माघमा ग्रामीण फिल्म महोत्सव



पर्यटन प्रवर्द्धनसँगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुर्याउने भन्दै नेपाल ग्रामीण फिल्म महोत्सव हुने भएको छ। सेलिब्रेटी नेपालले माघको अन्तिम साता तीनदिने फिल्म महोत्सव आयोजना गर्ने घोषणा गरेको हो।

महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका छोटा स्वदेशी फिल्म, डकुमेन्ट्री र फिचर फिल्म सहभागी गराएर ग्रामीण क्षेत्रका दर्शकसमक्ष अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट फिल्मलाई अवार्ड प्रदान गरिने महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी गराए। महोत्सवमा विभिन्न भाषाभाषीकासँगै मोबाइलबाट खिचिएका फिल्मसमेत समावेश गर्न सकिने उनले बताए। महोत्सवअन्तर्गत फिल्म स्क्रिनिङसँगै ग्रामीण परिवेशलाई समेटेर कस्ता फिल्म बनाउने र कस्ता फिल्मले दर्शकको साथ पाउनेछ भन्ने विषयमा अन्तक्र्रिया तथा वर्कसपको आयोजनासमेत गरिनेछ।

महोत्सवअन्तर्गत प्रदर्शन गरिएका फिल्मसँग सम्बन्धित फिल्मकर्मी तथा दर्शकबीच अन्तक्र्रिया गरिने, गाउँले परिवेशमा फिल्म निर्माण गर्ने विषयमा वर्कशप तथा मास्टर क्लास हुने, फिल्मकर्मीहरूको बीचमा ग्रामीण फिल्मको कथा तथा मौलिक फिल्म निर्माणसम्बन्धी अन्तक्र्रिया हुने, उत्कृष्ट फिल्मलाई निर्णायकको निर्णयअनुसार अवार्ड प्रदान गरिने आयोजक संस्था सेलिब्रेटी नेपालले जानकारी गराएको छ।

त्यसैगरी, कार्यक्रम गरिने क्षेत्रको सांस्कृतिक तथा पर्यटकीय क्षेत्र समेट्ने विभिन्न प्रस्तुतिसमेत रहने जनाइएको छ । महोत्सवबाट ग्रामीण भेगका दर्शकले कस्तो फिल्म मनपराउँछन् र कस्तो फिल्म बने हुन्थ्यो भन्ने अपेक्षा राख्दछन् भन्ने जानकारी हुने आयोजक संस्थाले विश्वास व्यक्त गरेको छ। यस किसिमका महोत्सव तथा फिल्मसँग सम्बन्धित गतिविधि राजधानी तथा मुख्य शहरमा मात्र हुने गरेको सन्दर्भमा ग्रामीण क्षेत्रमा हुने यस महोत्सवले स्थानीय जनतामा नेपाली फिल्म र फिल्मकर्मीप्रतिको चासो र माया बढ्ने, नियमित नेपाली फिल्म हेर्ने दर्शकको संख्या पनि बढ्ने विश्वास आयोजकको छ।

प्रतिक्रिया दिनुहोस्