आजबाट मौसममा सुधार हुने तर जाडो बढ्ने



काठमाडौं ।

हिउँदे वर्षाका कारण देशभर नै पानी परेर जनजीवन कष्टकर बनिरहेको बेलामा काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा आज बिहीबारबाट मौसममा सुधार आउने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानबाट उपत्यकाको मौसममा क्रमिक सुधार आई घाम लाग्न सक्ने देखिएको छ । मौसम विभागका मौसमविद् मञ्जु बासीका अनुसार आज काठमाडौंमा पानी पर्ने सम्भावना निकै कम छ तर जाडो भने बढ्नेछ । बुधबार काठमाडौंको अधिकतम तापक्रम ८ डिग्री सेल्सियसमा झरे तापनि केही दिनयता आकाश बादलले ढाकेका कारण न्यूनतम तापक्रम ७ दशमलव ७ रहेकाले दिनभरि पानी परे पनि धेरै जाडो भने महसुस नभएको हो । तर, बुधबार दिनभरि घाम नलागेका कारण बिहीबार भने तुलनात्मक रूपमा जाडो बढ्नेछ । त्यसैले पानी नपरे तापनि बालबालिका तथा ज्येष्ठ नागरिक सकेसम्म घरभित्रै बस्न स्वास्थ्यविद्हरूको सुझाव छ ।

मौसम विभागका अनुसार पश्चिमी वायु पूर्व सर्ने क्रममा रहेकाले मंगलबार रातिदेखि देशका विभिन्न भागमा हिउँदे वर्षा शुरू हुनुका साथै उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपातसमेत भएको छ । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा बुधबार दिनभरि अविरल पानी पर्नुका साथै उपत्यकाका अग्ला पहाड फुल्चोकी, शिवपुरी र चन्द्रागिरिमा हिमपात समेत भएको थियो । मौसम विभागका अनुसार बुधबार बिहान काठमाडौंमा सबैभन्दा बढी वर्षा भएको थियो ।

बुधबार देशभरि नै वर्षा भएकोमा बिहीबारदेखि उपत्यका र तराई क्षेत्रमा मौसम सुधार हुने तर पहाडी क्षेत्रमा भने सामान्य बद्ली भई थोरै स्थानमा पानी पर्ने मौसम विभागले जनाएको छ । त्यस्तै उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा भने अझै हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको बताइएको छ । कर्णालीको मुगु, हुम्ला, जुम्ला, डोल्पालगायतका जिल्लामा हिमपातका कारण जनजीवन कष्टकर बनेको छ । दार्चुलाको लेकाली बस्तीका साथै हुम्लाको सिमकोटसहित माथिल्लो क्षेत्र र सुदूर पश्चिमको उच्च लेकाली भेगमा मंगलबार रातीदेखि नै वर्षासँगै भारी हिमपात भएको थियो । त्यस्तै, उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाअन्तगर्तका हिमाल छेउका बस्तीहरू मंगलबार रातिदेखि लगातार परेको हिउँले सेताम्मे भएर ढाकिएको छ । रसुवाको हिमाली भेगमा बुधबार बिहानदेखि नै वर्षासँगै बाक्लो हिमपात भएको थियो । मौसम विभागले यी सबै भूभागमा क्रमिक रूपमा मौसममा सुधार हुने जनाएको छ ।

वर्षाका कारण काठमाडौंबाट लुक्ला, पोखरा, नेपालगञ्ज, विराटनगरजस्ता अत्यधिक उडान हुने ठाउँका हवाई उडान रोकिएका छन् । उता मुगु र हुम्लाको विमानस्थलमा बाक्लो हिउँ जमेका कारण उडान प्रभावित भएको छ । त्यस्तै वर्षा र हिमपातका कारण उच्च पहाडी र हिमाली भूभागमा सडक यातायातसमेत अवरुद्ध भएको छ ।

पहिलो हिमपात
उत्तरी मकवानपुरको पर्यटकीय क्षेत्र थाहा नगरपालिकाको सीमभञ्याङ र दामन क्षेत्रमा मंगलबार रातिदेखि निरन्तर परेको हिमपातले वरपरका अग्ला डाँडाहरू सेताम्मे भएका छन् । हरेक वर्षजसो हिमपात हुने उक्त क्षेत्रमा यस वर्षको हिउँदमा बुधबार पहिलोपटक हिउँ परेको हो । हिमपातका कारण त्रिभुवन राजपथको पालुङ–अघोर खण्डको झण्डै १० किलोमिटर सडकमा हिउँ जमेको छ । सडकमा हिउँ जमेका कारण उक्त सडक भएर चल्ने सवारीहरू बीचमै रोकिएका छन् भने हेटौंडा–काठमाडौं जोड्ने पुरानो सडकमार्ग त्रिभुवन राजपथ अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता राजकुमार सापकोटाका अनुसार बिहानबाट शुरू भएको बाक्लो हिमपातले सडकमार्गको सीमभञ्याङ र दामन क्षेत्रको सडक पूर्णरूपमा अवरुद्ध बनेको हो । जिल्लाको थाहा नगरअन्तर्गत सीमभञ्ज्याङ, दामन र अघोरमा वर्षास“गै बाक्लो हिमपात भएको छ ।

दामन र सीमभञ्याङसहित हिउँ परिरहेकाले तत्काल हिउँ पञ्छाएर सवारी आवागमन चालु गर्न सम्भव नरहेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । मंगलबार रातिदेखि बाक्लो हिउँ परेपछि बुधबार बिहान करिब सवा ७ बजेदेखि यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिनुभयो ।

अलपत्र ७ पर्यटकको उद्धार
हिमालपारिको जिल्ला मुस्ताङमा भएको भारी हिमपातका कारण अलपत्र परेका ७ जना पर्यटकको उद्धार गरिएको छ । बाग्लुङबाट उपल्लो मुस्ताङमा पर्ने लोमान्थाङ घुम्न गएका सात पर्यटकलाई बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३, समर भीरबाट उद्धार गरिएको हो ।
परिवारका सदस्यहरू मिलेर मुस्ताङ गएको बेला हिमपातले सडक अवरुद्ध भएपछि उपल्लो मुस्ताङ जान नसकी चराङबाटै जोमसोमतर्फ फर्किने क्रममा उनीहरू अलपत्र परेका थिए । मंगलबार राति ८ बजे चराङबाट फर्किएका उनीहरू करिब १० बजे समर भीरमा अलपत्र परेको सूचना पाएपछि प्रहरीले उनीहरूको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीले बताउनुभयो ।
मुस्ताङको सदरमुकाम जोमसोममा हल्का हिमपात भए पनि उपल्लो मुस्ताङमा भने करिब दुई फिट बाक्लो हिउँ जमेको छ । अत्यधिक चिसोका कारण स–साना खोलानालामा पनि पानी जमेको छ । धारामा आउने पानी पनि बरफ बनेको छ भने जनजीवन प्रभावित भएको छ ।

हिमपातले जनजीवन कष्टकर
देशैभर भएको वर्षा तथा हिमाली भागमा परेको हिउँले गर्दा जनजीवन कष्टकर बन्दै आएको छ । हिमाली जिल्ला मनाङमा पनि हिमपात हुन थालेपछि केही स्थानीयवासी जिल्ला बाहिर हिँडेका छन् । मनाङको माथिल्लो भेग थोराङ्ला, तिलिचो बेस क्याम्प र नारफुलगायतका ठाउँमा ११ गते देखि नै हिमपात शुरू भएको थियो भने तल्लो भेग सदरमुकाम चामेआसपासमा १२ गतेबाट हिमपात परेको हो ।

लगातार भइरहेको बाक्लो हिमपातले मानिस हिँडडुल गर्न कठिन भएको छ । सवारी आवगमनसमेत ठप्प भएको छ । अझै तीन दिन हिमपात हुने मौसम पूर्वानुमान शाखाको अनुमान छ । जिल्लाको माथिल्लो भेगमा अहिले दुई फिटसम्म हिउँ जमेको छ ।

पर्यटकलगायत सर्वसाधरणलाई हिमपातको समयमा सतर्क हुन अनुरोध गरिरहेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताउनुभयो । स्थानीयवासीका अनुसार बाक्लो हिमपातले अत्यधिक चिसो बढाएको छ । माथिल्लो मनाङ पिसाङका रा गुरुङले छिनछिनको हिमपातका कारण चिसो बढेको बताउनुभयो । उहाँका अनुसार स्थानीय साथै चक्रीय अन्नपूर्ण पदमार्ग घुम्न आएका पर्यटक हिमपातका कारण प्रभावित भएका छन् । चिसोका कारण स्थानीयवासी आगो तापेर घरभित्रै बस्न बाध्य भएका छन् ।

हिमपातका कारण अत्यधिक चिसो बढेकाले प्रहरीलाई नियमित गस्तीका लागि पठाउनसमेत समस्या भएको प्रहरी नायब उपरीक्षक सुवास खड्काले बताउनुभयो । सशस्त्र प्रहरी प्रहरी नायब उपरीक्षक अर्जुन पौडेलले हिमपातका कारण अधिकांश सडक अवरुद्ध भएकाले आवतजावत गर्न असजिलो भइरहेको बताउनुभयो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप मनाङका प्रमुख लेखनाथ गौतमले माथिल्लो क्षेत्रका साथै सदरमुकाम चामे आसपासमा निरन्तर बाक्लो हिमपात भइरहेकाले अत्यधिक चिसो बढेको बताउनुभयो । उहाँले विदेशी पर्यटकलाई सुरक्षित रहन र मौसममा सुधार नआएसम्म तिलिचो र थोरङ्लालगायत अन्य जोखिम क्षेत्रमा नजान अनुरोध गरिएको बताउनुभयो ।

गत एक हप्तमा जिल्लामा ३१ विदेशी पर्यटक भित्रिए पनि हाल २० जना जिल्लाभित्र रहेका छन् भने तीमध्ये ११ जनाले थोराङ्लापास गरी मुस्ताङ पुगेको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले जनाएको छ ।

राजमार्ग बन्द
बैतडी : मौसममा आएको परिवर्तनसँगै बैतडीसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा हिमपात भइरहेको छ । बैतडीको अनारखोली, खोड्पे, सतबाँझ श्रीभावर, गाँजरी, बाजपानी, ढोल्यामोड, देहिमाडौंलगायतका ठाउँहरूमा भएको हो ।

हिमपातका कारण यहाँका राजमार्गसमेत बन्द भएका छन् । अनारखोली, भालुमारे खोडपे क्षेत्रमा परेको हिमपातका कारण दशरथचन्द राजमार्गमा गाडी चल्न सकेका छैनन् । यस्तै बाजपानी, ढोल्यामोड, खोडपे क्षेत्रमा परेका हिउँका कारण जयपृथ्वी राजमार्गमा पनि सवारी आवगमन हुन नसकेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी, निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

अहिलेसम्मकै ठूलो हिमपात
हुम्ला : हुम्लासहित कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा भारी हिमपात भएको छ । सोमबार हुम्ला, जुम्ला, मुगु, डोल्पा, बाजुरा लगायतका हिमाली जिल्लामा भारी हिमपात भएको हो । यो हिमपात पुस महिनायताकै ठूलो रहेको सिमकोट गाउँपालिका–५ का रामजन रावतले बताउनुभयो । बिहानैदेखि हिमपात हुँदा हुम्लाका डाँडाकाँडा सेताम्ये देखिएका छन् । हिमपात हुने प्रक्रिया निरन्तर छ ।

जिल्लाको उतरी दक्षिण नाकामा बाक्लो हिमपात परेपछि जनजीवन कष्टकर बनेको छ । हिमपातका कारण पशु चौपायमा बढी असर पुगेको स्थानीयको भनाइ छ । नागरिकहरू घर बाहिर निस्कन सकेका छैनन् । बाँधिएका पशु चौपायालाई घाँस, पानी दिन नसकिएको नाम्खागाउँपालिका–६ का अध्यक्ष पाल्जोर तामाङले जानकारी दिनुभयो ।
चौथोपटक भारी हिमपात हुँदा किसान उत्साहित बनेका छन् । तापक्रम माइनस १२ डिग्री सेल्सियस पुगेको छ । यस्तै, अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई यातायात अवरुद्ध भएको छ । छोटो दूरीका सवारीसाधनसमेत बन्द रहेका छन् ।

विद्यालय बन्द
दोलखा : कालिञ्चोकलगायत दोलखाको उच्च पहाडी भेगमा मंगलवार रातिदेखि हिमपात भएको छ । हिमपातका कारण अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ भने उच्च पहाडी क्षेत्रमा यातायात अवरुद्ध हुनका साथै विद्यालयहरूसमेत बन्द रहेका छन् ।

कालिञ्चोकको मन्दिर परिसर तथा कुरी क्षेत्रमा बिहीबार रातिदेखि नै लगातार हिमपात भई रहेको होटल सुनपातिका सञ्चालक हरि ओलीले बताउनुभयो । लगातारको हिमपातले कालिञ्चोकको बसाइ कष्टकर भए पनि पर्यटकहरू भने रमाइलो गरिरहेको ओली बताउनुहुन्छ ।

बालवालिका तथा वृद्धवृद्धालाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध
रसुवा : हिमाली जिल्ला रसुवामा मंगलबार बिहानदेखि परेको भारी हिमपातका कारण जनजीवन प्रभावित वनेको छ । क्याङजिङ, लाङटाङ, थुमन वृद्धिम, गत्लाङ, धुन्चे, भार्खु, ठुलोस्याफ्रु, स्याफ्रुबेंसी गोसाईकुण्ड नौकुण्डको यार्सा, थाङदोर, सिङबन्दीलगायतका ठाउँमा हिमपात भएका कारण प्रभावित बनेको छ । जिल्ला प्रशासन कार्यालयले अत्यधिक चिसो वढेकाले बालवालिका तथा वृद्धवृद्धालाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेको छ ।

सदरमुकाम धुन्चेमा तीन वर्ष पहिले परेको थियो । पुनः यसपटक हिमपात भएको छ । हिउँ परेपछि कोदो, फापर, गहुँ, जौ, साग, मुला, आलु लगाउन सहज भएको साथै लगाइएका लसुनलगायतका बाली सप्रिनेमा किसानहरू भने हर्षित बनेका छन् । गत्लाङ, गोल्जुङ, नागथलि तातोपानी पाजुङ, पार्वती कुण्ड आसपासमा डेढ मिटर हिउँ परेको त्यहाँका स्थानीय अविनाश तामाङले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्