वसन्तका दुई कृति एकसाथ लोकार्पण



उद्योगपति तथा गीतकार एवं कवि वसन्त चौधरीको नेपाली र हिन्दी भाषाका दुई काव्य संग्रह ‘तिमी विनाको म’ र ‘अनेक पल अैँर मे’ राजधानीमा मंगलबार आयोजित एक समारोहबीच एकसाथ लोकार्पण गरिएको छ।

प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, सभापति तुलसी दिवस, आख्यानकार प्रा. भुवन ढुंगाना, मुम्बई विश्व विद्यालय, भारतका हिन्दी विभाग प्रमुख प्रा.डा. करुणा शंकर उपाध्याय, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा लुनकरणदास गंगादेवी साहित्यकला मन्दिरका उपाध्यक्ष्य हरिहर शर्मा, कवि वसन्त चौधरी र ती कृतिकी प्रकाशक मेघा चौधरीले संयुक्तरूपमा पुस्तक लोकार्पण गरेका हुन्।

भारतको उडिसामा आयोजित कलिङ लिटेचर फेस्टिभल २०२१ मा अनेक पल और मेले सर्वश्रेष्ठ काव्य संग्रहको अवार्ड जित्न सफल भए पनि स्वास्थ्य प्रतिकूलताका कारण समारोहमा वसन्त सहभागी हुन नसकेका कारण लुनकरणदास गंगादेवी साहित्य कला मन्दिरकी सदस्य श्वेता दीप्तिले ग्रहण गरेको उक्त अवार्ड सो कार्यक्रममा वसन्तलाई हस्तान्तरण गरेकी थिइन् ।

समारोहमा स्वागत मन्तव्य राख्दै आयोजक साहित्यकला मन्दिरका उपाध्यक्ष्य हरिहर शर्माले मानव जीवनको सुन्दर र आनन्ददयी उपहार नै साहित्य सिर्जना भएको तथा कवि वसन्त चौधरी अन्य कार्यमा भन्दा साहित्य सिर्जनामा बढि रमाउने र उनको पुस्तक भावी पुस्ताका लागि समेत उपयोगी हुने चर्चा गरे। समारोहमा लोकार्पित दुई कृतिहरूको समालोचना गर्ने क्रममा आख्यानकार प्रा. भुवन ढुंगानाले वसन्तका कवितामा प्रकृति, प्रेम र जीवनको मूल उद्देश्य देखेको बताइन्। ‘मानिस धन सम्पत्ति भयो भने खुसी हुन्छ भन्ने विश्वासलाई काट्दै स–साना कुरामा पनि मानिस खुसी हुँदो रहेछ। वसन्त चौधरी साहित्य साधनामा खुसी खोज्ने व्यक्ति हुनुहुँदो रहेछ भन्ने कुरा मैले प्रस्तुत काव्यहरूमार्फत अनुभव गरेँ। उहाँको कविताहरू पढ्दा त्यति व्यस्त मानिसले कसरी कविता लेखेको होला भन्ने कुरा मनमा आयो’ उनले भनिन्– ‘उहाँका कवितामा देश, काल र प्रकृतिको छनक पाएँ। कविता सरल भाषामा भए पनि भाव गहन छन्।’

पु्स्तकको समालोचना गर्दै मुम्बई विश्व विद्यालय, भारतका हिन्दी विभाग प्रमुख प्रा.डा. करुणा शंकर उपाध्यायले चौधरीमा शालीन स्वभावका साथै जीवन र जगत देख्ने अन्तर्दृष्टि रहेको चर्चा गरे। ‘उहाँको कविता पढ्दा जीवन जगतका कुराहरू आत्मसात् गरेर जिन्दगीसँगको मुठभेड, आनन्द, दुःख सुख तथा विभिन्न संवेदना अनुभव गर्न सकिन्छ। अनेक पल और मे काव्य संग्रह भारतका ठूला प्रकाशनमध्येको एक वाणी प्रकाशनमार्फत प्रकाशित भएको पुस्तकमा नेपालको जनजीवन तथा समस्या मात्र नभई भारतको जीवन र समस्याबोध तथा साहित्यबोध गर्दै कविता लेखिएको छ’ निकट भविष्यमा वसन्त चौधरीका कवितामाथि विद्यार्थीहरूलाई पीएचडी गराउने विचार रहेको जनाउँदै उनले भने।

कार्यक्रममा कवि चौधरीले देशको परिस्थिति र स्वास्थ्य प्रतिकूलताका कारण आफ्नो कृति लोकार्पणमा ढिलाइ भएको प्रष्टयाए। ‘मानव मन हरेक क्षण नयाँ–नयाँ कुरा सोच्दछ। मन सोचेर थाक्दैन, न त विश्राम लिन मान्दछ। मनमा आएका र समाज तथा वरिवरिका परिघटनालाई शब्दमा बुन्दै जाँदा कविताको आकार बन्यो। कयौँ सम्बन्धहरू हामीबाट पृथक हुन्छन्, तर हाम्रो जीवन हामीबाट पृथक हुन सक्दैन। तिमी विनाको म केही गुमाएका र केही प्राप्त गरेकाहरूको भावना आकांक्ष्या हो’ चौधरीले कार्यक्रममा भने– ‘ढल्किँदो उमेरमा यो पुस्तक प्रकाशन गरेर उर्जा थपिदिने काम छोरी मेघाले गरेकी छिन्।’ वसन्तले आफ्ना दुई कृतिमा समावेश एक–एक कविता वाचन गरेर सुनाएका थिए।

प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले साहित्यिक धरातल र लेखनको गहिराइमा पुगेर कविता सिर्जना गर्न सक्ने शक्ति वसन्तमा रहेको चर्चा गरे। ‘सिर्जनामा सिद्धहस्त कवि वसन्तले जीवन, प्रेम र प्रकृतिबाट प्राप्त भावनालाई काव्यमा उतारेका छन् र अझै साहित्य सिर्जना गर्ने सम्भावना रहेको छ। उहाँले देशलाई समृद्धि र स्थायित्व प्रदान गर्ने क्षेत्र कला र साहित्यलाई लिएको पाएको छु’ उनले भने। कवि तुलसी दिवसले व्यवसाय गर्ने, जागिर खाने तथा अन्य पेशामा आबद्ध व्यक्तिले साहित्य सिर्जना गरेको सुन्दा अचम्म मान्ने गरे पनि वसन्त उद्योगपति भएर साहित्य सिर्जनामा लागेको कुराले आफूचाहिँ अचम्मित नतुल्याएको बताए।

‘हरेक मानिस जन्मँदै सिर्जनशीलता लिएर आउँछ। तर, उसले आफ्नो सिर्जनशीलतालाई अघि ल्याउँछ ल्याउँदैन भन्ने कुरा अलग हो। थोरै साहित्यिक उद्योगपतिमा वसन्त पनि हुन्। कविको सिर्जना अरूलाई मन पर्नुपर्छ नै भन्ने छैन। तर, कवितामा निजत्व र मौलिकता कायम राखेर आउन सक्नुपर्दछ र कविता लेख्दा कवि इमान्दार हुनुपर्दछ। वसन्तका कविता पढ्दा उनको लेखनमा इमानदारिता देखेँ। काव्य संग्रहको नाम तिमी विनाको म भए पनि त्यहाँभित्र देश विनाको म, समाज विनाको म, प्रकृति विनाको म जस्ता भावहरू भेटेँ। कविले आफ्ना मात्र नभई अरूका बारेमा लेख्नुपर्छ र वसन्तले आफ्ना मात्र नभई अरका बारे पनि लेखेका छन्। उनका कविताको संरचना हेर्दा सबै कुरा माथि नै पढिसकियो तल के छ र होला र भन्ने लागे पनि साचो कुरा क्लाइमेक्सको रूपमा कविताको अन्त्यमा झट्का दिनेगरी प्रस्तुत गरेको पाएँ’ उनको भनाइ थियो।

कार्यक्रममा कृति प्रकाशक मेघा चौधरीले सामान्यरूपमा हेर्दा पिताको पुस्तक छोरीले प्रकाशन गरेको बुझिए पनि साहित्य सिर्जना गर्दा पिताको मुहारमा खुसी देखेकाले त्यसको माध्यम आफौं बन्नका लागि पुस्तक प्रकाशनको जिम्मेवारी लिएको बताइन्। समारोहमा साहित्य मन्दिरका महासचिव तथा कवि विभु घिमिरेले पुस्तक लोकार्पण कार्यक्रममा समारोहमा सानोतिनो नेपाल देखेको र् देशभरका साहित्यकारको प्रतिनिधित्व हुनु भनेको गौरवको विषय रहेको चर्चा गरे। राजेन्द्र सुलभद्वारा सञ्चालित कार्यक्रममा गीतकार तथा कवि चौधरीको साहित्यिक कृतिबारे श्रव्यदृश्य सामग्रीसमेत प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्