शीत लहरका कारण मध्यतराईको जनजीवन कष्टकर



वीरगञ्ज ।

बाक्लो हुस्सु, कुहिरोका कारण तराई मधेसका जिल्लाहरूको जनजीवन प्रभावित हुन थालेको छ । पर्सा, बारासहित तराई मधेसका जिल्लामा गत बुधबारदेखि घाम नै नलागेको र लगातारको बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै गएको छ ।

चिसो बढेपछि धेरैजसो ठाउँमा चोकचोकमा आगो बालेर ताप्ने गरिएको छ । हिउँदे वर्षासँगै मधेसका जिल्लामा लगातारजसो बाक्लो हुस्सु, कुहिरो लागेको छ । चिसोका कारण दैनिक ज्याला मजदुरी गर्ने श्रमिकहरू सबैभन्दा धेरै मर्कामा परेका छन् भने बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या देखिन थालेको छ । चिसोका कारण शहर बजार तथा सार्वजनिक ठाउँमा चहलपहल पनि घटेको छ ।

यसैबीच, चिसो अत्यधिक बढ्दै गएर जनजीवन नै कष्टकर हुन थालेपछि पर्सामा रहेका विभिन्न पालिकाहरूले विद्यालयहरू बन्द गर्न थालेका छन् । पर्साको पोखरिया नगरपालिका, सखुवा प्रसौनी, ठोरी, जीराभवानी र धोबिनी गाउँपालिकामा रहेका विद्यालयहरू बन्द गरिएको हो । पोखरिया नगरपालिका, सुखुवा प्रसौनी गाउँपालिका र ठोरी गाउँपालिकाले पुस २३ गते शुक्रबारसम्म विद्यालयहरू बन्द गरिएको जनाएको छ । जीराभवानी गाउँपालिकाले भने सोमबारदेखि ४ दिनका लागि विद्यालयहरू बन्द गरिसकेको छ ।

यस्तै, धोबिनी गाउँपालिकाले पनि ४ दिनका लागि विद्यालयहरू बन्द गरेको छ । अभिभावकहरूको आग्रहमा शिक्षा समितिको बैठक बसेर मंगलबारदेखि पुस २३ गतेसम्म ४ दिनका लागि विद्यालयहरू बन्द गरिएको धोबिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु साहले जानकारी दिनुभयो ।

यता वीरगञ्ज महानगरपालिकाले एक दुई दिनको मौसमको अवस्था हेरेर विद्यालयहरू बन्द गर्ने कि नगर्ने भन्ने बारेमा निर्णय गर्ने नेपाल शिक्षक महासंघ वीरगञ्ज महानगरका अध्यक्ष विनोद मेहताले जानकारी दिनुभयो । यसैगरी बाराको महागढीमाई नगरपालिका, करईयामाई गाउँपालिका र देवताल गाउँपालिकाले पनि मंगलबारदेखि पुस २३ गतेसम्म ४ दिनका लागि निजी तथा समुदायिक विद्यालयहरू बन्द गरेका छन् । बढ्दो चिसो र शीतलहरले गर्दा स्वास्थ्यमा प्रतिकूल समस्या नपरोस् भन्दै पालिकाहरूले विद्यालयहरू बन्द गरेका हुन् ।

यसैबीच, वीरगञ्ज महानगरपालिकाले भने चिसोबाट बचाउनका लागि विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको र ज्येष्ठ नागरिकहरूका लागि विभिन्न न्यानो कपडालगायतका सामग्री वितरण गर्ने अभियान चलाएको वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्