पाँच कृषक समूहलाई हाते ट्याक्टर वितरण



डोटी, (नेस) ।

डोटीको शिखर नगरपालिकामा रहेका पाँचवटा कृषक समूहलाई हाते ट्याक्टर वितरण गरिएको छ । मानवीय सेवामा अनेकौं प्रयास साइन नेपाल नाम गैरसरकारी संस्थाले नगरपालिकामार्फत कृषक समूहलाई ट्याक्टर वितरण गरेको हो ।

साइन नेपालद्वारा सञ्चालित केयर एन्ड रिलिफ परियोजनाअन्तर्गत कृषकको आयआर्जनमा वृद्धि गर्ने र व्यावसायिक कृषिमा लाग्न प्रेरित गर्ने उद्देश्यले हाते ट्याक्टर वितरण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताउनुभयो । नगरपालिकाको सिफारिसमा भागेश्वर कृषक समूह, रानीढुङ्गा कृषक समूह, तल्लिसैन कृषक समूह, कैलपाल कृषक समूह र डडिया कृषक समूहलाई ती हाते ट्याक्टर उपलब्ध गराएको साइन नेपालका कोषाध्यक्ष मेघराज भट्टले जनाउनुभयो । ट्याक्टर पाएपछि आफूहरुको कामको बोझ घट्ने र आयआर्जनमा बृदी हुने भागेश्वर कृषक समूहका अध्यक्ष राधिका शाहीले बताउनुहुन्छ । ‘गोरुबाट खेती किसानीको काम गर्दा समय बढी लाग्ने र दुःख पनि बढी थियो’, उहाँले भन्नुभयो– ‘हाते ट्याक्टर पाउँदा किसानलाई कामको बोझमा कमी र छिटो छरितो काम हुने छ ।’

समूहगतमा वितरण गरिएका ट्याक्टरको समुदायमा सही सदुपयोग भएमा आवश्यकताअनुसार अझ थप्न सकिने संस्थाले जनाएको छ । उक्त संस्थाले जिल्लामा शिक्षा, स्वास्थ्य, पोषण, आयआर्जन, सीपमूलक तालिमलगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ । यसै गरी उक्त संस्थाले जाडोबाट बचाउनका लागि नगरपालिकामा रहेका विपन्न, एकल महिला तथा वृद्धवृद्धा गरी कम्तीमा पनि ३ सय जनालाई न्यानो कम्मल वितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्