मूल्य निर्धारण नहुँदै धमाधम उखु काट्दै कृषक



सर्लाही ।

सर्लाहीमा उखुको मूल्य निर्धारण नहुँदै किसानले धमाधम उखु काट्न थालेका छन् । पुसको आधाआधी बितिसकेको र धेरै किसानको उखु खेतमा सुक्न थालेकाले किसानले धमाधम उखु काट्न थालेका हुन् ।

खेतमा भएको उखु निकालेर हिउँदे बाली लगाउन ढिलो भइसकेकाले पनि मूल्य निर्धारण नहुँदै उखु काट्न कृषक बाध्य छन् । ‘हिउँदे बाली लगाउन ढिलो भइसक्यो, सरकारले कहिले भाउ तोक्छ थाहा छैन’, हरिपुरका उखु किसान विनोद साह भन्नुहुन्छ– ‘मूल्य निर्धारण हुन्छ अनि उखु काटौंला भनेर कुरेर बस्ने समय हामीलाई छैन ।’

उखु बिक्री गरेर गहुँ बाली लगाउन ढिलो भइसकेकाले सस्तै मूल्यमा भए पनि उखु काटेर मिलमा बिक्री गर्न लागेका किसानको भनाइ छ । गत वर्ष सरकारले उखुको प्रतिक्विन्टल मूल्य ५ सय ३६ रुपियाँ ५६ पैसा कायम गरेको थियो । त्यसमा उद्योगीले ४ सय ७१ रुपियाँ २८ पैसा र सरकारले उखु किसानलाई अनुदानस्वरूप ६५ रुपियाँ २८ पैसा भुक्तानी गरेको थियो ।
तर, सरकारले उखुको समर्थ बिक्री मूल्य निर्धारण नगरेसम्म हतार गरेर किसानले उखु काट्न नहुने नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनाली बताउनुहुन्छ ।

राजधानीमा केही दिनअघि भएको त्रिपक्षीय छलफल बिनानिष्कर्ष टुंगिएपछि अहिलेसम्म उखुको मूल्य निर्धारण हुन नसकेको उहाँको भनाइ छ । किसानले यस क्रसिङ सिजनका लागि उखुको मूल्य न्यूनतम प्रतिक्विन्टल ६ सय ८० रुपियाँ पाउनुपर्ने भए पनि तत्कालका लागि ६ सय ४० रुपियाँ मूल्य कायम गरेर उद्योग सञ्चालन गर्न सुझाव दिएको अध्यक्ष मैनालीले बताउनुभयो ।

यता, उद्योगीले भने सरकारले पछि निर्धारण गरेको मूल्यमा उखु किसानलाई भुक्तानी गर्ने गरी उखु क्रसिङको तयारी थालेको छ । उखुको मूल्यमा सहमति जुट्न नसकेपछि चिनी कारखानाले यसै साताबाट उखु क्रसिङ गर्ने गरी किसानलाई धमाधम उखु ल्याउने चलान पुर्जी वितरण गर्न थालिसकेको छ । यसरी मूल्य निर्धारण हुनुअघि नै उखु बिक्री गर्दा किसानलाई भुक्तानीमा समस्या पर्ने उखु किसानका अगुवा राजकुमार उप्रेती बताउनुहुन्छ ।

विभिन्न उखु किसान सम्बद्ध संघ–संगठनले भने यस क्रसिङ सिजनका लागि उखुको मूल्य प्रतिक्विन्टल ६ सय ८० रुपियाँभन्दा माथि हुनुपर्ने, त्योभन्दा कम मूल्यमा सहमति गर्न नसकिने बताएका छन् । मूल्य निर्धारण नभएर समयमा चिनी उद्योग सञ्चालन नहुँदा धेरै किसानको तीन वर्षदेखिको खुट्टी उखु बिक्री गर्न सकेका छैन । सर्लाहीमा उत्पादन भएको उखु जिल्लामा रहेका दुईवटा चिनी कारखाना इन्दुशंकर चिनी कारखाना हरिवन, महालक्ष्मी सुगर मिल बगदहले क्रसिङ गर्दै आएको छ । सर्लाहीमा नै रहेको अन्नपूर्ण सुगर मिल धनकौलले किसानलाई दुई वर्षदेखिको भुक्तानी गर्न नसकेका कारण बन्द रहेको छ ।

प्रतिक्रिया दिनुहोस्