समाजवादी शक्तिको पालो



माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आजदेखि शुरू हुँदैछ । महाधिवेशन नै भन्न मिल्ने विधि प्रयोग गर्दै स्थानीय तहदेखि प्रतिनिधि छान्ने, भेलाहरू गर्दै निर्णयहरू लिने प्रक्रियाका साथ राष्ट्रिय सम्मेलनमा आइपुगेको यस दलमा मुख्य नेतृत्व पुरानै रहे पनि अन्य तहमा भने परिवर्तनको सम्भावना रहेको बताइन्छ । पछिल्लो समय मुलुक भ्रष्टाचार र अन्य विकृतिले जर्जर भइरहेका बेला भ्रष्टाचार मानसिकतालाई प्रवद्र्धन गर्ने पुँजीवादी अवधारणा होइन, समाजवादी विचारका साथ अघि बढ्छौं भन्दै आएको माओवादी केन्द्रप्रति ठूलो जनसमुदायको चासो बढेको पनि छ ।

माओवादी केन्द्रले विस्तृत शान्ति सम्झौतापछि संसदीय व्यवस्थामा आफूलाई अभ्यस्त गराउने प्रयास गर्यो । तर, संसदीय विकृतिबाट आफूलाई बचाउन नसकेको आत्मस्वीकृति पनि उसमा देखिन्छ । संसदीय व्यवस्थामा जसरी पनि चुनाव जित्ने, महँगो निर्वाचनमा सहभागी हुने र भ्रष्टाचार गरेर लगानी उठाउने जुन विकृति छ, त्यसलाई माओवादी केन्द्रले सच्याउन चाहेको दाबी गरेको छ । संविधान निर्माणकै बेलामा पनि शासकीय स्वरूप र निर्वाचन प्रणालीमा फरक मत जनाएको र आफ्नो बहुमत पुगेपछि सोहीअनुसार परिवर्तन गर्ने उद्घोष गर्दैआएको माओवादी केन्द्रका तर्फबाट अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा भ्रष्टाचारका समाचारमा कमी आएको पनि हो । जनवादी केन्द्रीयतामा विश्वास गर्ने शक्ति भएकाले जसरी पनि निर्वाचन जित्नुपर्छ भन्ने मान्यता आफूमा नरहे को उसको दाबी छ । निर्वाचन प्रणालीका कारण पनि मुलुकमा भ्रष्टाचार बढेको छ, पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा गएर खर्च घटाउने र विचारसहितको नेतृत्व छान्ने विकल्पमा जाने उसको धारणा मननीय लाग्छ । अहिले भ्रष्टाचार निकै बढेको सत्य हो । जनयुद्धको विरासतबाट नेतृत्वमा आएको, भ्रष्टाचार नगर्न हजारौं शहीद, घाइते र विस्थापित परिवारको आत्मालाई सम्झने शक्तिप्रति विश्वास गर्नु अहिले नेपालीको बाध्यता पनि छ । संविधानमा नै ‘समाजवादउन्मुख मुलुक’ भनिएका कारण पनि माओवादी केन्द्रले समाजवादी दिशातिर अघि बढ्न चाहने कम्युनिस्ट र समाजवादी दलहरूका साथ मिलेर अघि बढ्न चाहेको, र मुलुकको आवश्यकता पनि त्यही रहेको सत्य पनि हो ।

विश्वका शक्तिशाली मुलुकले अवलम्बन गरेको शासकीय स्वरूप र सत्ताका कारण समाज विनासतिर गइरहेको छ । जलवायु परिवर्तन, हिमाल पग्लने, समुद्र सतह बढ्ने सबै सत्तास्वार्थकै परिणामहरू हुन्, सत्ताले तत्कालीन नाफाबाहेक केही नहेर्दा, पूँजी लगाऊ नाफा कमाऊ भन्ने मानसिकतालाई प्राथमिकता दिँदा रोजगारी सिर्जना गर्ने र समाजका लागि सोच्ने, पछिल्लो पुस्ताका लागि यस पृथ्वीलाई बचाएर राख्ने व्यवस्था समाप्त भएर गएको सत्य हो । तर, कम्युनिस्ट तथा समाजवादी शक्तिलाई एकीकृत गर्दै अघि बढ्ने दाबी
गर्ने माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी र अन्य ‘समाजवादी’विशेषण बोकेका दलसँग पनि एकीकृत ढंगले अघि बढ्न सकिरहेको छैन त्यसैले उद्घोष गरेजस्तो व्यवहारमा उतार्न सहज छैन ।

हाल मुलुकमा वैचारिक दृष्टिकोणले नेतृत्वमा आएका दलहरूको अनिकाल छ । पार्टी केवल भागवण्डा गरेर सत्तामा जाने समूह भएको छ । तर पनि यसभित्र विचार खोज्दा तीन समूह देखिन्छन् – सामन्तवादी, समाजवादी र पुँजीवादी । पुँजीवादी विचारले विश्वमा हुने–नहुने बीचको खाडल फराकिलो बनाएकै हो । त्यसैले, समाजवादी विचारधारालाई आम नागरिकले हेर्न चाहेका छन् । तर, यसको पक्षमा उभिनेहरूमा एकीकृत ढंगले सत्ता सञ्चालन गर्ने मानसिकता हुनुभने आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्