‘महिला नेतृत्व स्थापित गर्न मिडियाको भूमिका महत्वपूर्ण’



विष्णु परियार, काठमाडौं ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले महिला नेतृत्वलाई स्थापित गर्न मिडियाले उल्लेख्य काम गर्न सक्ने बताउनुभएको छ । बुधबार दलित महिला केन्द्र नेपाल (सीडीडब्ल्यूएन) द्वारा राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

आगामी निर्वाचनमा महिला जनप्रतिनिधिका लागि वातावरण बनाउन मिडियाको भूमिका विषयमा चर्चा गर्दै उहाँले महिलाका सकारात्मक कामलाई मिडियाले अगाडि ल्याउनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा सहभागी नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य तथा सांसद पार्वती विशुंखेले सञ्चारमाध्यमले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले महिलाका सवालमा सशक्त आवाज उठाउनुपर्ने बताउनुभयो ।

उहाँले राजनीतिक दलमा सक्रिय महिला नेतृत्वलाई मिडियाले पुरुषसरह स्थान नदिएको महसुस गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘संसद्मा महिला नेतृहरूले महत्वपूर्ण विषयमा बोल्दा पनि मिडियाले स्थान दिएको पाइँदैन । तर, पुरुष नेताहरूले सामाजिक सञ्जालमा लेख्दा पनि समाचार बन्छन्, यो विषयमा एकपटक समीक्षा गर्न जरुरी छ ।’

इन्टरनेसनल फाउन्डेसन फर इलेक्टरल सिस्टम (आईएफइएस) की नेपाल निर्देशक राधिका रेग्मीले संघीयतापछि महिला जनप्रतिनिधिको सहभागिता र नेतृत्व क्षमतामा महत्वपूर्ण विकास भएको उल्लेख गर्नुभयो । कार्यक्रममा लैंगिक विश्लेषक तथा सञ्चारकर्मी आरती चटौतले नेपालमा महिला जनप्रतिनिधिको वर्तमान अवस्थाका बारेमा चर्चा गुर्नभएको थियो ।

उहाँले महिलाका सवाल सबैका मुद्दा बन्नुपर्नेमा जोड दिँदै यस विषयमा पत्रकारले निरन्तर कलम चलाउनुपर्ने बताउनुभयो ।अन्तरक्रिया कार्यक्रममा राजधानीका विभिन्न मिडियामा आबद्ध दुई दर्जन बढी पत्रकार सहभागी थिए भने, कार्यक्रमको सहजीकरण पत्रकार तथा महिला अधिकारकर्मी बबिता बस्नेतले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्