लक्ष्यभन्दा ८८ प्रतिशत बढी राजश्व संकलन



रसुवा ।

रसुवागढी भन्सार कार्यालयले मंसिर महिना लक्ष्यभन्दा ८८ बढी प्रतिशत राजश्व सङ्कलन गरेको छ । चीनबाट आयात गरिएका सामान नेपाल भित्रिने क्रम बढेपछि मंसिरमा ठूलो मात्रामा राजश्व उठेको छ । यस महिनामा भन्सार कार्यालयले ५४ करोड ७१ लाख राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, सोचेभन्दा बढी एक अर्ब तीन करोड राजश्व संकलन गरेको छ ।

भन्सार कार्यालयले गत वर्षको मङ्सिरमा ३६ करोड ९८ लाख राजश्व संकलन गरेको थियो । गत वर्षको तुलनामा यो वर्ष ६६ करोड आठ लाख ८९ हजार बढी रहेको छ । रसुवागढी भन्सार कार्यालयले निकासी, पैठारी, महसुल, सेवाशुल्क, कृषि सुधार,अन्तः शुल्क, भ्याट लगायतका शुल्क वापत भन्सार असुली गरिरहेको भन्सार प्रमुख रामप्रसाद मैनाली ले बताउनुभयो ।

कोरोना भाइरसको संक्रमणका कारण चीनसँगको अन्तर्राष्ट्रिय व्यापार प्रभावित भएको दुई वर्ष पुगेको छ । यस असर भन्सार राजश्व संकलनमा पनि देखिएको छ । रसुवा भन्सार कार्यालयले गत वार्षिक लक्ष्यको आधा पनि राजश्व संकलन गर्न सकेको थिएन ।

चीनको केरूङबाट रसुवागढी हुँदै अहिले रेडिमेट कपडा, इलेक्ट्रोनिक लगायतका सामग्री नेपाल भित्रिने गरेको छ । भने नेपालबाट केरूङतर्फ हस्तकलाको सामग्री जाने भए तापनि कोरोना संक्रमण शुरू भए यता चीनले एकतर्फी मात्रै नाका खुल्ला गरेपछि नेपालबाट हुने निर्यात दुई वर्षदेखि ठप्प छ । कोरोनाकै कारण २०७६ साल माघ १५ देखि २०७७ जेठ २२ गतेसम्म बन्द भएको यो नाका चीनले अहिलेसम्म नै एकतर्फी सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्