बदर मतको मूल्य



लोकतन्त्रमा मतदानको महत्व निर्णायक हुन्छ । त्यसैले यसको मूल्य पनि ठूलो हुने नै भयो । मतकै कारण जनप्रतिनिधि छानिने मात्र होइन, जनप्रतिनिधिमार्फत नै एक नागरिकले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्ने भएका कारण यसलाई अत्यन्त गम्भीर रूपमा लिनुपर्छ । मतदाताको एक–एक मत बदर हुनुहुन्न, त्यसको सदरका लागि समयमै पूर्वाधार तयार पारिनुपर्छ ।

अघिल्लो आम निर्वाचनमा धेरै मत बदर भयो । सर्वसाधारण जनतालाई मतदान गर्न सिकाउने भन्दै निर्वाचन आयोगले मतदाता शिक्षाको नाममा करोडौं रुपियाँ खर्च गर्दा पनि स्थानीय निर्वाचनमा तीन प्रतिशतभन्दा बढी मत बदर भयो भने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा करिब पाँच प्रतिशत मत बदर भएको थियो । करोडौं रुपियाँ खर्चेर मतदाता शिक्षा दिँदा पनि धेरै मत बदर भएपछि निर्वाचन आयोग बदर मत घटाउन विकल्प सोचिरहेको छ । बदर मतलाई न्यूनीकरण गर्न सर्वसाधारणका लागि मतदाता शिक्षालाई अझ प्रभावकारी बनाउने, विद्युतीय उपकरणको प्रयोग गर्नेजस्ता विकल्पबारे सोच्नुपर्ने चर्चा चलिरहेको छ । अझ रमाइलो पक्ष त के भने प्रमुख राजनीतिक दलका नेताहरूलाई पनि मतदान गर्न सिकाउनुपर्ने अवस्था छ । राजनीतिक दलका नेताहरूका लागि निर्वाचनको मत मूल्यवान हुन्छ, तर उनीहरू नै मतदान गर्न जान्दैनन् भने अरूको अवस्था के होला ? व्यवहारतः एक भोट पाउनका लागि मात्र पनि नेताहरूले ठूलै मिहिनेत गरेका हुन्छन् । निर्वाचनमा भोट पाउनकै लागि राम्रा– नराम्रा, कानुनी, गैरकानुनी सबै काम गर्न नेताहरू पछि हट्दैनन् ।

अझ भनौं, भोट भनेको उनीहरूको लागि प्राणजस्तै प्यारो हुन्छ । स्थानीय, प्रदेश र संघीय निर्वाचनमा नेताहरू स्वयं पनि मत माग्दै हिँड्छन् । आम सर्वसाधारणलाई मत नबिगार्न सिकाउने धेरै नेताहरू स्वयं भने मत दिन नजान्ने देखिनु बिडम्बना नै हो । कांग्रेस महाधिवेशनमा केन्द्रीय नेतृत्व छनोटका क्रममा नेताहरूले दिएको मत बदर भएको देख्दा नेताहरूलाई पनि मतदाता शिक्षा अपुग भएको पुष्टि हुन्छ । कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचनमा वडादेखि चुनिँदै केन्द्रमा पुगेका नेताहरूको चार प्रतिशतसम्म मत बदर भएको देखियो । देशभरबाट चुनिएर आएका ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिमध्ये करिब दुई प्रतिशत मतदान नै गर्न आएनन् । प्रमुख राजनीतिक दलको केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि सर्वसाधारण जनताजस्ता सामान्य नागरिक होइनन् ।

चाहेमा आम निर्वाचन प्रणालीको सुधार गर्न र बदर मतलाई शून्यमा झार्नसक्ने हैसियतको प्रमुख सत्ताघटक राजनीतिक दल कांग्रेसले पार्टीको केन्द्रीय नेतृत्व चयन गर्ने निर्वाचनमा समेत विद्युतीय उपकरणको प्रयोग गरेन । आम निर्वाचनमा समेत परम्परागत मतपत्रमा स्वस्तिक छाप लगाएर मतदान गर्ने प्रचलन हटाई विद्युतीय मेसिनको प्रयोग गर्नुपर्ने आवाज उठिरहेका बेला आफंै पार्टीको केन्द्रीय नेतृत्व चयन गर्नेजस्तो ठूलो कार्यमा पनि मत बदर हुनु पक्कै पनि राम्रो कुरा होइन । अहिले सबैले भोट दिन पनि नजान्ने नेता भनेर गिज्जाइरहेका बेला प्रमुख सत्ताधारी राजनीतिक दलको हैसियतले कांग्रेसले बदर मतलाई सकेसम्म शून्यमा झार्न पहलकदमी गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्