पर्वत अस्पताललाई २ करोडको उपकरण हस्तान्तरण



पर्वत ।

जिल्ला अस्पतालमा २ करोड बराबरका स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ । लायन्स क्लब अन्तर्राष्ट्रियअन्तरर्गत पर्वत जिल्लामा क्रियाशील आठ लायन्स क्लब र लियो क्लबको समन्वय र साझेदारीमा लायन्स क्लब अन्तर्राष्ट्रिय (एलआईसीएफ) कोषको विशेष आर्थिक सहयोगमा उपकरण हस्तान्तरण गरिएको हो ।

क्लबले अहिलेसम्म नेपालमा गरेको सहयोगमध्ये यो सबैभन्दा ठूलो हो । सांसद पदम गिरी र कुस्मा नगरपालिकाले पनि आर्थिक सहयोग गरेको बताइएको छ । जिल्ला अस्पतालमा आयोजित एक कार्यक्रमका उक्त सामग्री हस्तान्तरण गरिएको थियो । लायन्स क्लबको तर्फबाट १ करोड १६ लाख ३८ हजार १ सय २०, सांसद गिरीमार्फत स्थानीय पूर्वाधार विकास साभेदारी कार्यक्रमअन्तर्गत विनियोजितरु ३५ लाख, कुस्मा नगरपालिकाको १५ लाख र स्थानीय लायन्स तथा लियो क्लबको जोड कोष ३३ लाख २५ हजार ९ सय ९५ सहित १ करोड ९९ लाख ६४ हजार १ सय १५ को लागतका स्वास्थ्य उपकरण सहयोग गरिएको परियोजनाका अध्यक्ष वसन्तकुमार कर्माचार्यले जानकारी दिनुभयो ।

जिल्ला अस्पतालको मागअनुसार १२ प्रकारका १३ थान अस्पताल उपकरण र चार प्रकारका २४ थान फर्निचर अस्पताललाई प्रदान गरिएको दाता संस्थाले जनाएका छन् । अत्याधुनिक एक्सरे, ईसीजी, भेन्टिलेटर, अप्रेसन थिएटर, आईसीयू बेडलगायतका सामग्री हस्तान्तरण गरिएको हो । लायन्स क्लब अन्तर्राष्ट्रियका पूर्वअन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतान तथा सांसद पदम गिरीबाट सामग्री हस्तान्तरण गरिएको थियो । परियोजना अध्यक्ष तथा लायन्स लिडर वसन्तकुमार कमाचार्यले बिरामीले सहजरूपमा सेवा–सुविधा पाउन सहयोग होस भनेर अस्पताललाई आवश्यक सामग्री प्रदान गरिएको बताउनुभयो ।

त्यस्तै, लायन्स क्लब अन्तर्राष्ट्रियका पूर्वअन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतानले लायन्स क्लब निःस्वार्थ भावनाले सामाजिक विकासका काममा लाग्दै आएको बताउनुभयो । नेपालमै सबैभन्दा बढी सहयोग पर्वत अस्पताललाई गर्न सकिएको उहाँको कथन छ । सांसद पदम गिरीले पर्वत अस्पताल सुविधासम्पन्न बन्दै गएकोमा आफूलाई सबैभन्दा बढी खुसी लागेको बताउनुभएको थियो । जिल्ला अस्पतालमा उपकरणको अभाव नरहेकाले अब सेवा–सुविधामा नचुक्न अस्पताल प्रशासनलाई उहाँले सचेतसमेत गराउनुभएको थियो ।

कार्यक्रममा लायन्स क्लबका डिस्ट्रिक्ट गभर्नर विश्वेश्वर आचार्य, संविधानसभा सदस्य कल्पना चापागाईं, कुस्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेलगायत पनि अस्पतालको गुणस्तर वृद्धिमा ध्यान दिन आग्रह गर्नुभएको थियो । अस्पतालमा सुविधा सम्पन्न नयाँ भवन निर्माण सम्पन्न हुने चरणमा छ । उपकरणले भरिपूर्ण भएको अस्पतालमा दरबन्दी अनुसारका चिकित्सकको अभाव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्