स्वास्थ्य संस्थामा औषधिको चरम अभाव



मुगु ।

मुगुको सोरू गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा औषधिको चरम अभाव भएको छ । हरेक वर्ष स्थानीय पालिका र संघीय सरकारबाट लाखौंको बजेट विनियोजन भए पनि आधारभूत स्वास्थ्य संस्थादेखि स्वास्थ्य चौकीका गोदामहरु रित्तो छन् ।

अहिले यहाँ सिटामोल, महिलाहरुले प्रयोग गर्ने गर्भनिरोधक अस्थायी साधान पनि पाइँदैन । स्वास्थ्य संस्थामा औषधिको चरम अभाव हुँदा ११ वटा वडाका नागरिक निजी मेडिकलमा चर्को मूल्य तिर्न बाध्य बनेका छन् । यतिसम्म कि यहाँका नागरिक औषधोपचार गर्नकै लागि सदरमुकाम गमगढी बजारसम्म पुग्न बाध्य छन् । स्थानीयका अनुसार कर्मचारीसमेत पालिकाले औषधि उपलब्ध गराउन नसक्दा घाम तापेर दिन बिताइरहेका छन् । उनीहरूले उपचारका लागि स्वास्थ्य संस्थामा पुगेका नागरिकलाई औषधि छैन भनेर निजी मेडिकल र घर फर्काउने गरेका एक स्थानीय नाम उल्लेख नगर्ने सर्तमा बताउनुहुन्छ ।

‘बिरामी हुँदा मेडिकलमा महँगो मूल्य तिरेर उपचार गर्नुपर्ने बाध्यता छ’, सोरू गाउँपालिका–८ का राजबहादुर बम भन्नुहुन्छ– ‘कहिलेकाहीं फेज नेपाल नामका संस्थाबाट सञ्चालन गरिएको स्वास्थ्य शिविरमा उपचार गर्ने गर्छौं ।’ स्वास्थ्य चौकी नार्थपुका अहेब टीकाराज आर्याल भने गाउँपालिकाबाट आउने औषधि गर्त वर्ष ३ महिनासम्म नआएको बताउनुहुन्छ । यो वर्ष पनि कुनै पालिकाबाट औषधि नआएको उहाँको भनाइ छ । ‘हिजोआज सिटामोल पनि छैन’, अहेब आर्याल भन्नुहुन्छ– ‘बिरामी आउन्छन् तर औषधि छैन । धेरैपटक पालिकासँग माग गरिसकेका छौं । औषधि नै आउँदैन ।’

सोरू गाउँपालिका स्वास्थ्य शाखाका अनुसार आर्थिक वर्ष २०७७–७८ मा खरिद गरिएको औषधिले अहिलेसम्म काम चलेको तर आव २०७८–८९ को औषधि खरिद गर्नका लागि पालिकाबाट बजेट विनियोजन गरेको भए तापनि प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भएकाले समस्या आएको छ । औषधि खरिद नहुँदा पालिकाभित्र औषधि अभाव भएको स्वास्थ्य संयोजक कर्णबहादुर सावत पनि स्वीकार गर्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्