प्रचण्डको आत्मालोचना



नेकपा माओवादी केन्द्रको आइतबार शुरू आठौं महाधिवेशनमा सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कसैलाई गाली नगरी सम्बोधन टुंग्याउनु मात्र भएन बारम्बार आफूभित्रैबाट कमीकमजोरी सुधार गरी अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । दुई–दुई पटक मुलुकको कार्यकारी प्रमुख रहिसकेका र सशस्त्र विद्रोहबाट सत्तामा पुगेका प्रचण्डको बोली र व्यवहारप्रति सबैको चासो जानु स्वाभाविकै हो । अध्यक्ष प्रचण्डको मुखबाट आफूलाई समेत आलोचना गरी गल्ती, कमीकमजोरी सुधार गर्ने प्रतिबद्धता समयको आवश्यकतासँगै राजनीतिक नेतृत्वमा हुनुपर्ने एउटा नैतिक गुण पनि हो, यसबाट सबैले पाठ सिक्नु पनि पर्छ । तर, यस प्रवृत्तिलाई अध्यक्ष प्रचण्डले कति कायम गर्न सक्नुहुन्छ त्यो भने महत्वपूर्ण छ ।

यसअघि भएका विभिन्न राजनीतिक दलका अधिवेशनमा नेतृत्वको अहंकार, दम्भ र अरूको आलोचना मात्र सुनिएको स्थितिमा आफैंले आफ्नो कमजोरी सुधार गर्ने प्रतिबद्धता व्यक्त हुनुभनेको भए–गरेका गल्ती नदोहर्याउने संकल्पसँगै पार्टीलाई नयाँ जीवन दिने पूर्वसंकेत पनि हो । अध्यक्ष प्रचण्डले शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेसँगै माओवादीको उतारचढाव र समग्र पक्षको विश्लेषण गरी आत्मालोचना गर्नु सराहनीय छ । यसले आत्मालोचना र विनीत हुने गुण राजनीतिक नेतृत्वमा हुनैपर्ने एउटा विशेषता पनि हो । भर्खरै सम्पन्न सत्ताको नेतृत्व गरिसकेको नेपाली कांग्रेसको महाधिवेशन विचारशून्य रहेर नेतृत्व चयनको प्राविधिक विषयमा मात्र सीमित रहेको भन्दै आलोचना आइरहेका बेला यस अभ्यासलाई सराहना गर्नुपर्छ । चितवनमा सम्पन्न नेकपा (एमालेको) महाधिवेशन पनि पूर्णतः सो पार्टीका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको देवत्वकरणमा सीमित भयो भनिएका सन्दर्भमा पनि माओवादी अध्यक्षको यस व्यवहारको तुलना आवश्यक छ । भिन्न विचार राख्ने, नेतृत्वलाई प्रश्न सोध्ने नेता र कार्यकताहरूलाई पूर्ण रूपमा निषेध गर्ने काम एमाले महाधिवेशनमा भयो भनेर पनि आलोचना गरिएको थियो । यस पृष्ठभूमिका अतिरिक्त प्रचण्डले तयार पारेको राजनीतिक प्रतिवेदनले पनि पार्टीमा सुधार ल्याउने अपेक्षा देखिन्छ । यद्यपि, तीन दशकदेखि लगातार अध्यक्ष पदमा आसीन भएको भनेर प्रचण्डको आलोचना नभएको होइन । बहुदलीय प्रजातन्त्र पुनःस्थापनापछि देखिएको अनेक विकृति—विसंगतिसँगै नेपाली समाजमा युगौंदेखि कायम रहेको सामाजिक, आर्थिक, सांस्कृतिक र क्षेत्रीय विषमतालाई अन्त्य गर्ने राजनीतिक एजेन्डाले माओवादी राजनीतिक शक्तिको रूपमा बलियो भएको मत राख्नेहरू पनि छन् । राजनीतिमा हिंसाको प्रयोग जायज वा नाजायज भन्ने प्रश्न बहसको विषय बन्नसक्छ । तर, नेपालको एकीकृत र काठमाडौंकेन्द्रित राज्य संरचनालाई भत्काई संविधानसभामार्फत संघीयता, समावेशी, गणतन्त्र र धर्मनिरपेक्ष राष्ट्र निर्माणमा माओवादीको अगुवाइलाई स्वीकार गर्नैपर्छ । नेपालको राजनीतिकमा २००७ सालदेखि थाँती रहेको संविधानसभालाई मूर्त रूप दिन माओवादी विद्रोहको महत्वपूर्ण भूमिका छ ।

सशस्त्र विद्रोहबाट शान्ति प्रक्रियामा आउनासाथ क्रमशः २०४८ सालपछि संसद्को राजनीति गरेका नेता कार्यकर्तामा देखिएको पजेरो संस्कृति व्यावहारिक रूपमा बिझाउने विषय हो । विलासी जीवनशैलीसहित रातारात एउटा नवधनाढ्य वर्गमा तीव्र गतिले रूपान्तरण भएको देखिने अवस्थालाई भने एक थान आत्मालोचनाले मात्र सम्बोधन गर्दैन । यतिखेर उत्पीडन वर्ग समुदायको हकहितको आवाज र तिनका एजेन्डा कमजोर हुँदै गएका छन् । प्रचण्डको आत्मसमीक्षाले पार्टीलाई एउटा रूपान्तरणकारी शक्ति, देश र जनताको हितमा बोल्ने, जनहितमा आधारित राजनीतिक शक्तिको रूपान्तरण गर्न सकोस्, शुभकामना ।

प्रतिक्रिया दिनुहोस्