१५ करोड घोटालाको आरोपमा सप्तकोशी बैंकका सीईओ पक्राउ



विराटनगर ।

१५ करोडभन्दा बढी रकम घोटाला गरेको आरोपमा सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत नवीन सुवेदी पक्राउ परेका छन् । बैंकको रेमिटेन्सको १५ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा सीईओ सुवेदीलाई बुधबार साँझ मोरङ प्रहरीले पक्राउ गरेको हो ।

बैंकबाट गायव रकममध्ये अधिकांश रकम प्रमुख कार्यकारी अधिकृतकै आफन्तको खातामा जम्मा भएको पाइएपछि उनी पक्राउ परेका हुन् । धनकुटा प्रधान कार्यालय भएको सप्तकोशी डेभलपमेन्ट बैंकको कर्पोरेट कार्यालय विराटनगरमा छ । त्यही कर्पोरेट कार्यालयबाट रेमिट्यान्सको १५ करोड ७० लाख रुपियाँ हिनामिना भएको खुलेको थियो । यति ठूलो रकम पछिल्लो ६ वर्षयता हिनामिना हुँदा बैंक बेखबरजस्तै देखिनु र प्रमुख कार्यकारी अधिकृतकै आफन्तको खातामा अधिकांश पैसा ‘ट्रान्सफर’ भएको देखिनुले यो प्रकरणमा सीईओलगायतका उच्च अधिकारीहरू शंकाको घेरामा परेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

‘घटनाको अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको छ’ –मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले भन्नुभयो । बैंकको रेमिट शाखाबाट भएको यो हिनामिनामा बबिता सुवेदीको नाममा मात्रै १४ करोडभन्दा बढी रकम ‘ट्रान्सफर’ भएको नेपाल राष्ट्र बैंकमा परेको उजुरीमा उल्लेख छ । बबिता सीईओ नवीन सुवेदीकी नातेदार हु्न् । उजुरीका अनुसार सन् २०१६ देखि २०२१ अगस्ट २ तारिखसम्ममा बबिताको नाममा रहेको प्राइम बैंकको खाता नं ९९९००००१५००१५ बाट १४ करोड गैरकानुनी ढंगबाट निकालिएको छ ।
बविताको नाममा फर्जी खाता सीईओ सुवेदी र हाल प्रहरी नियन्त्रणमा रहेका रेमिट शाखा प्रमुख हिमाल भट्टराईले बनाएको आरोप लागेको छ । रेमिट शाखाका प्रमुख भट्टराई पनि सीईओ सुवेदीका नातेदार हुन् । भट्टराई उनका फुपूका छोरा हुन् । हिनामिना भएको रकममध्ये धेरै बविताको खातामा र हिमाल भट्टराईको विभिन्न पाँचवटा बैंकको खातामा १ करोड रुपियाँ जम्मा भएको राष्ट्र बैंकमा परेको उजुरीमा उल्लेख छ ।

यसै गरी सीईओ सुवेदीकी भाउजू भगवती सुवेदी, सालो साजन पोखरेल, जेठी सासू बानी पोखरेललगायतको खातामा रकम पठाएको दाबी उजुरीमा गरिएको छ । ‘उक्त खाता पनि अरू नै व्यक्तिबाट सञ्चालन गरी कारोबार भएकाले सूक्ष्म अनुसन्धान गरिनुपर्ने देखिन्छ,’ उजुरीमा भनिएको छ । पछिल्लो ६ वर्षयता फर्जी कारोबारको कागजात बनाएर रेमिट्यान्सको यति ठूलो रकम हिनामिना भएको हो ।

यही प्रकरणमा बैंकको कर्पोरेट कार्यालयका जनरल सर्भिस डिपार्टमेन्ट प्रमुख हिमाल भट्टराईलाई जिल्ला प्रहरी मोरङले नियन्त्रणमा लिएर यसबारे अनुसन्धान गरिरहेको छ । प्रदेश १ को ७ जिल्लामा ३६ वटा शाखा कार्यालय रहेको सप्तकोशी बैंकको ४ अर्ब ३० करोड रुपियाँ निक्षेप छ । साविकको काबेली विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक मर्जरमा गएर हाल सप्तकोशी डेभलपमेन्ट बैंक लि नामबाट बित्तीय कारोबार गरिरहेको यो बैंक नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘ख’वर्गको बित्तीय संस्था हो । बैंकका निक्षेपकर्ता तथा लगानीकर्ताको रकममा कुनै आँच नआउने अध्यक्ष अर्जुन बरालले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्