प्रधानसेनापति लनटेनिसमा प्रदीप र सलोनी विजेता



काठमाडौं ।

प्रधानसेनापति प्रथम राष्ट्रिय लन टेनिस प्रतियोगितामा पुरुष एकलमा प्रदीप खड्का र महिला एकलमा सलोनी तामाङ विजेता बनोका छन् । सैनिक मुख्यालय परिसरमा मंगलबार आयोजित प्रतियोगितामा काश्की पोखराका प्रदीपले रुपन्देही बुटवलका ऋतिक रानालाई सिधा सेटमा पराजित गरेका हुन् । तेस्रो स्थानमा त्रिभुवन आर्मी क्लबका अकी रावत र प्रणव खनाल रहे । यस्तै, महिला एकलतर्फ एपीएफकी सलोनीले सोही क्लबकी सर्भानी श्रेष्ठलाई हराएर उपाधि हात पारिन् । तेस्रो स्थानमा त्रिभुवन आर्मीकी प्रकृति श्रेष्ठ र एपीएफकी प्रेरणा कोइराला रहे । दुवै विधामा शीर्ष तीन स्थानमा रहेका उनीहरूले क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरे ।

डबल्सतर्फ पुरुषमा आर्मीका जितेन्द्र परियार र प्रणव खनालको जोडीले पहिलो स्थान हासिल गर्यो । दोस्रो स्थानमा कास्कीका सन्तोष खत्री र प्रदीप खड्काको जोडी रहयो । तेस्रो स्थानमा आर्मीका प्रितम परियार र निशान्त श्रेष्ठ तथा रुपन्देहीका ऋितिक र अनिल शाहीको जोडी रहे । यस्तै, महिला डबल्सतर्फ एपीएफका सर्भानी र सलोनीको जोडीले आर्मीका अभिलाषा विष्ट र ईशाश्री शाहको जोडीलाई हराएर पहिलो स्थान हासिल गर्यो । तेस्रो स्थानमा टिम टेनिस नेपालका शुभांगी राज्य लक्ष्मी शाह र रायना शाह तथा एपीएफका प्रेरणा र अजा रेग्मीको जोडीले हासिल गरे । दुवै विधाका शीर्ष तीनमा आउने खेलाडीले क्रमशः ४० हजार, २० हजार र १० हजार नगद प्राप्त गरेका थिए ।

यसैगरी, भेट्रान्स ३५ वर्षमाथि एकलमा आर्मीका जितेन्द्रले सातदोबाटो टेनिस सेन्टरका दावा शेर्पालाई हराएर उपाधि जिते । डबल्समा पनि विजयी भएका जितेन्द्रले प्रतियोगितामा दोहोरो उपाधि हासिल गर्न सफल भए । जितेन्द्रले ३० हजार र दावाले १५ हजार नगद प्राप्त गरेका थिए । सोही उमेर समूहको डबल्समा नौलिन स्पोर्टस् भिलेका निमा लामा र सुमित मैनालीको जोडीले मण्डीखाटार टेनिस क्लबका सुदर्शन विष्ट र राजु क्षेत्रीलाई हराएर उपाधि सुरक्षित गरेको थियो । भेट्रान्स ४५ वर्षमाथि एकलतर्फ आर्मीका चन्द्र शाही, डबल्सतर्फ काठमाडौंका कृष्णराज घले र महेश श्रेष्ठ पहिला भए । त्यस्तै, भेट्रान्स ५५ वर्षमाथि एकलमा मण्डीटाखारका विमलकुमार गुरुङ, डबल्समा कृष्णराज घले र सुवर्ण ढक्का, भेट्रान्स ६५ माथि एकलमा विदुर विष्ट पहिला भए ।

प्रतियोगितामा सेनाको त्रिभुवन आर्मी क्लबले च्याम्पियन भई शिल्ड प्राप्त गर्न सफल भयो । नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा नेपाली सेनाद्वारा आयोजित प्रतियोगितामा मुलुकका १५ क्लबका १ सय ८५ खेलाडीको सहभागिता थियो । विभिन्न १२ ‘इभेन्ट’ २ सय १ प्रतिस्पर्धा भएको सो प्रतियोगिता गत मङ्सिर २७ गते प्रारम्भ भएको हो ।

प्रधानसेनापति प्रभुराम शर्माले प्रतियोगिताका विजयी र उपविजयी खेलाडीलाई पुरस्कार वितरण गर्नुभयो । साथै, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राना, बलाकृतरथी बालकृष्ण कार्की, बलाध्यक्षरथी सरोजप्रताप राणा, प्रहरी महानिरीक्षक शैलेश थापा र नेपाल टेनिस संघका अध्यक्ष ज्योति राणाले पनि पुरस्कार वितरण गर्नुभएको थियो ।

नेपालमा टेनिस खेलको विकास र विस्तारमा सहयोग पुर्याउने एवं टेनिस खेलको सिप विकास, कौशल र क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त प्रतियोगिताका विभिन्न उमेर समूह र विधाका खेलाडी संलग्न गराइएको नेपाली सेनाले जानकारी दिएको छ ।

प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ), फ्ल्यास स्पोर्टस् क्लब लाजिम्पाट, कास्की जिल्ला टेनिस सङ्घ, काठमाडौं जिल्ला लन टेनिस संघ, ग्रिनल्यान्ड टेनिस क्लब, टिम टेनिस नेपाल, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नर्लिङ स्पोर्टस् भिल्ला, भादगाउँ स्पोर्टस्, मण्डिखाटार टेनिस क्लब, याक एण्ड यति क्लब, रुपन्देही लन टेनिस संघ, सातदोबाटो टेनिस क्लब र सेन्ट जेभियर्स क्लबको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्