निर्यातभन्दा आयात ८ गुणा अधिक



काठमाडौं ।

चालु आर्थिक वर्षको पहिलो पाँच महिनासम्ममा निर्यातभन्दा आयात ८ गुणा अधिक रहेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको सूचनाअनुसार कुल ८ खर्ब ३८ अर्ब बराबरको वस्तु आयात भएकोमा निर्यात १ खर्ब २ अर्बमै सीमित हुँदा निर्यातभन्दा आयात ठूलो परिमाणमा बढेको हो । यस अनुपातमा अधिक वस्तु आयात हुँदा व्यापार घाटा ७ खर्ब ३५ अर्ब चुलिएको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार अघिल्लो वर्ष पहिलो ५ महिनामा ५ खर्ब २५ अर्ब बराबरको वस्तु आयात हुँदा निर्यात ५० अर्ब ५ करोड बराबरको वस्तु मात्र निर्यात भएको थियो । यसरी अघिल्लो वर्षको तुलनामा, आयात ५९ प्रतिशत र निर्यात १०५ प्रतिशतले वृद्धि भएको हो । यसअनुसार पछिल्लो ५ महिनामा कुल ९ खर्ब ४१ अर्ब बराबरको वैदेशिक व्यापार भएको छ ।

यस अवधिमा कुल १ सय ४४ मुलुकहरूसँग वैदेशिक व्यापार भएकोमा २१ वटा देशसँगको व्यापार मात्र नाफामा रहेको छ । सर्वाधिक कारोबार हुनेगरेको छिमेकी मुलुक भारतबाट ५ खर्ब बराबरको वस्तुहरू आयात भएकोमा निर्यात भने ८४ अर्ब बराबरमै सीमित भई भारतसंगको व्यापार घाटा ४ खर्ब १६ अर्ब पुगेको छ । त्यस्तै उत्तरको छिमेकी चीनवाट सोही अवधिमा १ खर्ब २२ अर्ब १९ करोड बराबरको वस्तु आयात भएकोमा ३८ करोड १६ लाख बराबरको वस्तु मात्र निर्यात भई व्यापारमा १ खर्ब २१ घाटा बेहोर्नु परेको छ ।

वैदेशिक व्यापार मुलुकका २४ नाकाबाट हुने गरेकोमा सबैभन्दा अधिक कारोबार, आयात ३४.५९ प्रतिशत र निर्यात ४८.०१ प्रतिशत, वीरगञ्ज नाकाबाट भएको छ । वीरगञ्ज नाकाबाट २ खर्ब ९० अर्ब बराबरको आयात हुँदा ४९ अर्ब ४१ करोड बराबरको निर्यात भएको हो ।

आयात व्यापार भैरहवा नाकाबाट १६.२८ प्रतिशत, त्रिभुवन विमान स्थलबाट १२.५३ प्रतिशत हुँदा ठाँडी नाकावाट भने शून्य दशलब १ प्रतिशत मात्र भएको छ । त्यस्तै, भैरहवा नाकाबाट २७.७६ प्रतिशत, त्रिभुबवन विमानस्थलबाट १४.१ प्रतिशत हुँदा तातोपानी, भद्रपुर नाकाबाट कुनै वस्तु निर्यात भएको छैन । यसरी पछिल्लो ५ महिनामा आयात व्यापारबाट २ खर्ब १७ अर्ब बराबरको राजस्व असुली भएकोमा सबैभन्दा अधिक अर्थात् ५१ अर्ब २६ करोड बरावरको राजस्व सवारीसाधन, सवारी साधनका पाठपपुर्जा र अन्य उपभोग्य सामग्रीबाट प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्