मौसमको मान



आज पुस १५ । चिसोका कारण परिचित दिन । चिसो यामका ५० दिनलाई लिएर ‘मीन पचास’ भन्दै विद्यालयहरू बन्द गर्ने प्रचलन पनि थियो । अहिले पनि राजधानीका विद्यालयहरू सीमित समयका लागि भए पनि जाडोमा बन्द हुन्छन् । चिसोका कारण विद्यालय चल्ने अवस्था नभएका कारण बन्दाबन्दी स्वाभाविक पनि छ । पछिल्लो केही समयदेखि मुलुकभर चिसो ह्वात्तै बढेको छ । यसै पनि पुस चिसो हुने नै बेला हो, त्यसमाथि पानीसमेत परेका कारण मान्छेको स्वास्थ्यमै असर परेको छ । मौसमको मान गर्दै शरीरलाई न्यानो
बनाएर राख्न नसक्नेहरू यतिखेर बिरामी पर्ने सम्भावना बढेको छ ।

मंगलबार रातिदेखि हिमपातसहित परेको पानीका कारण हिमाली जिल्लाका साथै उच्च पाहाडी क्षेत्रको जनजीवन प्रभावित भएको छ । देशको अधिकांश ठाउँमा भएको वर्षासंगै बढेको अत्यधिक चिसोका कारण जनजीवन कष्टकर बनिरहेको छ । पुस–माघको जाडोमा हिमपात र वर्षा थपिएपछि बालबालिका र बुढापाका मात्र हैन, तन्नेरीहरू पनि चिसोले कठ्यांग्रिन थालेका छन् । मानिस मात्र हैन चौपायहरू पनि चिसोले प्रभावित छन् । पश्चिमी न्यूनचापीय वायुप्रणालीको प्रभावले हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । वर्षा र हिमपात अझै एक–दुई दिन जारी रहने अनुमान छ । पानी रोकिएर बादल हटेपछि तापक्रम अझ घट्ने निश्चित छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा परेको हिमपात र देशभरको वर्षाका कारण तराईका जिल्लाहरूमा पनि चिसो बढेको छ । अब वर्षा रोकिएपछि तराई क्षेत्रमा शीतलहरको सम्भावना बढ्नेछ । सर्वविदित छ, चिसो मौसमले गरिबलाई बढी दुःख दिन्छ । शहर–बजार क्षेत्रमा तातोका लागि आधुनिक उपकरणहरूको प्रयोग हुने भए पनि यो महंगो छ, सबैको पहुँचमा छैन । चिसोबाट बच्ने उपाय भनेको तातो लुगा लगाउने, तातो झोलिलो पदार्थ बढी खाने, आगो ताप्ने नै हो । पशु चौपायाहरूलाई पनि चिसोबाट जोगाउन तातो खोले खुवाउने, गोठ सफा गर्ने, मलमूत्रले नभिज्नेगरी राख्ने हो । दमको रोगीहरूलाई चिसोले अझ बढी सताउने भएकोले विशेष ख्याल पुर्याउनुपर्छ ।

दमका रोगी आगो ताप्दा धुवाँबाट जोगिनुपर्छ । बालबालिकाका लागि अभिभावकहरूले न्यानो कपडा लगाइदिने, बेलाबेला आगोमा सेकाइदिनेजस्ता कार्य गरेर पनि चिसोबाट बच्न सकिन्छ । हिमपातका कारण यातायात, सडक, सञ्चारजस्ता अति आवश्यक वस्तुहरू अवरुद्ध भएका खबरहरू आइरहेका छन् । राज्य संयन्त्रले यस कुरामा विशेष चासो दिएर अवरोध हटाउने उपाय खोजी गर्दै कार्य अघि बढाइहाल्नु पर्छ । चिसोका कारण विद्यालयमा अध्यय–अध्यापन पनि प्रभावित भएको छ । स्थानीय सरकारले चिसो प्रभावितहरूप्रति
विशेष ध्यान पुर्याउनु पर्छ । आम जनजीवन कष्टकर भए पनि आकाशे पानीको भरमा खेती गर्ने किसानहरूका लागि भने हिमपात र वर्षा फाइदाजनक नै रहेको बताइन्छ । मौसम सामान्यतः हाम्रो हातको कुरा होइन । यसलाई स्वागत गर्नु र यसअनुकूल आफूलाई ढाल्नु नै बुद्धिमानीको विषय हुन्छ । यस्तो बेला सम्पन्नले विपन्नलाई सहयोग गर्ने र सुरक्षित रहन सघाउने कार्य गर्नु मानवधर्म पनि हो । यस कार्यलाई मौसमको सम्मान पनि भन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्