माओवादी महाधिवेशन : ११ वटा समूहको प्रस्तुति सकियो



काठमाडौं, (नेस) ।

नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनअन्तर्गत आगामी कार्यदिशा तय गर्न भइरहेको छलफलमा ११ वटा समूहका समूह नेताले छलफलमा आएको निष्कर्ष प्रस्तुत गरेका छन् । २५ वटा समूहमध्ये ११ वटा समूहले समूहमा आएका सुझाव र विचारलाई समावेश गरेर निष्कर्ष प्रस्तुत गरेका हुन् ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा चलिरहेको समूहगत छलफल आज (बिहीबार) सम्मका लागि स्थगित गरिएको नेता हरिबोल गजुरेलले बताउनुभयो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट प्रस्तुत २१औं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङबाट प्रस्तुत विधान मस्यौदामाथि भएको समूहगत छलफलको निष्कर्ष समूह संयोजकहरुले प्रस्तुत गरेका छन् । राजनीतिक दस्तावेज र विधान मस्यौदामाथि छलफल गर्न प्रतिनिधिलाई २५ वटा समूहमा विभाजित गरेर मंगलबार बिहानदेखि बुधबार बिहान १२ सम्मको समय छुट्याइएको थियो ।

सल्लाहकार समूहको तर्फबाट रामनारायण बिडारी, प्रदेश नं. २ बाट सत्यनारायण भगत, आयोगको तर्फबाट टंक राई, गण्डकी प्रदेशबाट गायत्री गुरुङ, प्रदेश नं. १ बाट अजम्बर काम्वाङ राई र हर्कबहादुर नेम्वाङ, प्रवास समन्वय समितिबाट मनऋषि धिताल, वागमती प्रदेशबाट सरल सहयात्री, केन्द्रीय विभागबाट गीता पनेरू, सुदूरपश्चिम प्रदेशबाट मीनबहादुर कुँवर र कर्णाली प्रदेशबाट विमला केसीले समूहको निष्कर्ष प्रस्तुत गर्नुभएको थियो ।

महाधिवेशनको पाँचौं दिन पुस १५ गते बिहीबार बिहान ११ बजेदेखि बन्द सत्र चालु हुनेछ । बाँकी रहेका समूहले बन्द सत्रमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गरेपछि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्