स्वास्थ्य, सफाइ र सभ्यता



स्वास्थ्य, सफाइ र सभ्यताबीच अन्योन्याश्रित सम्बन्ध छ । जहाँ सफाइ हुन्छ, त्यहाँ रोगव्याधीको सम्भावना रहँदैन, व्यक्तिले सफाइ भएको ठाउँमै स्वास्थ्यलाभ गर्दछ । सफाइ कायम गर्न नसक्ने व्यक्तिलाई सभ्य मानिन्न । विदेशीहरू नेपालका हिमाल र सुन्दर प्रक्रिति हेर्न आउँछन्, तर हामीले उनीहरूलाई अन्तर्राष्ट्रिय विमानस्थलबाट झर्नासाथ फोहोरको थुप्रो देखायौं भने उसले हामीलाई सभ्य भन्दैन, हाम्रो मुलुकलाई नै उसले फोहोरी देश भनिदिन सक्छ । हाम्रो लापर्बाहीका कारण हामी आफ्नो मातृभूमिलाई बद्नाम गर्नपुग्छौं । सभ्यता के हो, के होइन भन्ने सम्बन्धमा विवाद हुनसक्छ । सामान्यतः मान्छेका अगाडि जिउ कन्याउनु, घाँटी सफा गर्न चर्को आवाज निकाल्नु, नाक–कान कोट्याउनु, जथाभावी थुक्नु आदि असभ्यताभित्र पर्दछ । आवाज निकालेर चपाउनु वा खानु, काँटाप्लेट बजाउनु, हिंड्दा भुर्इँ बजाउनु आदिलाई पनि कति ठाउँमा राम्रो मानिन्न । कस्तो पहिरन, कति छोटो कति लामो, कसरी बस्ने, कसरी उभिने हात कहाँ राख्ने, आँखा घुमाउने कि टाउकै घुमाउने, अनजान व्यक्तिलाई क्वारक्वारती हेर्ने कि नहेर्ने आदि विभिन्न व्यवहारलाई पनि सभ्यताका सूचक मान्ने गरिन्छ । यस्तै, कतिपय कारणले विकसित मुलुकमा पुगेका एसियाली र अफ्रिकी नागरिक आ–आफ्नै जीवन पद्दति, कार्यशैली र व्यवहारका कारण आलोचनाका पात्र बन्दछन् ।

सञ्चार माध्यम र यातायातको विकासका कारण आज विश्व एक गाउँजस्तो सानो भएको छ जसलाई ‘ग्लोबल भिलेज’ भन्ने गरिन्छ । त्यसैले सभ्यताहरू मिसमास भएका छन् र एक ठाउँको सभ्यता अर्र्को ठाउँको व्यक्तिलाई बुझ्न सहज भएको छ । हिजो सामान्य ठानिएका व्यवहार आज गम्भीर चासोका विषय भएका छन् । छिमेकी मुलुक भारतमा अहिले जथाभावी थुक्नुहुन्न भन्ने अभियान चलेको छ । थुक्ने बानीविरुद्ध जनचेतना बढाउने उद्देश्यले प्रचार सामग्री बनाई भित्तेलेखन गरिएको छ । कोभिडको संक्रमण बढिरहेका बेला स्वास्थ्य–सफाइ अभियन्ताहरूले सार्वजनिक स्थानमा थुक्दा हुने जोखिमका बारेमा जनचेतना बढाइरहेका छन् । सन् २०२१ को शुरूमा राजा र प्रीति नरसिंहनले ‘सार्वजनिक स्थानमा नथुकौं’ भन्दै शुरू गरेको अभियान अहिले भारतभर जारी छ । यी दम्पतीले कारमा बसेर छतमा बाँधेको माइक बजाउँदै यो सन्देश दिँदै शहर–बजार डुलेर जनचेतना फैलाउन शुरू गरेका थिए । भारतका विभिन्न स्मारक तथा ऐतिहासिक सार्वजनिक स्थल जथाभाबी थुकेकै कारण विरूप देखिन्छ । उनीहरू प्रचार गरिरहने, मान्छेहरू निरन्तर जथाभावी थुकिरहने क्रम चलिरह्यो । तर, जब कोरोना फैलियो, मान्छे थुक्न र थुकको सम्पर्कमा आउन सतर्क हुन थाले । उता मुलुकलाई नै विश्वले थुकुवाहरूको देश भनेर फोहोरीको संज्ञा दिएको सन्दर्भलाई पनि उनीहरूले गम्भीर रूपमा लिनथाले ।

यस्ता असभ्यताका बाँनी–व्यवहारमा नेपाल पनि भारतभन्दा खासै भिन्न छैन । पान, गुड्का आदिको खपत अलि कम होला, तर थुकेरै सार्वजनिक स्थान टाटेपाटे बनाउने कार्यमा हामी पनि कम छैनौं । राष्ट्रको सचिवालय सिंहदरबार पस्दै गरेका व्यक्तिहरू प्याच्चप्याच्च थुक्दै र खकार्दै हिंडिरहेका देखिन्छन् । खासगरी थुक, खकार आदि कोरोना भाइरसजस्ता रोगका किटाणु वाहक हो भन्ने बुझेपछि पनि हामी जथाभावी थुकिरहन्छौं भने हामी अझ बढी रोगी, फोहोरी र असभ्य सावित हुनेछौं ।

प्रतिक्रिया दिनुहोस्