सुदूपश्चिममा ‘ठूलीरात’ मनाइयो



बैतडी ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने मान्यताका साथ सुदूरपश्चिममा ‘ठूलीरात’ तथा ‘पुसे १५’ का रूपमा धूमधामसँग मनाइएको छ । यो रात सबैभन्दा लामो हुने भएकाले ठूलीरात मानी राति मीठो–मीठो खानेकुरा खाएर रमाइलो गरेर जाग्राम बस्ने, डेउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाइधुवाई गर्ने चलन रहेको संस्कृतिका जानकार जयानन्द भट्टले बताउनुभयो । ‘रातभर दन्त्ये कथा, कहानी (स्थानीय भाषामा आइना, बातै) सुन्ने र सुनाउने तथा तरुल सखरखन्डा पकाएर खाने गरिन्छ ।’ –उहाँले भन्नुभयो ।

पन्नरी रातका रूपमा समेत मनाइने यो पर्वमा १५ किसिमका परिकार खाने गरिन्छ । तेल अथवा घिउमा तारेर पकाइएका खानेकुरा अथवा घिउ हालेको भात खाने गरिन्छ । तिहारमा भैली खेलेर जम्मा भएको रकमबाट यही दिन ‘कुन्क्यौलो’ (वनभोज) खाने गरिन्छ । पुस १५ को आसपास सबैभन्दा चिसो समय हुने भएकाले चिसोबाट बच्न र शरीरसमेत फुर्तिलो हुने भएकाले चिल्लो पदार्थ हालेका तातो खानेकुरा खाने गरिएको पण्डित दयाकृष्ण पन्तको भनाइ छ । एक दिन भए पनि घरबाहिर पकाएर खानुपर्ने मान्यताका कारण परिवारका सबै सदस्य वनभोज जाने र मीठामीठा खानेकुरा खाने चलन रहीआएको छ ।

यस पर्वमा विवाहित छोरीबेटीलाई पनि घरमा आमन्त्रण गरी भव्यरूपमा स्वागत सत्कार गर्ने गरिन्छ । विशेष गरी रातमा नसुतेर यो पर्व मनाउने परम्परा रहे पनि बदलिँदो परिवेशमा यसको खास महत्व दर्शाउने गरी मनाउने परम्परा भने हराउँदै जान थालेको छ । डिसेम्बर २२ तारिखलाई विश्वभर नै सबैभन्दा छोटो दिन भनिए पनि यहाँ भने पुस १५ लाई छोटो दिन मान्ने गरिन्छ । आजदेखि दिनहरु विस्तारै लम्बिँदै जाने र असार १५ मा वर्षकै ठूलो दिन मानिन्छ । भारतमा पुस १५ लाई लोहरी पर्वका रुपमा मनाइने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्