दूरसञ्चारको देन



आजको युग सञ्चारमय छ । सञ्चार जगत्मा जसले सफलता हासिल गर्छ उसैले व्यावसायिक सफलता पनि पाउँछ । पछिल्लो समय व्यावसायिक सञ्चारका लागि दूरसञ्चार मेरुदण्ड भएको छ । नेपालका सन्दर्भमा नेपाल दूरसञ्चार प्राधिकरणले त्यस प्रकारको मेरुदण्डको भूमिका खेलेको छ । त्यसो त नेपालको दूरसञ्चार उद्यममा पाँच वटा सेवा प्रदायक छन् । त्यसमध्ये नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र ऐनसेलको प्रभाव अधिक देखिन्छ । तर प्राधिकरणको सेवामै अधिकांश सेवाग्राही निर्भर देखिन्छन् । यस परिवेशमा यसको सेवाले यदाकदा गुणस्तर कायम नगर्दा एकसाथ ठूलो समुदाय प्रभावित हुनेगरेको छ ।

नेपाल टेलिकम र एनसेल आजियाटा लिमिटेडका अतिरिक्त युनाइटेड टेलिकम लिमिटेड, नेपाल स्याटलाइट प्रालि र स्मार्ट टेलिकम प्रालि पनि अस्तित्वमा छन् तर उनीहरुको प्रभाव नगण्य छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्र्वजनिक गरेको प्रतिवेदनमा यही कार्तिक महिनासम्ममा भ्वाइस सेवातर्फ कुल ४ करोड १५ लाख लाइन वितरण भएका छन् भने ऐनसेल आजियाटा लिमिटेडको १ करोड ६६ लाख, स्मार्ट टेलिकम प्राइभेट लिमिटेडको २३ लाख ५७ हजार र अन्य सेवा प्रदायकको ३ लाख लाइन मात्र रहेको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको ५४ प्रतिशत र ऐनसेल आजियाटा लिमिटेडको ४० प्रतिशत गरी दुईवटा सेवा प्रदायकको हिस्सा मात्र ९४ प्रतिशत रहेको देखिन्छ । सोही अवधिमा इन्टरनेट सेवातर्फ कुल ३ करोड ५३ लाख लाइन वितरण भएकोमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १ करोड ९२ लाख, ऐनसेल आजियाटा लिमिटडको ८४ लाख ३२ हजार, स्मार्ट टेलिकमको १ लाख ५३ हजार र आइएसपीहरुको ७४ लाख ५८ हजार लाइन रहेको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको ५४ प्रतिशत र ऐनसेल आजियाटा लिमिटेडको २४ प्रतिशत गरी दुईवटा सेवा प्रदायकको हिस्सा मात्र ७८ प्रतिशत रहेको छ । थोरै सेवा प्रदायकको हातमा बजार सीमित हुँदा स्वाभाविक रुपमै सेवाग्राहीलाई असर पर्नसक्छ । सेवाप्रदायकहरुले मिलोमतो गर्नसक्ने सम्भाबना रहन्छ, जति धेरै सेवाप्रदायक भयो त्यतिकै बढी प्रतिस्पर्धात्मक सेवा उपभोक्तालाई प्राप्त हुनसक्छ । ल्याण्डलाइन, जिएसएम, सिडिएमए, वाइम्याक्स, डाटा सेवा (थ्रीजी, फोरजी/एलटिई) र भ्यालु एडेड सेवा उपलब्ध गराइरहेको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र जीएसएम (फोरजी/एलटीई) र डाटा सेवा उपलब्ध गराइरहेको ऐनसेल आजियाटा लिमिटेड शुरुदेखि नाफामा छन् । ठूला सेवा प्रदायकहरुमध्ये नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, ऐनसेल आजियाटाले मात्र प्राधिकरणलाई फ्रिक्वेन्सी दस्तुर, रोयल्टी दस्तुर, ग्रामीण दूरसञ्चार विकास कोष दस्तुर नियमितरुपमा बुझाउँदै आएका र बाँकीको लामो समयदेखि बक्यौता रहेको जानकारीमा आएको छ ।

निष्कर्षमा सञ्चार क्षेत्रको मेरुदण्डका रुपमा रहेको दूरसञ्चार क्षेत्र पनि समस्यामा छ । यस क्षेत्रमा हुने कुन पनि प्रकारको कमजोरीले लाखौं उपभोक्ताले व्यापार–व्यवसायदेखि नियमित सन्देश प्रवाहको काम पनि गर्नसक्तैनन् । एक प्रकारले हरेक क्षेत्र ठप्प रहन्छ । तर हामीकहाँ टेलिफोनका तार सडकभरि लत्रिरहेका, टेलिभिजन सेवा प्रदायकहरुले बिजुलीका पोलबाट अस्तव्यस्त किसिमले काम धानिरहेका र यस्तै अव्यवस्थाका बीच सञ्चार कार्य भइरहेको देखिन्छ । महत्वअनुसार यस क्षेत्रप्रति सरोकारवालाको ध्यान गएको देखिन्न ।

प्रतिक्रिया दिनुहोस्