बेलायतले युक्रेनका लागि नलड्ने



लन्डन, (एजेन्सी) ।

यदि रसियाले युक्रनेमाथि आक्रमण गरेको खण्डमा वेलायत लगायत यसका गठबन्धन समूहले युक्रेनका लागि लड्ने सम्भावना निकै न्युन भएको बेलायतको रक्षा मन्त्रालयले आइतबार जनाएको छ । रक्षामन्त्री बेन वालेसले आफूहरूले नगर्ने कामलाई गर्छुं भनेर ढाँट्न नहुने र यो कुरा पनि युक्रेनीहरूलाई थाहा भएको स्पेक्टेटर पत्रिकालाई बताएका छन् ।

रसियाले युक्रेनका पूर्वी सिमाना क्षेत्रहरू नजिक आफ्नो हजारौं फौज तैनाथ गरेको छ । यसलाई लिएर प्रमुख पश्चिमी शक्ति राष्ट्रहरूले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई तनाव नचर्काउन आग्रह गरिसकेका छन् ।

मस्कोले युक्रेनमा हमला गर्ने कुनै योजना नभएको स्पष्ट पार्दै अमेरिकासँग यस समस्याबारे तत्काल वार्ताका लागि आह्वान गरेको छ । साथै रसियाले पूर्वी युरोपमा अमेरिकी नेतृत्वमा रहेको नेटो सैनिक गठबन्धनको गतिविधिमाथि कडा नियन्त्रण राख्न पनि माग गरेको छ ।

केही समयअघि मात्र बेलायतका प्रधानमन्त्री बोरिस जोहन्सनले सो क्षेत्रमा हुने कुनै पनि अप्रिय घटनाको महत्वपूर्ण परिणाम भोग्न तयार रहन रसियालाई चेतवानी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्