अमदेवीले गरिन् बुबाको दाहसंस्कार



मुगु ।

कर्णालीमा सम्भवतः पहिलोपटक छोरीले बुबाको दाहसंस्कार गरेकी छन् । छायाँनाथ रारा नगरपालिका–५ की १७ वर्षीया अमदेवी बुढाले शनिबार आफ्नो बुबा ज्ञानबहादुर बुढालाई दागबत्ती दिएकी हुन् । दाहसंस्कारपछि स्थानीयले कर्णालीकै सर्वश्रेष्ठ छोरीका रूपमा उनको चर्चा गरेका छन् । हिन्दू परम्परामा छोरा (पुरुष) ले दागबत्ती दिने प्रचलन भए पनि अमदेवीले बुबालाई दागवत्ती दिएकी हुन् । उनका दाजुभाइ पनि छन् ।

स्वर्गीय ज्ञानबहादुरका जेठा छोरा वीरेन्द्र र कान्छा छोरा महेन्द्रले बहिनीलाई पनि छोरासरहको अधिकार रहेको भन्दै दागबत्ती दिन स्वीकृति दिएका थिए । ‘बहिनीले हामी छोरासरहको अधिकार पाउनुपर्छ/दिनुपर्छ भन्ने उद्देश्यले हामी दुई भाइको सल्लाहबमोजिम बहिनीकै हातबाट बुबाको दाहसंस्कार गरेका हौं ।’ –वीरेन्द्रको भनाइ छ ।

दाजुभाइ नभएका महिलाले पनि दाहसंस्कार गर्न सक्छन् भनेर समाजलाई जानकारी दिन आफूले यस्तो गरेको अमदेवी बताउनुहुन्छ । ‘म एक नारी हुँ, घरकी कान्छी छोरी पनि हुँ । ग्रामीण प्रचलनअनुसार छोराले मात्र दमहसंस्कार गर्नुपर्छ भन्ने चलन रही आएको छ । यो प्रचलनलाई नयाँ स्वरूपमा ढाल्न खोजेको हुँ’ उहाँ भन्नुहुन्छ– ‘यदि कसैका छोरा नभएर छोरीमात्र भए पनि बुबाको दाहसंस्कार गर्न सक्छन् भनेर यो कार्य गरेकी हुँ ।’

काठमाडौंमा बसेर अध्ययन गर्दै आएकी अमदेवीले आफू पनि दाहसंस्कारमा उपस्थित हुने भन्दै एक दिन शव जलाउन रोकेकी थिइन् । दोस्रो दिन शनिबार आर्यघाट पुगेर दिउँसो १२ बजे बुबालाई उहाँले दागबत्ती दिनुभएको हो । बुबाको दाहसंस्कार म गर्छु भनेकाले उनलाई नरोकेको मृतकका भाइ टोपबहादुर बुढा बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्