गणतन्त्रका धमिरा



गणतन्त्र स्थापनापछि मुलुकले कोल्टे फेर्ने अनुमान आम नेपालीले गरेका थिए । तर मुलुकमा जारी अस्थिर राजनीतिले सबैलाई निराश बनाइदिएको छ । राजतन्त्रविरुद्ध सडकमा उत्रिएका आम नेपाली आज फेरि हिजोको आन्दोलन किन र कसका लागि भनेर प्रश्न गर्न थालेका छन् । हिजो राजतन्त्रविरुद्ध नारा लगाउनेहरु आज राजतन्त्र नै ठिक थियो कि भन्ने बहस गर्न थालेका छन् तर राजनीतिक दलका नेता भने आफ्नै डम्फु बजाउन व्यस्त देखिन्छन् । एक दशक नपुग्दै गणतन्त्रविरुद्ध सडकमा चर्का नारा लाग्न थालेका छन् । अनौपचारिक र औपचारिक रुपमा नेता र राजाको तुलना गर्दै बरु राजतन्त्र नै ठीक भन्ने बोली धेरैको मुखबाट सुनिन थालेको छ । राजनीतिक दलका नेतासँग अलि बढी नै अपेक्षा भएकाले त्यो पूरा नभएको झोकमा मात्र जनताले नेताभन्दा राजा ठीक भनेका हुनपनि सक्छन्, तर दलका नेताले आफूलाई समीक्षा नगर्ने तर राजतन्त्रको कुरा गर्नेलाई ‘लौ त हेरौं’ भन्ने तरिकाले धम्कीपूर्ण भाषामा चुनौती दिने कार्यलाई ठीक भन्नसकिन्न ।

राजनीतिक दलका नेताहरु नातावाद, कृपावाद, आर्थिक प्रलोभनमा लिप्त हुन थालेपछि यस्ता आवाज बुलन्द बन्दै गएको सत्य कसैबाट छिपेको छैन । मुलुक निर्माणको परिदृश्य नेताहरुमा नहुनु र एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्नुले मुलुक थप अस्थिरतातर्फ धकेलिदै गएको छ । नेतामा नैतिकता हराउँदै जानु, कर्मचारीतन्त्र अराजक बन्दै जानु नागरिक समाज प्रभावहीन बन्नुजस्ता कारणले जनतामा नैरास्यतासँगै विद्रोहको भावनासमेत बिस्तारै पलाउँदै गएको देखिन्छ । यसले कतै गणतन्त्रलाई नै विनास गर्ने त होइन भन्ने चिन्ता एकातिर देखिएको छ भने अर्कोतर्फ राजतन्त्रको नारा लगाउदै हिड्ने बजारियाहरुलाई मलजल पुगेको छ । अहिले दक्षिणपन्थ र उग्रवामपन्थ मुलुकमा हावी भएको छ । नेपाली राजनीतिमा देखिएको यसखाले अराजक अवस्थाले मुलुकलाई कहाँ पुर्याउला यसै भन्नसक्ने अवस्था छैन । राजनीति गर्नेहरुको अवस्था हेर्ने हो भने उनीहरु सुध्रने अवस्थामा छैनन् । हिजो एक भएका शक्तिहरु देशी–विदेशी कारणले छिन्नभिन्न भएका छन् । मुलुकमा सुशुप्त रुपमा रहेको अर्को शक्ति भने समय कुरेर बसेको छ । यसले मुलुकमा फेरि अर्को अस्थिरता त जन्मने होइन भन्ने त्रास बढाएको छ । कुनै पनि राजनीतिक दलमा सम्भावना बोकेका नेता जन्मन नसक्नु मुलुकका लागि दुर्भाग्य नै मान्नुपर्दछ । राजा महेन्द्र, नेताद्वय विपी कोइराला र मदन भण्डारीपछि दूरदर्शी राजनेता मुलुकले पाएन ।

विशेष क्षमताका नेता नहुनु ठूलो विषय होइन, ठूलो विषय हो मुलुकका लागि केही गर्ने सकारात्मक चिन्तनको अभाव । जन्मसिद्ध आर्जन हुने क्षमता भएन भनेर नेतालाई गाली गर्न नसकिएला तर गुटगत र नातावादको राजनीति तथा द्रव्यको लोभ छोड त भन्न सकिन्छ । अहिलेका नेताले जनभावना बुझेर समयमा नै आफूलाई सच्याउन सकेनन् भने गणतन्त्र जागोउने जनता पाउन मुस्किल पर्नेछ । समय गएपछि झल्यास्स हुनुभन्दा पहिले नै मुलुक निर्माणका लागि दलका नेताहरु एक ठाउंँमा आउनुको विकल्प देखिंदैन । नेतालाई गणतन्त्रका धमिरा भन्न कसैलाई मन छैन, तर उनीहरुले नै बाध्य बनाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्