जेभियर र टाइम्सलाई अक्सब्रिज कप



काठमाडौं ।

जेभियर इन्टरनेसनल कलेज र टाइम्स इन्टरनेसनल कलेजले ‘प्रथम अक्सब्रिज कप थ्री बाइ थ्री ब्वाइज बास्केटबल प्रतियोगिता’को उपाधि मंगलबार जितेका छन् । जेभियर व्याचलर्स तथा टाइम्स प्लस टुतर्फ च्याम्पियन बने ।

आयोजक अक्सब्रिज इन्टरनेसनल कलेजको महालक्ष्मीस्थान कोर्टमा भएको ब्याचलर्स फाइनलमा जेभियरले अक्सब्रिजलाई १८–१२ ले पराजित गर्यो । जेभियरका निकेश मगरले १० अंक जोडे । मंगलबारै भएको सेमिफाइनलमा जेभियरले सेन्ट जेभियर्सलाई १८–७ तथा अक्सब्रिजले गोल्डेनगेटलाई १९–१२ ले हराउँदै फाइनलमा स्थान बनाएका थिए ।

प्लस टुको उपाधि भिडन्तमा टाइम्सले रुकिजलाई १७–१४ ले पाखा लगायो । टाइम्सका पेम्बा शेर्पाले ७ स्कोर गरे । त्यसअघि, सेमिफाइनलमा टाइम्सले अक्सब्रिजलाई १७–१२ तथा रुकिजले नवोदितलाई २१–१५ ले पन्छ्याउँदै फाइनल यात्रा तय गरेका थिए ।

व्याचलर्समा जेभियरका निकेश मगर तथा प्लस टुमा टाइम्सका छिरिङ थिन्ले लामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, प्याब्सनका सह–अध्यक्ष डिके ढुंगाना, अक्सब्रिजका प्रिन्सिपल डा. कृष्णप्रसाद पाण्डे, ई क्याबका मेनेजर डिकेश प्रधानलगायतले एक कार्यक्रमबीच नगद, ट्रफी, पदक र प्रमाण पत्र प्रदान गरे । तीनदिने प्रतियोगिताको ब्याचलर्स र प्लस टुमा समान २०–२० टिम सहभागी भएको प्रतियोगिता संयोजक विमल कार्कीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्