फुर्सदिला प्रधानमन्त्री : जो पार्टीको महाधिवेशनमै घण्टौँ बिताउँछन्



न्युज अफ नेपाल, काठमाडौं । 

नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा शुरु भएको छ । आइतबार दिउँसो ३ बजेदेखि शुरु हुने भनिएको महाधिवेशन झण्डै सवा ३ बजेदेखि शुरु भएको थियो ।

सोही समयमा प्रधानमन्त्री शेरबहादुर देउवा पुगेका थिए ।  माओवादीको महाधिवेशनमा विभिन्न पार्टीका तर्फबाट नेताहरु उपस्थित भएर शुभकामना दिएका थिए । सोही बीचमा केही नृत्यहरु देखाइए  र पार्टीकै नेताहरुले लामो भाषण गरे ।

तर प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवा झण्डै सवा तीन घण्टा मञ्चमै बसे । झण्डै साढे ६ बजे मन्तब्य दिन शुरु गरेकाे देउवाले आफैले भने झण्डै १० मिनेटमै भाषण सिध्याए । भाषणका क्रममा प्रम देउवाले आज कार्यक्रममा सबै नेताहरुले लामो बोलेको समेत बताए  ।

उनी भाषण सकेर फेरि पनि मञ्चमै बसिरहेका देखिन्छन् । फुर्सदिला प्रधानमन्त्री देउवाले आज सत्ता गठबन्धनको मुख्य साझेदार दलको महाधिवेशनका लागि पर्याप्त समय छुट्याएका देखिन्छन् ।

देशको कार्यकारी पदमा आसीन व्यक्ति कुनै पार्टीका आन्तरिक कार्यक्रमका लागि लामो समय खर्चिएर उपस्थित हुनु  सकारात्मक र नकारात्मक दुवै रूपमा बुझ्नु पर्ने कतिपय बताउँछन् । पार्टीहरुबीचको सद्भावप्रति यसले सकारात्मक सन्देश दिए पनि देशको समय भने यसले अनुत्पादक रूपमा खर्च हुने एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्