गण्डकीका मुख्यमन्त्री पोखरेल कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित



काठमाडौं ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल कांगेस केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको मतदानको मंगलबार राति सार्वजनिक मतपरिणामअनुसार मुख्यमन्त्री पोखरेलले दुई हजार ३०६ मत ल्याई विजयी हुनुभएको हो ।

गण्डकी प्रदेशको खुलातर्फको दुई पदमा मुख्यमन्त्री पोखरेलसँगै तनहुँका धु्रव वाग्ले निर्वाचित हुनुभएको छ । वाग्लेले दुई हजार ७२० मत प्राप्त गर्नुभयो । यस्तै शोभियतबहादुर अधिकारीले दुई हजार ३४ र रेशमबहादुर बानियाले एक हजार ९३८ मत प्राप्त गर्नुभएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यस्तै केन्द्रीय सदस्य महिलातर्फ सरस्वती अर्याल तिवारी निर्वाचित हुनुभएको छ ।

यसअघि कांग्रेसको सहमहामन्त्रीमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही पराजित हुनुभएको थियो । उहाँलाई बद्री पाण्डेले पिछडिएको क्षेत्रअन्तर्गत सहमहामन्त्री पदमा पराजित गर्नुभएको थियो । निर्वाचित भएलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री पोखरेलले अहिलेको महाधिवेशनको म्यान्डेट नै युवापुस्तालाई अगाडि बढाउने रहेकाले युवापुस्ता र पुराना पुस्ताबीचको अन्तरसंवाद कायम गरी अनुभव र सिकाइलाई हस्तान्तरण र पुस्तान्तरण गर्न लागिपर्ने बताउनुभयो । उहाँले पार्टीलाई आगामी निर्वाचनमा बहुमत दिलाउन र हिमाल, पहाड तथा तराईका समग्र कार्यकर्तामा रक्तसञ्चार गर्न लागिपर्ने प्रतिबद्धता जनाउनुभयो । मुख्यमन्त्री पोखरेल यसअघि पार्टीको १२औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्