इलाममा आँखा अस्पतालको सेवा सुचारु



इलाम, (नेस) ।

इलाम नगरपालिकाले सञ्चालन गरेको इलाम सामुदायिक आँखा अस्पताल सञ्चालनमा आएको छ । बुधबार एक कार्यक्रम गरी इलाम नगरपालिकाका मेयर महेश बस्नेत र उपमेयर सुशीला नेम्वाङले संयुक्तरूपमा उद्घाटन गर्नुभएको थियो ।

उद्घाटनका क्रममा मेयर बस्नेतले इलाममा बढ्दै गरेको आँखाका बिरामीलाई घर आँगनमै सहजरूपमा सेवा प्रवाह गर्ने उद्देश्यले आँखा अस्पतालको निर्माण गरिएको बताउनुभयो । महँगो खर्चेर जिल्ला बाहिर जानुपर्ने बाध्यताबाट आँखाका बिरामीहरु भएको समेत उहाँको भनाइ छ । स्थानीय सरकारले गरेको यो आँखा अस्पताल देशकै पहिलो रहेको दाबी इलाम नगरपालिकाले गरेको छ । अस्पतालको भवन निर्माण र अस्पतालका लागि चाहिने आवश्यक सामग्रीको जडानसँगै बुधबारबाट आँखा अस्पताल सञ्चालनमा आएको हो ।

इलाम सदरमुकाममा सिंहवाहिनी खोल्सी क्षेत्रको खालि जग्गाको व्यवस्थापन गर्दै नगरपालिकाले अस्पतालका भवन निर्माण गरेको थियो । यो अस्पताल निर्माणका लागि इलाम नगरपालिकाबाट ७५ लाख ४८ हजार ३ सय रुपियाँ बजेट विनियोजन भएको थियो ।

अस्पताल निर्माण र सञ्चालनका लागि इलाम नगरपालिकाकी उपमेयर सुशीला नेम्वाङको अध्यक्षतामा आँखा अस्पताल व्यवस्थापन समिति गठन गरेर अस्पताल निर्माण थालिएको थियो । सो अस्पतालको भवनसहित सम्पूर्ण उपकरण गरेर सञ्चालन गर्दासम्म हालसम्म ५७ लाख ९० हजार १ सय ९५ रुपियाँ खर्च भएको अस्पताल व्यवस्थापन समितिका काषाध्यक्ष विद्या सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार अब ६ लाख ९६ हजार २ सय ७० रुपियाँ भुक्तानी गर्न बाँकी रहेको छ ।

सो अस्पतालमा मेची आँखा अस्पताल भद्रपुरबाट आँखा रोग विशेषज्ञ डाक्टर निर्लजा पाठकसहित दुई जनाले आँखाका बिरामीलाई सेवा प्रवाह गर्नुहुनेछ । त्यस्तै, सो अस्पतालमा इलाम नगरपालिकाले विभिन्न फाँटमा अन्य ३/४ जना कर्मचारीको व्यवस्थापन गरिसकेको मेयर महेश बस्नेतले बताउनुभयो । अस्पतालमा हाल स्लिट ल्याम्प, रेसन्स कप, लेल्सोमिटर, ग्लास, लेन्स कटर, ट्रेल सेटलगायतका सम्पूर्ण उपकरण जडान गरीसकेकाले सेवा सुचारु हुन थालेको व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्