कोरानाको तेस्रो लहर



कोरोना संक्रमण छरछिमेकमा उच्च दरमा फैलन थालेको छ । पर्याप्त मात्रामा खोप लगाउन नसक्दा र स्वाथ्य मापदण्ड पालना नगर्दा संक्रमितको संख्या बढ्न थालेको विज्ञहरुको भनाइ छ । भारतमा कोरोना संक्रमण आठ गुणाले बढेको छ । दैनिक करिब ६० हजार संक्रमित थपिनथालेका छन् । त्यसको प्रत्यक्ष असर नेपालमा परेको छ । विगत दुई वर्षमा नेपालमा भएको कोरोना संक्रमणको स्वरुप हेर्दा भारतमा पहिला यसले आक्रमण गरेको र त्यसको दुई हप्तामा हामीकहाँ पनि त्यही बहाब आइपुगेको देखिन्छ । त्यही क्रम यस पटक पनि दोहोरिने सम्भावना छ, तर त्यस अनुसारको तयारी हामीकहाँ देखिन्न ।

स्वाथ्य तथा जनसंख्या मन्त्रालयले स्वाथ्य मापदण्ड पालना गर्न बारम्बार आग्रह गरिरहेको छ । तर प्रदेश र स्थानीय सरकारले त्यसको पूर्ण कार्यान्वयन गर्न सकिरहेका छैनन् । भारतसँंग सीमा जोडिएका मुख्य नाका भैरहवा, नेपालगञ्ज, वीरगञ्ज, विराटनगरलगायतका क्षेत्रमा कोरोना परीक्षण न्यून मात्रामा हुँदा त्यस क्षेत्रमा संक्रमण बढ्न थालेको छ । भारतबाट नेपाल आउने पर्यटकलाई अनिवार्य परीक्षण गर्न नसक्दा संक्रमण उच्च विन्दुमा पुग्ने खतरा छ । सरकारले कोरोना संक्रमण बढ्न नदिन उच्च सतर्कता अपनाउन नखोजेको होइन । तर पालना गर्ने निकाय र जनता आफै सचेत नहुँदा समस्या बढ्दै गएको छ । पछिल्लो तीन महिनाको तथ्यांङ्क हेर्दा बुुधबार सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् । बुधबार १० हजार २ सय ६७ जनामा कोरोना परीक्षण गर्दा ४ सय ३५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । यसरी संक्रमितको संख्या बढ्दै जाने होभने नेपालमा फेरि तेस्रो लहर आउनसक्छ । स्वाथ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संक्रमितको अवस्था लगातार बढिरहे तेस्रो लहर आउनसक्ने चेतावनी दिइसकेको छ । यद्यपि मन्त्रालय र उच्च निकायले यस विषयमा खासै चासो देखाएको पाइँदैन । अहिलेको अवस्था विश्लेषण गर्दा उपत्यकाबाहेक अन्य जिल्लामा मास्कको खासै प्रयोग भएको पाइँदैन । सेनिटाइजर प्रयोग गर्नेको संख्या न्यून छ । वास्तवमा सरकारले सबै नागरिकलाई अनिवार्य रुपमा खोप लगाउने व्यवस्था गर्ने हो भने संक्रमितको संख्या बढ्ने थिएन । मन्त्रालयले दैनिक ५ लाख जनसंख्यालाई खोप लगाउने घोषणा गरेको एक महिना नाघिसकेको छ । तर त्यस कार्यले व्यावहारिक स्वरुप देखाउन सकेको छैन ।

उपत्यकालगायत १२ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहलाई खोप लगाउने काम बन्द छ । दोस्रो डोज लगाइसकेका व्यक्तिलाई अतिरिक्त मात्रा खोप दिने काम रोकिएको छ । घोषणा गरेको अभियान स्थगित भएपछि जनता आक्रोशित हुन थालेका छन् यसरी घोषणा गरेको सबै काम रोकिदै जादा कोभिड नियन्त्रणमा गम्भीर समस्या पर्ने देखिएको छ । दीर्घ र जटिल रोग भएकालाई अतिरिक्त मात्रा खोप दिने घोषणा गरेको २४ घण्टाभित्रै सो निर्णय उल्टिएको छ । पछिल्लो समय ओमिक्रोनका कारण विश्वभर आतंक मच्चिएको छ । त्यसैले सरकारले यस विषयलाई तत्काल कार्यान्वयनमा ल्याउनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्