नै महान् उपलब्धिका रूपमा वर्णन गर्ने प्रयास हुँदै आएका छन् । सबै भन्दा उन्नत दाबी गरिएको तन्त्रमा जनताले सास्ती र राष्ट्रले अस्तित्व प्रति नै चिन्ता गर्नु पर्ने परिस्थिति बन्दछ, भने त्यस्तो तन्त्रमा अभ्यासको व्यर्थ प्रयासमा समय वरवाद गर्न नहुने निष्कर्षमा पुग्न विलम्ब गरिनु हुँदैन ।

हाम्रो भूगोल, माटो र पन आफ्नै धर्म संस्कृति एवं गतिविधि नै हामीलाई प्यारो र राम्रो लाग्छ । आफ्नो गौरवमय अस्तित्वलाई जोगाइ राख्न हिमाल, पहाड र तराइका सबै हामी एक बनौँ शुभकामना सन्देशमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्