हाम्रै कोरियोग्राफीको फलो भइरहेको छ : राजु शाह



नाच्नै नजान्ने कलाकारलाई पनि उत्कृष्ट नृत्य गराएर नृत्य निर्देशनको क्षेत्रमा ट्रेन्ड सेटर बन्न सफल लोकप्रिय नृत्य निर्देशक हुन् राजु शाह। बलिउड पुगेर नृत्य सिकी केही बलिउड फिल्म सम्पादन गर्नुका साथै छायांकनबारे ज्ञान हासिल गरेका शाहले नृत्यमार्फत दर्जनौं कलाकार जन्माएका छन्। शाहले करिब तीन दशकअघि नृत्य निर्देशकको रूपमा सक्रिय साढे दुई सय जति फिल्मका गीतमा नृत्य निर्देशन गरेका छन् भने सपनाको नौलो संसार र नमस्ते नेपाल नामक दुई फिल्मको निर्देशनसमेत गरेका छन्। नृत्य र फिल्म निर्देशनका साथमा फिल्म सम्पादनसमेत गर्दै आएका उनले लामो समयदेखि काम गरेका छैनन्। उनैसँग रश्मी थापाले गरेको कुराकानी यहाँ प्रस्तुत छ :

हाल के गर्दै हुनुहुन्छ?

कोरोनाको कारण भएको लकडाउनका कारण काम गर्ने माहोल थिएन। अबचाहिँ काम शुरू गर्नुपर्छ भनेर एउटा फिल्मको लागि स्क्रिप्ट हेर्दै छु र वेब सिरिजका लागि पनि सोचिरहेको छु।

तपाईंजस्तो बहुप्रतिभाशाली व्यक्तिले अहिले किन काम गरिरहनुभएको छैन?

नमस्ते नेपाल नामक फिल्म बनाएर सन् २०१७/१८ तिर रिलिज गरियो। युरोपमा सुटिङ गरिएको उक्त फिल्ममा फाइनान्सियल्ली धेरै खर्च भयो।  तर, फिल्मले सोचेजस्तो व्यापारिक सफलता हासिल गर्न नसकेपछि अब कसरी आउने भन्ने सोचेर केही समययता काम गरेको छैन।

तपाईंले राजश्री डान्स सेन्टर नामक प्रशिक्षण केन्द्र स्थापना गरी थुप्रै प्रतिभाशाली कलाकार जन्माउनुभयो। सो सेन्टर किन बन्द गर्नुभयो?

नमस्ते नेपालको सुटिङका लागि युरोप जानुभन्दा एक महिना जति अघि फिल्मको तयारीका लागि अस्थाईरूपमा डान्स सेन्टर बन्द गरेको थिएँ ।

५४ दिनको सुटिङ सेड्युल सकेर युरोपबाट फर्केपछि फिल्मकै काममा व्यस्त भइयो र राजश्री डान्स सेन्टरलाई निरन्तरता दिन सकिएन। तर, त्यसलाई फेरि खोल्ने सोचिरहेको छु।

तपाईंले जन्माएका कलाकारहरूले अहिले तपाईंलाई कत्तिको सम्झन्छन्?

म स्ट्रिक खालको टिचर भएको कारण मेरा विद्यार्थीहरू मेरो नजिक आउने र ख्याल ठट्टा गर्दैन थिए। सिक्नु छ भने राम्रोसँग सिक भनेको मान्दैनौ भने नआए पनि हुन्छ भन्थेँ, त्यही कारण उनीहरू मसँग डराउँथे र सिरियस भएर काम गर्थे।

त्यसैले, अहिले पनि सम्झिने भन्दा पनि भेट हुँदा गुरु भनेर सम्मान गर्छन्। आफ्ना छोराछोरीका अघिल्तिर पनि गुरु भनेर रेस्पेक्ट गर्छन्। गुरु पूर्णिमामा भेट्न आउँछन्, त्यो बेला र अहिले बराबर रेस्पेक्ट गर्छन्।

अहिलेको नेपाली फिल्मको कोरियोग्राफी कस्तो पाउनुभएको छ?

अहिलेको कोरियोग्राफी शैली प्रोफेसनल खालको छ। एकै खालले अघि बढिरहेको छ। गीत र कथाअनुसार सिचुयसनल कोरियोग्राफीको प्रयोग भएको छैन।

क्यारेक्टर लजाउने छ, तर गीतमा लाज नमानी फ्रयांक भएर प्रस्तुत गरिन्छ। गीत सकिएपछि त्यो पात्र फेरि लजाउन थाल्छ। यसरी हेर्दा क्यारेक्टरलाई कथामा नमिल्ने गरी प्रस्तुत गरिएको पाउँछु।

अहिलेको कोरियोग्राफी शैली तपाईंहरूकै कोरियोग्राफीको परिमार्जित रूप हो?

हो, हाम्रो समयकै कोरियोग्राफीको फलो भइरहेको छ। विशेषगरी, आइटम सङ तथा मुभमेन्टमा फलो गरेको पाइन्छ। मैले नाच्न नजान्ने भुवन केसी, राजेश हमालजस्ता कलाकारलाई उहाँहरू कसरी नाच्न सक्नुहुन्छ, त्यसरी नचाउने गर्थें।

त्यसपछिका उहाँहरूको फिल्ममा त्यस्तै स्टेप र शैली नै सेट भयो। मानिसहरूले भुवन केसी, राजेश हमाल कसरी नाच्छन् भन्दा यसरी भन्ने स्टाइल सेट भयो।

जसले गर्दा त्यसपछिका कोरियोग्राफर र नाच्ने कलाकारलाई पनि सजिलो भइरहेको छ। अहिले पनि त्यही शैलीमा नाचेको र नचाएको देखिन्छ।

पहिले र अहिले कोरियोग्राफी गर्ने तौर तरिकामा के फरक पाउनुभएको छ?

त्यो बेला गीतमा कथाअनुसार सिन डेभलप गरिएको हुन्थ्यो। कथाको डाइलग म्याच गरेर गीतमा परिणत गरिन्थ्यो। तर, अहिले त्यस्तो छैन। गीत फिल्मअनुसार छ वा छैन, हेर्ने डाइरेक्टरको कर्तव्य हो भने कथाअनुसारको कोरियोग्राफी गर्ने कर्तव्य कोरियोग्राफरको हो।

अहिले त्यस्तो गरेको पाइँदैन। अहिलेको कोरियोग्राफीमा ओरिजिनालिटी छैन। मैले नयाँ चिजहरू पनि देखिरहेको छैन। अहिले डान्स गरे मात्र हुन्छ, धेरै मेहनत गर्नुपर्दैन। पहिले नृत्य विधा पढेकै हुन्थे।

पहिले कुन तालमा नाचिरहेको छ भन्ने थाहा हुन्थ्यो। अहिलेका कलाकारलाई त्यस्तो थाहा हुँदैन। पहिले प्राक्टिकलको साथसाथै थेउरी पनि हुन्थ्यो। थेउरी विनाको प्राक्टिकल शो अपमा मात्र राम्रो देखिन्छ।

बलिउडमा पनि काम गरेर आउनुभयो, त्यहाँको फिल्म क्षेत्रमा कामको हिसाबमा के फरक पाउनुभयो ?

मुख्य कुरा त बजेट नै हो। हाम्रो कुल जनसंख्यामा १२ प्रतिशतले मात्र फिल्म हेर्छन्। सानो बजेटका कारण नयाँ–नयाँ चिज ल्याउन रिस्क छ। नयाँ कन्सेप्टमा काम गर्दा यहाँ तारिफ पनि हुँदैन।

कन्सेप्ट राम्रो भए पनि चल्यो भने मात्र तारिफ हुन्छ, तर पैसा कमाउँदैन। उता एउटा गीत चल्यो भने तारिफ र कमाइ दुवै हुन्छ। हाम्रोमा हाम्रै टिपिकल चिजले मात्र बजार धानिरहेको छ, नयाँ कन्सेप्ट खासै आएको पाइँदैन।

बलिउड छोडेर नेपाली कला क्षेत्रमा आउनुको कारण के थियो?

तुलसी घिमिरेको फिल्म दुई थोपा आँसुका लागि २०५० सालमा नेपाल आएको थिएँ। त्यसमा काम गरेपछि २०५१ सालमा देउताको लागि अफर आयो।

पहिलो फिल्मको कामबाट नै अवार्ड र तारिफ पाएँ। त्यसले गर्दा आफूलाई निकै गर्व महसुस भयो। धेरैको तारिफ, माया र सम्मान पाएको कारण नेपालमै बस्न थालेँ।

बलिउडमा काम गरेको र सिकेको मान्छे उतै फर्किऊँ भन्ने सोच आएन ?

म नेपाली फिल्ममै यति व्यस्त भएँ कि वर्षमा ५/६ वटा फिल्ममा काम गर्नुपर्यो। म काममा मात्र व्यस्त भएँ। त्यसैले, यतै रमाएँ, उतातिर सोच्ने फुर्सद नै भएन।

फिल्म सम्पादन र निर्देशन पनि गर्नुभयो। कामको हिसाबले कुनचाहिँ काम कठिन?

मानिसलाई इच्छा र रुचि छ भने कुनै पनि काम कठिन भन्ने हुँदैन। मेरो रुचि फिल्म निर्देशन नै थियो। त्यतिबेला, प्रकाश थापा, प्रकाश गुरुङ दाइहरूले म्युजिक, क्यामेरा, एडिटिङ सबै जान्न जरुरी छ। यी कुरा नजानी डाइरेक्टर बन्नु बेकार छ भन्नुहुन्थ्यो।

त्यही कारण पनि मैले भारतमा रहँदा यी कुरामा ज्ञान बढाएको थिएँ। त्यहाँ गोपी कृष्णसँग डान्स सिकेँ। नाचे नागीन गली गली बोलको गीतमा असिस्टेन्ट डान्स डाइरेक्सन पनि गरेँ। छायाँकार विनोद प्रधानसँग छायांकनको एबीसीडी सिकेँ।

पछि आफूले कोरियोग्राफी गरेका सबै गीतको सम्पादन आफैंले गरेँ भने पाँचवटा फिल्मको फुल फेजमा सम्पादन गरेँ। ती गीतको अप्ठेरा सिनको छायांकन पनि आफैँले गरेँ र फिल्मको निर्देशन पनि गरेको छु।

यी सबै कुरामा रुचि भएकोले कठिन भन्ने लागेन। तर, फिल्म बनाएपछि स्क्रिप्ट लेख्ने कामचाहिँ च्यालेन्जिङ लाग्यो। कन्सेप्ट राम्रो भयो भने मात्र फिल्मको स्क्रिप्ट धेरै राम्रो हुन्छ।

पर्दा पछाडि बसेर अरूलाई नृत्य र अभिनय सिकाउँदा आफूलाई पनि पर्दामा अभिनय गर्ने वा नृत्य गर्ने रहर भएन?

शुरूशुरूमा त रहर थियो, तर पछि अरुलाई नृत्य सिकाउन थालेपछि त्यसमै मजा लाग्न थाल्यो। फिल्मभन्दा पहिले म स्कुलमा बच्चाहरूलाई डान्स सिकाउँथें।

उनीहरू नाच्दा, खुसी भएको देख्दा आफूलाई पनि खुसी लाग्थ्यो। मेरो सिकाउने खुबी र कलाकारको इन्ट्रेस्टले गर्दा कामहरूले राम्रो तारिफ पाउन थाल्यो।

तपाईंको अनुभवमा नृत्य सिकाउन सजिलो र गाह्रो कलाकार को–को हो?

हिरोहरूमा त राजेश हमाल, भुवन केसी, सरोज खनाल, धीरेन शाक्यहरूलाई नचाउन धेरै गाह्रो थियो। हिरोहरूलाई नाच्न नआएकै कारण उनीहरूसँग एक किसिमको मनमुटाव पनि हुन्थ्यो। तर, पनि मैले नचाएँ।

त्यसपछिका रमेश उप्रेती, दिलिप रायमाझी, श्रीकृष्ण श्रेष्ठहरू मेरो डान्स सेन्टरमा नृत्य सिक्न आउँथे, उनीहरूलाई सिकाउन धेरै सजिलो भयो।

हिरोइनहरूमाचाहिँ पूजा चन्दलाई शुरूमा नचाउन अलि गाह्रो भयो। सारंगा श्रेष्ठ, गौरी मल्लहरू त डान्सर नै हुन्। उनीहरूलाई नचाउन धेरै सजिलो हुन्थ्यो। करिश्मा मानन्धर, विपना थापा, जल शाह डान्सर होइनन्, उनीहरूलाई पनि सजिलै नचाएँ।

राजेश हमाललाई नाच्न नजान्ने आरोप लागिरहेका बेला तपाईंले उहाँलाई पनि पिरतीको मिठो तिर्सना बोलको गीतमा गज्जबले नचाएर नाच्न जान्ने बनाउनुभयो। त्यो कसरी सम्भव भयो?

राजेश हमाललाई जति सिकाउँदा पनि नाच्न नजान्ने। नाचिरहेको मान्छे भए पो नाच्न सक्थे, कहिल्यै ननाचेको मान्छेलाई नचाउन निकै गाह्रो भएको थियो।

उक्त गीतमा दिनदिनै प्रयाक्टिस गराए पनि सुटिङको बेला बिग्रन्थ्यो। म पर्फेक्सन नआएसम्म छोड्दै छोड्दिन थिएँ। जति गर्दा पनि मैले सोचेको जस्तो स्टेप नआएपछि तीन चार महिना जति प्राक्टिस गराएँ। सबै फिल्मको सुटिङ सकेर अन्तिममा उक्त गीतको सानो भाग सुटिङ गरिएको थियो।

नयाँ र पुराना कलाकारमध्ये कोसंँग काम गर्न सजिलो लाग्छ?

कोसँग भन्दा पनि कलाकारले कसरी सक्छ, त्यसरी सजिलो बनाएर नचाउने हो। कलाकारलाई जबर्जस्ती नाच भन्ने होइन र सबैलाई एउटै तरिकाले नाच्न सिकाउने पनि होइन। नाच्न जान्ने मान्छेले मात्र जसरी भन्यो, त्यसरी नाच्न सक्छ। जान्दै नजान्नेलाई उसले कसरी सजिलो महशुस गर्छ, त्यसरी नचाउने हो।

नायक अमृत लामालाई पापी फिल्मको तल तल बेसीमा मैच्याङ गीतमा जे गरे पनि नचाउनै सकिएन। त्यसपछि तिमी कसरी नाच्छौ देखाऊ त भनेँ। उसले आफू नाच्ने तरिका देखाएपछि उसको स्टाइल अनुसार सिकाएर नचाएँ, सबैले कस्तो राम्रो नाचेको भने। रमित ढँुगानाले उसको पहिलो फिल्म माया नमारको मुग्लिन पारी तरेर गण्डकी गीतमा नाच्न नजानेपछि तिमी कसरी नाच्छौ देखाउ भनेँ। उसले दुईटा हात फिजाएर कुम हल्लाएर देखायो। उसको स्टेपलाई डेभलप गरेर सिकाएँ। त्यही गीत नै रमितको पहिचान बन्यो।

नयाँ पुस्ताका फिल्मकर्मीले कत्तिको सम्झन्छन्?

म २०५७ सालमा पहिलो फिल्म निर्देशन गर्दा कोरियोग्राफीमा एकदमै व्यस्त थिएँ। त्यो बेला फिल्म निर्देशन गर्छु भन्दा निर्देशक शिव रेग्मीले तिमीले अहिले नै फिल्म निर्देशन गरेर भूल गर्यौ, कोरियोग्राफीमै व्यस्त छौ, फिल्म निर्देशन गर्ने बेला भएको छैन। फिल्ममा लागेपछि तिमी हराउँछौ भन्नुुभएको थियो। त्यस्तै नै भयो।

म आफ्नो फिल्मको काममा व्यस्त हुन थालेपछि अरू फिल्ममा काम गर्न फुर्सदै भएन। आफ्नो फिल्मको काम सकिएर फुर्सद हुँदा नयाँ–नयाँ कोरियोग्राफरले काम गरिरहेका थिए। अहिलेका नयाँ फिल्मकर्मीले कामकै लागि भनेर सम्झेका छैनन्।

नयाँ कोरियोग्राफरहरूलाई के सल्लाह दिनुहुन्छ?

फिल्ममा काम गर्दा कथाअनुसार कोरियोग्राफी गर्दा सान्दर्भिक हुन्छ। गाना राम्रो देखाएर त्यही गीत हेरेर फिल्म हेर्न जाने दर्शक हुन्छन्, त्यसो नगरिए फिल्मलाई असर गर्छ। कोरियोग्राफरले आफूले गरेको गीत मात्र राम्रो बनाउने भन्दा पनि पूरै फिल्म राम्रो होस् भन्ने हिसाबले काम गर्नुपर्छ।

अब कुन रूपमा अगाडि आउने सोच्नुभएको छ?

फिल्म र वेब सिरिजको स्क्रिप्टमा बसेको छु। मेरो दोस्रो फिल्म नमस्ते नेपालमा पब्लिसिटीमा कम्परमाइज गरेका कारण राम्रो हुन सकेन। त्यसको असफलताको अरू कारण पत्ता लगाएर कमी कमजोरीहरूलाई सुधारेर अघि बढ्ने विचार छ।

प्रतिक्रिया दिनुहोस्