भगवती लेमिनेट्सले प्लाइउड व्यापारबाट करोडौं राजस्व ठग्दै

‘कच्चा बिल’मा १० करोड ‘पक्का बिल’मा ७ करोड, तर कच्चा नै वास्तविक



काठमाडौं ।

भगवती लेमिनेट्स प्रालिका नामबाट प्लाइउडको व्यापार गर्ने उद्योगले नक्कली बिल बनाएर करोडौं राजस्व छलेको देखिएको छ। वास्तविक कारोबारका लागि ‘कच्चा बिल’ प्रयोग गर्ने र भ्याटका लागि ‘पक्का बिल’ प्रयोग गर्ने गरिएको उद्योगमै कार्यरत पुराना लेखापालले बताएका छन् ।

‘हेर्नुस्, मैले पनि जागिर दिने साहुजीको हितमा काम गर्नैपर्छ, तर अन्डर इनभ्वाइसिङको सिलिङ देखेर सरकारलाई यो परिमाणमा ठग्नुहुन्न भनेर मैले सही कुरा बाहिर ल्याएको हुँ’, मेचीनगर–१०, झापास्थित केन्द्रीय कार्यालयमा विगत लामो समयदेखि सेवा गर्दै आएका उनले भने– ‘यस्तो कुरामा भित्र बसेर साहुजीहरूलाई बोल्न सकिन्न, जागिर चट भइहाल्छ।’ कुनै न कुनै दिन ढिलो चाँडो कर कार्यालयले समात्ने पक्का भएपछि आफूले जागिर छोडेको उनको भनाइ छ ।

लेखापालबाट प्राप्त जानकारीका आधारमा नेपाल समाचारपत्रले पूर्व झापादेखि पश्चिम धनगढीसम्म व्यापार समाल्ने पाँच व्यापारिक प्रतिनिधिसँग बिहीबार सम्पर्क गरी प्राप्त बिल भौचर र बैंकका चेकका बारेमा प्रश्न गर्दा सबैको जबाफ सुरुमा ‘त्यस्तो छैन’ भन्ने रहे पनि प्रमाण देखाएर कुरा गर्दा उनीहरू सबै अनुत्तरित भए। पोखरादेखि सुदूरपश्चिमसम्मको भगवती लेमिनेट्स प्लाइउडको व्यापार हेर्ने मदन ज्ञवाली, विराटनगरदेखि झापासम्मको व्यापार हेर्ने अमित आनन्द, जनकपुरदेखि हेटौंडासम्मको जिम्मेवारी पाएका रूपेश झा, काठमाडौंमा रहेर केन्द्रीय भूमिका निर्वाह गर्ने सुमन भैल र सद्दाम हुसेन सबैले पहिला कच्चा र पक्का बिलको कुरा अस्वीकार गर्नुभयो। तर, नेपाल समाचारपत्रलाई प्राप्त बिल भौचर र चेकका बारेमा प्रश्न गर्दा नाजबाफ हुनुभयो।

‘हेर्नुस् म त बजार हर्ने मान्छे हुँ, बिल काट्ने काम एकाउन्टको हो, यस बारेमा मलाई के थाहा हुन्छ र,’ भलैले भन्नुभयो -‘तपाईंलाई यो जानकारी कसले दियो, मेरो मोबाइल नम्बर कसरी पाउनुभयो, त्यत्ति भनिदिनुस् प्लिज ।’ उहाँलाई मध्यबानेश्वरस्थित विनायक हार्डवेयर एन्ड प्लाइ पसलको सञ्चालक कृष्णबहादुर खुलालसँग भगवती लेमिनेट्सको नाममा चेक नलिई आफ्नो व्यक्तिगत नाममा किन लिनुभयो भनी नेपाल समाचारपत्रले प्रश्न गर्दा उहाँ अनुत्तरित हुनुभयो।

हुसेन अलि बढी नै कडाइका साथ कच्चा र पक्का बिलको कुरा अस्वीकार गर्दै हुनुहुन्थ्यो – ‘यो हुँदै नभएको कुरा तपाईंलाई कसले भन्यो, तपाईंले भन्ने मान्छेको नाम दिनैपर्छ ।’ नेपाल समाचारपत्रलाई प्रमाणसहित प्राप्त जानकारीअनुसार उद्योगले सबैजसो कारोबार अन्डर इनभ्वाइसमै गर्ने गर्दछ। खास गरी यसो गर्नुको अर्थ मूल्य अभिवृद्धि कर (भ्याट) र आयकरबाट बच्नु नै हो। ‘पक्का बिल’ भनिने कम मूल्य राखेर काटिएको बिल सरकारलाई देखाउनका लागि र भित्रभित्रै कारोबार हुने कच्चा बिल वास्तविक कारोबारका लागि हो। यसरी कच्चा बिलको भुक्तानी गर्दा व्यक्तिगत नाममा लिने गरिन्छ।

यो रकम बैंकमा जम्मा गर्दा भौचर स्लिपमा ‘सापटी भुक्तानी’ आदि लेख्ने गरिन्छ। मूल्य न्यून देखाएर भ्याट छल्ने एक प्रकारको विधि हो भने उत्पादित वस्तु नै अर्को उल्लेख गरेर पनि ठगी गरिन्छ। जस्तो, भगवती लेमिनेट्सले ‘ए’, ‘बी’ र ‘सी’ स्तरका प्लाइउड उत्पादन गर्दछ। यसको मूल्य ग्रेडिङका आधारमा निर्धारण गरिन्छ। न्यूनतम प्लाइउड ‘ए’ ‘बी’ ‘सी’ ग्रेडिङको हुन्छ। ग्रेडिङ प्लाइउडको मोटाइमा निर्भर हुन्छ। ‘ए’ ग्रेडको प्लाइ सबैभन्दा राम्रो मानिन्छ र यसको मूल्य अरू ग्रेडभन्दा बढी हुन्छ।

 

भगवती लेमिनेट्सले ‘बी’ ग्रेडिङको प्लाइउडलाई ‘सी’ ग्रेडको मूल्य राखी कर छल्न भ्याट बिल बनाउने गरेको पाइएको छ। ‘उदाहरणका लागि १० लाखको प्लाइउड बेच्दा १ लाख ३० हजार भ्याट दिर्नुपर्छ, तर पक्का बिलमा ७ लाख मात्र देखाउँदा ९१ हजार रुपियाँ तिरे पुग्यो’, लेखापाल भन्छन्– ‘तर पैसा उठाउन चाहिँ ११ लाख ३० हजार नै उठाइन्छ, परिवारका सदस्य, स्टाफ आदिका नाममा सापटी भनेर चेक काटिन्छ।’

कम्पनीले ग्रेडिङ गर्दा थोरै मोटाइको प्लाइलाई ‘ए’ग्रेडको लेबल तथा ब्रान्डिङ गरी बिक्री गरेको र ग्राहकलाई निम्नस्तरको सामान बिक्री गरी उच्च मूल्य असुली भ्याट बिल बनाई राजस्व छली गरेको देखिएको छ। उक्त कुरा पुष्टि गर्न पाँच जना क्षेत्रीय बजार प्रमुखहरूको तीनदेखि पाँच वर्षको बैंक खाता हेरे पुग्छ। नेपालमा नियतवश कर छली गर्ने व्यक्तिविरुद्ध कडा कानुन छ। नक्कली बिल वा अन्डर इनभ्वाइस गरी कर छले ठगिएको रकममा शतप्रतिशत जरिवाना र ६ महिनाको जेल सजाय हुने कानुनी व्यवस्था छ।

भगवती लेमिनेट्सले प्लाइउडको नेप्लाई ब्रान्ड बजारमा विस्तार गरेको छ। ग्रेड ‘ए’नेप्लाई, ‘बी’ ग्रेडमा वन प्लस एक्सेल, फस्ट च्वाइस, स्वाभिमान, स्वराज, स्टिलउड र ‘सी’ ग्रेड पावर जोन नाम दिइएको छ। तर, प्रायः ग्रेड ‘बी’ नेप्लाई बेचे पनि बिलचाहिँ ‘सी’ ग्रेडकै बनाउने पनि लेखापालले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्