फिल्ममा मेरो ठाउँ अझै खाली रहेछ : सरोज खनाल



चार दशकदेखि फिल्म क्षेत्रमा लोकप्रियता कमाउँदै आएका अभिनेता एवं हुन् सरोज खनाल। रंगमञ्च, टेलिफिल्म हुँदै फिल्म विजय पराजयबाट फिल्म क्षेत्रमा प्रवेश गरेका उनका प्रेम पिण्ड, चोखो माया, जन्म जन्म, चोट गोठालो, अरुणिमा, पुकार, चाहना, निर्मोही, घर आँगन, दैव संजोग, प्रेम गीत क्याप्टेनजस्ता थुप्रै फिल्ममा विभिन्न भूमिकामा सजिव अभिनय गरेर दर्शकको मनमा राज गर्न सफल सरोज केही वर्ष अभिनयको दुनियाँबाट टाढा हुँदै अमेरिका बसे। अमेरिकाबाट फर्केर पुनः अभिनय क्षेत्रमा जम्दै आएका उनीसँग रश्मी थापाले गरेको कुराकानी यहाँ प्रस्तुत छ :

हाल के गर्दै हुनुहुन्छ?
अहिले वुमन रिभोलुसनमा आधारित बगान नामको शर्ट फिल्मको स्क्रिप्टमा काम गरिरहेको छु। यसको निर्देशनको तयारीमा छु। यसमा अभिनेत्री करिश्मा मानन्धरजीको अभिनय रहनेछ। त्यस्तै, सुहानाजीको फिल्म म र ऋण नामक फिल्ममा साइन गरेर त्यसको स्क्रिप्ट पढिरहेको छु।

पछिल्लो समय म्युजिक भिडियोमा बढी सक्रिय हुनुहुन्छ नि?
त्यति विधि सक्रियता पनि होइन। अन्य कलाकारको तुलनामा मैले कम नै म्युजिक भिडियो गरिरहेको छु। आउन त धेरै अफर आउँछन्, तर सेलेक्ट गरेरै काम गरिरहेको छु। साथीभाइसँगको रिलेसनका कारण पनि कतिपय काम गर्नुपर्ने हुन्छ। कोभिडका कारण फिल्महरू नभएकाले आफ्नो उपस्थिति जनाउने हिसाबले पनि काम गरिरहेको छु।

कलाक्षेत्रको शुरुवाती दिनहरूलाई कसरी सम्झनुहुन्छ?
म एकै चोटी फिल्ममा आएको होइन। फिल्मभन्दा अघि नाटक, भिडियो फिल्म, टेलिफिल्म आदिमा अभिनय गरेको थिएँ। त्यतिबेला, भिडियो फिल्मको जमाना थियो। फिल्म ठूलो लगानीको हुने र निर्माता निर्देशकले आफ्नो लगानी सुरक्षित होस् भन्ने चाहने हुनाले एकै चोटी फिल्ममा लिने अवस्था थिएन। मेरो परिवार र आफन्तमा फिल्म क्षेत्रमा कोही हुनुहुन्थेन। आफ्नै मेहनतले नाटक, टेलिफिल्म तथा भिडियो फिल्ममार्फत दर्शकको नजरमा छाप बसाउन सफल भएको थिएँ। त्यसपछि मात्र मलाई निर्माता निर्देशकले यसमा लगानी गर्यो भने डुब्दैन भन्ने भएपछि मात्र फिल्ममा लिनुभएको होला। पहिलो फिल्म विजय पराजयमार्फत फिल्ममा अभिनय शुरू गरेको थिएँ।

रंगमञ्चमा दर्शकको अगाडि प्रत्यक्ष गरिने अभिनय र फिल्ममा क्यामेराको अगाडि गरिने अभिनयमा के फरक महशुस गर्नुहुन्छ?
रंगमञ्चमा वास्तविक जीवन बाँचिन्छ। नाटक जीवनको यात्रा जस्तै हो। नसकुञ्जेल लयबद्ध तरिकाले बगिरहन्छ। नाटक शुरू भएपछि अन्त्यसम्म एउटै चरित्रमा बस्नुपर्ने हुन्छ। नाटकमा जे गरिन्छ वास्तविक गरिन्छ। रुनुपर्यो भने साँच्चै रोइन्छ। त्यहाँ ग्लिसिरिन प्रयोग गर्ने सम्भावना नै हुँदैन। तर, फिल्ममा रुनु पर्दा ग्लिसिरिन प्रयोग गरिन्छ। नाटकमा निर्देशकले सिकाएपछि आफैं मिडिया हो। त्यहाँ कलाकारले राम्रो गरे पनि नगरे पनि त्यसलाई फेरि गर्छु भनेर पाइँदैन। तर, फिल्ममा लयबद्धता हुँदैन। शुरूको सिनपछि खिचे पनि भयो, पछिको सिन अगाडि खिचे पनि भयो। फिल्म डाइरेक्टरको मिडिया हो। डाइरेक्टरको हिसाबमा कलाकारले अभिनय गर्ने हो।

फिल्म र नाटकमा अभिनय गर्दा केमा सजिलो महशुस हुन्छ?
म सजिलोभन्दा पनि च्यालेन्ज स्वीकार गर्ने मान्छे हुँ। नाटकमा च्यालेन्ज हुन्छ। नाटकै गर्दा मज्जा लाग्छ।

रंगमञ्च छोडेर फिल्ममा अभिनय गर्न थालेपछि गुरु स्व. उमेशनाथ अर्यालले तपार्इंको अभिनय कौशलता हराएको भन्नुभएको थियो रे नि?
अभिनय कौशलता हराएको भन्दा पनि कमर्सियल भएछौ भन्नुएको थियो। मैले उहाँसँग धेरै काम गरेको थिएँ। नाटकमा जति मेहनत हुन्छ, फिल्ममा त्यति हुँदैन। एउटै नाटकका लागि ३/४ महिना लाग्थ्यो। फिल्म क्षेत्रमा काम शुरू गरेपछि उमेश गुरुका साथ फेरि काम गर्दा आफ्नो काम सकाएर अर्को फिल्मको सुटिङ जान हतार गर्थें त्यही भएर पनि उहाँले त्यो ब्लेम लगाउनु स्वाभाविक नै थियो। त्यसमाथि उहाँलाई मैले गुरु मानेको थिएँ। उहाँको टेलिफिल्महरूमा म सहायक निर्देशकको रूपमा काम गर्थें। अहिले सर्ट फिल्ममा हात हालेको कारण पनि उहाँकै कारणले हो। रंगमञ्च चटक्कै छोडेको त थिइनँ, तर फिल्ममा काम शुरू गरेपछि नाटकमा काम गर्न कम भएको थियो। म अमेरिका बसेर आएपछि पनि शुरूमै फिल्म गरिनँ। बाह्र दुर्वासा नामक नाटकमा काम गरेपछि मात्र फिल्ममा काम गरेको थिएँ। अहिले पनि धेरै समय दिन सकेको छैन। तर, छिट्टै सुनील पोखरेलजीको नाटकमा अभिनय गर्ने तयारीमा छु।

आफ्नो जमानाको प्रतिस्पर्धी कसलाई मान्नुहुन्छ?
म त यसमा रेडिमेड जवाफ दिन्छु मेरो प्रतिस्पर्धी आफैँलाई मान्थेँ, आफैँ हुँ । वास्तवमा थियो पनि त्यस्तै। त्यो बेला राजेश हमालजी र मलाई लिएर धेरै फिल्म बन्थे। राजेशजीको ५/६ वटा फिल्म हुन्थ्यो भने मेरो ४/५ वटा फिल्म हुन्थे। तर, हामी दुवैको फिल्मको प्याट्रन फरक–फरक खालका हुन्थे। उहाँका लागि लेखिएको स्क्रिप्टमा म फिट हुन्नथेँ। मेरो लागि लेखिएको स्क्रिप्टमा पनि सायद उहाँ फिट हुनुहुन्थेन होला।

फिल्म क्षेत्रमा त्यो बेलाजस्तो एक–अर्काप्रतिको माया र सद्भाव अहिले हराउन थालेको हो?
हो, त्यो माहोल अहिले हराउँदै गएको छ। पहिले फिल्मको सुटिङका लागि लामो समयसम्म विभिन्न स्थानमा गएर कलाकारहरू सँगै बस्थ्यौँ । एक–अर्कासँग लामो समयसम्म भेटघाट हुने वातावरण हुन्थ्यो। एक–अर्काप्रति सौहाद्र्रपूर्ण सम्बन्ध हुन्थ्यो, अहिले त्यस्तो अलि कम छ। सामाजिक सञ्जालका कारण पनि मानिसहरूको भेटघाट कम भइरहेको छ। सामाजिक सञ्जालले मानिसहरूलाई नजिक पनि बनाएको छ, तर भौतिकरूपमा भने टाढा बनाएको छ।

कलाकारितामा बलिरहेको समयमा अचानक अमेरिका जानुभयो नि?
म कार्यक्रमको लागि अमेरिका गएको थिएँ । कलाकारहरूलाई ६ महिनासम्मको भिसा दिइन्थ्यो। तर, मलाईचाहिँ झुक्किएर एक वर्षको भिसा दिइएको थियो। कार्यक्रम सकिएपछि पनि म त्यहीँ बसेँ । आफ्ना लागिभन्दा पनि दुई बच्चाको भविष्य राम्रो हुन्छ भन्ने हिसाबले त्यहाँ बसेको थिएँ ।

त्यो बेला कलाकारिताबाट जीवन गुजारा गर्न सकिने अवस्था थिएन र?
जीवन गुजारा गर्न सक्ने मात्र होइन त्योभन्दा धेरै राम्रो अवस्था थियो। नाटक खेल्दा चाहिँ राम्रो कमाइ थिएन। त्यसैले, नाटकको अलावा ट्युसन पढाउनेलगायत अन्य काम गर्थें। फिल्ममा आएपछि भने निकै राम्रो अवस्था थियो। शुरूमा डेरामा बस्थेँ, काठमाडौंमा मेरो घर थिएन। कारणवश मैले पैतृक सम्पत्ति पनि पछिसम्म पनि लिएको थिइनँ। त्यो बेला मैले फिल्ममार्फत कमाएर काठमाडौंको पुतलीसडकमा जग्गा किनेको थिएँ । आफ्नो परिवारलाई खुसी राख्न सकेको थिएँ ।

अहिले कस्तो अवस्था छ?
त्यो बेला कलाकार पनि बन्थें, निर्माता निर्देशक पनि बन्थें। तर, अहिले कलाकार मात्र बन्ने अवस्था छ। अहिले कलाकारलाई राम्रो पारिश्रमिक दिइन्छ। कलाकारहरूले कमाइरहेका छन्। तर, ९५ प्रतिशत फिल्महरू डुब्छन्। त्यो भनेको निर्माताको लगानी डुब्नु हो।

त्यत्रो वर्ष अमेरिका बसेर आएर पनि फिल्ममा फेरि जमिरहनुभएको छ है?
मैले जुन किसिमको काम गर्थें, त्यो ठाउँ खाली रहेछ। मेरो प्याटनको जस्तो अभिनयको शुरुवात श्रीकृष्ण श्रेष्ठजीले केही मात्रामा गर्नुभएको थियो। उहाँलाई फिल्म क्षेत्रमा ल्याउन पनि मेरो हात थियो। मैले निकै पापड बेलेको छु। त्यही भएर पनि उहाँले मेरो प्याटर्नलाई निरन्तरता दिनुभएको थियो। तर, विडम्बना उहाँ रहनुभएन। नेपाल आएपछि मैले गरेको अभिनय खोजिएको पाएँ।

निर्माता, निर्देशकहरू सरोज खनाललाई केका लागि रोज्छन्?
निर्माताभन्दा पनि मलाई निर्देशकले खोज्छन्। उहाँहरूले लेखेको पात्रलाई जीवन्तता दिने व्यक्ति सरोज खनाल हुन्छ भनेर मलाई खोज्नुहुन्छ। मसँग काम गर्दा उहाँहरूलाई सहज महसुस पनि हुन्छ होला। जति न्यु कमरलाई सिकाउनुपर्छ, त्यति मलाई सिकाउनु पर्दैन। मेरो अनुभव देखेर उहाँहरूले मलाई खोज्नुहुन्छ। फिल्ममा मेरो सानो रोल भए पनि पूरै स्क्रिप्ट दिएर कस्तो छ ? चेन्ज गर्नुपर्छ ? भनेर सोध्नुहुन्छ, सल्लाह माग्नुहुन्छ। पक्कै यसले पनि केही न केही जानेको छ र चरित्र राम्रोसँग बाँध्न सक्छ भनेर नै मलाई खोज्नुहुन्छ।

बिहानै अस्ताएको सूर्य नामक सर्ट मुभी निर्देशन गर्नुभयो। बगानको निर्देशनको तयारी गर्दै हुनुहुन्छ, फिल्म निर्देशन पनि गर्ने सोच छ कि?
मैले सर्ट मुभीहरूमा काम गरिरहेकै फिल्म बनाउनको लागि हो। ४/५ वर्ष अघिदेखि नै निर्देशनको अफर आइरहेका थिए। बिहानै अस्ताएको सूर्य निर्देशनपछि पनि ल सर अब फिल्म निर्देशन गर्नुस् भनेर अफर आएका थिए। तर, मैले हात हालिनँ। फिल्म निर्देशनका लागि राम्रो तयारी नगरी हुँदैन। अरूले गरेको फिल्म र सरोज खनालले निर्देशन गरेको फिल्म भनेपछि फरक हुनुपर्छ भन्ने अपेक्षा हुन्छ। म फिल्म निर्देशनको लागि अझै परिपक्व हुन चाहन्छु्। अझै लभ, सेन्टिमेन्टललगायत विभिन्न जनराको ७/८ ओटा सर्ट फिल्म निर्देशन गरेर दर्शकले रुचाउनुभयो भने फिल्म पनि निर्देशन गर्ने विचार छ।

 

प्रतिक्रिया दिनुहोस्