धुलिखेलमा ७० प्रतिशत नागरिकको स्वास्थ्य बीमा



काभ्रे ।

धुलिखेल नगरपालिकामा ७० प्रतिशत नागरिकले स्वस्थ्य बीमा गरेका छन् । तर, सरकारले नागरिकले अस्पतालबाट लिएको स्वास्थ्य बीमा बापतको सेवाको रकम भुक्तानी नगरेका केही अस्पतालले नागरिकलाई दिएको सेवा बन्द गरेका छन् भने केहिले साँघुरो बनाएका छन् ।

जिल्लाकै सबैभन्दा धेरै धुलिखेल नगरपालिकाभित्रका ७०.५४ प्रतिशत नागरिकको स्वास्थ्य बीमा गरेका हुन् । पनौतीमा ६२ प्रतिशत र पनौतीमा ४१ प्रतिशत नागरिकको बीमा भएको छ । धुलिखेल नगरपालिकाले स्वस्थ शहर कार्यक्रम घोषणासमेत गरेको छ । ‘हरेक नागरिकको स्वास्थ्य बीमा गरी नागरिकलाई स्वस्थ राख्न खानपान, रहनसहन तथा अन्य क्रियाकलापमा परिवर्तन गराउनुपर्छ’, नगरपालिका प्रमुख अशोक व्याञ्जु भन्नुहुन्छ– ‘आर्थिक स्तर वृद्धि गर्ने योजनाअनुरूप स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाइएको छ ।’

उहाँले नगरपालिकाले विपन्न नागरिकहरुको बीमा रकम व्यहोर्ने गरी कार्यक्रमलाई प्रभावकारी बनाउन लागिएको बताउनुभयो । सरकारको असहयोगको बाबजुद नागरिकमा प्रभावकारी बन्दै गएको स्वास्थ्य बीमा कार्यक्रम काभ्रेपलाञ्चोक जिल्लाका १ लाख ५ हजार ८२ नागरिकले बीमा गरेका छन् । बीमाबापत नागरिकले ११ करोड ३५ लाख ४३ हजार ४ सय रुपियाँ संकलन भएको छ । बीमाका लागि ११ हजार ४१ परिवारले नयाँ दर्ता गरेका छन् भने नवीकरण ९ हजार ५ सय ३५ परिवारले गरेका छन् । बीमा गरिएकामध्ये ज्येष्ठ नागरिक बिमित सदस्यहरुको संख्या ६ हजार २ सय ८८ जना, महिला स्वयंसेवीका बिमित सदस्यहरुको संख्या ४ सय ३५ परिवार, एचआईभी एड्स लागेका ५३ परिवार, कुष्ठ रोग लागेका २४ परिवार, पूर्ण अपांग भएका ४ सय ९ परिवार र एमडीआर टिभी भएका २ परिवारका गरी १ लाख ५ हजार ८२ नागरिकको बीमा भएको हो । अझै केही पालिकामा बीमा अभिकर्ता बीमा गराउन नगएका कारण नागरिकले बीमा गराउन पाएका छैनन् ।

जिल्लामा बनेपा नगरपालिकामा २३ हजार ३ सय ११, धुलिखेलमा २२ हजार ६ सय ८९, पनौतीमा १७ हजार १ सय १४ जना, पाँचखालमा १२ हजार ९ सय ६ जना, मण्डनदेउपुरमा १० हजार २ सय ४९, नमोबुद्धमा ५ हजार ९ सय ८६ जनाले बीमा गराएका । भुम्लु गाउँपालिकामा ३ हजार ६ सय १० जना, रोशीमा २ हजार ४ सय ५७ जना, बेथान्चोकमा २ हजार ८७ जना, चौरीमा १ हजार ६ सय २८ जना, तेमालमा १ हजार ३ सय ५२ जना, महाभारतमा १ हजार ७० जना र खानिखोलामा ६ सय २४ जनाले बीमा गराएका छन् ।
जिल्लामा ३ लाख ५२ हजार ६ सय ७ जनसंख्यामा १ लाख ५ हजार ८२ अर्थात् २९.८० प्रतिशत नागरिकको स्वास्थ्य बीमा भएको छ ।

प्रतिक्रिया दिनुहोस्