अशक्त असहायका घरमै नागरिकता



बैतडी ।

जिल्ला प्रशासन कार्यालय बैतडीले अपांगता, अशक्त, असहाय र ज्येष्ठ नागरिकको घरमै पुगेर नागरिकता प्रदान गरिरहेको छ । कार्यालयले गाउँमै शिविरको आयोजना गरी तथ्यांक संकलन गरेर नागरिकता प्रदान गर्न थालिएको हो ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार अन्य कामको सिलसिलामा स्थानीय तहहरुमा कर्मचारी खटिएका बेला नागरिकता लागि आवश्यक कागजात संकलन गरेर जिल्ला प्रशासनमा ल्याउने र त्यसपछि नागरिकता बनाएर उनीहरुकै घरमै पठाउने गरिएको छ । ‘नागरिकता लिनका लागि जिल्ला सदरमुकाम पुग्न नसक्ने नागरिकको विवरण संकलन गर्ने गरेका हौं’, नागरिकता बनाएर घरमै पठाइदिन्छौं ।’ –उहाँले भन्नुभयो ।

विकास निर्माण लगायतका कामको अनुगमनको सिलसिलामा पनि प्रशासनसम्म पुग्न नसक्ने नागरिकको नागरिकताका लागि कागजात लिने गरिएको भारती बताउनुहुन्छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सिगास गाउँपालिकाका ७ जना अपांगता भएका नागरिक, अशक्त र ज्येष्ठ नागरिकको नागरिकता बनाएर पठाइसकिएको छ । यस्तै, पञ्चेश्वर गाउँपालिकाका ३५ जना, शिवनाथ गाउँपालिका ६ जना र मेलौली नगरपालिकाका ७ जनाको विवरण ल्याइसकेको र अब उनीहरुको नागरिकता बनाएर पठाइने जनाइएको छ ।

अपांगता, अशक्त, असहाय र जेष्ठ नागरिकका लागि जिल्लाको डिलाशैनी गाउँपालिकाको धामी गाउँमा पुस ११ गते र दोगडाकेदार गाउँपालिकामा पुस १२ गते कर्मचारी खटाइने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्