कुमारी बैंक र विद्युत् प्राधिकरणको विजयी शुरुआत



काठमाडौं ।

कुमारी बैंकले मंगलबारदेखि शुरू भएको कुमारी बैक काठमाडौं टिम च्याम्पियन कर्पोरेट ब्याडमिन्टन काठमाडौं ब्याडमिन्टन आमन्त्रित २०२१ मा विजयी शुरुआत गरेको छ । समूह ‘ए’ को खेलअन्तर्गत कुमारी बैंकले कान्तिपुर पब्लिकेसनलाई ३–० ले हराएको हो । प्रतियोगिताको पहिलो दिन भएको प्रतिस्पर्धामा पुरुष एकलतर्फ उच्च वरीयताका पुरुष खेलाडीबीचको खेलमा कुमारी र्बैकका सुदीप सेढाईंले जित हासिल गरे । उनले कान्तिपुरका साजन कृष्ण ताम्राकारलाई २१–१८, २१–१९ ले पराजित गरेका हुन् । यस्तै, महिला एकलतर्फ सुनैना मुखियाले सम्झना शर्मालाई २१–९, २१–११ ले पराजित गरिन् । यस्तै, कर्पोरेट युगलतर्फको खेलमा विक्रम निरौला र निरज राईको जोडीले सुशील कुमार रावल र महेश स्वारलाई २१–१५, २७–२५ ले जित निकाल्दै ३–० को जित निकालेको हो ।

काठमाडौं ब्याडमिन्टन एकेडेमीको आयोजना भएको समूह ‘बी’ तर्फ आईएमई ग्रुपविरुद्ध नेपाल विद्युत् प्राधिकरणले ३–२ को कठिन जित निकाल्यो । प्राधिकरणले जित निकाल्ने क्रममा शुरूको दुई खेलमा हार बेहोरेता पनि खेलमा फर्कंदै जितलाई आफ्नो पक्षमा पार्यो । पुरुष एकलतर्फ आईएमईका नवीन श्रेष्ठले विद्युत्का दीपक बोहरालाई २१–१४, २१–१६ ले हराए । यस्तै, महिला एकलतर्फ नङसल देवी तामाङले शोभा चन्दलाई २१–१२, २१–१५ ले पराजित गरिन् ।

तर, तेश्रो खेलमा विद्युत्का श्रीप्रसाद धिमाल र राजु महर्जनको जोडीले सरोज बस्नेत र ब्रिजेन श्रेष्ठको जोडीलाई २१–५, २१–१ ले हराउँदै अन्तर २–१ मा खुम्च्यायो । यसैगरी, विद्युत्की शोभा गौचन र याम कुमारी गुरुङको जोडीले आईएमईका स्मारिका यरुशा श्रेष्ठ थापा र नङ्शलको जोडीलाई २१–११, २१–१२ ले पराजित गर्दै खेललाई २–२ को बराबरीमा ल्याए । निर्णायक खेलमा दीपक बोहरा र राजु महर्जनको जोडीले नविन श्रेष्ठ र निशान्त ढकालको जोडीलाई २१–१८, २१–१८ को समान अन्तरले पराजित गदै जितलाई ३–२ का साथ आफ्नो पक्षमा पारेको हो ।

प्रतिक्रिया दिनुहोस्